महाशिलाको बजेट २० करोड ३१ लाख

पर्वतः पर्वतको महाशिला गाउँपालिकामा प्रथम गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष ०७४/०७५ का लागि २० करोड ३१ लाख ५९ हजार २ सय रहेको छ ।
जसमध्ये चालूतर्फ १२ करोड ८ लाख ९८ हजार रहेको छ भने पुँजीगत तर्फ ८ करोड २२ लाख ६१ हजार २ सय रहेको छ । जसमा झण्डै २० प्रतिशत जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आइतबार प्रथम गाउँसभामा महाशिला गाउँपालिकाका उपाध्यक्ष हिरा रानाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट निति तथा कार्यक्रममा १ करोड ६४ लाख ५२ हजार २४० रुपैयाँको जनसहभागिता रहने उल्लेख गरिएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि पहिलोपटक ल्याइएको बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने गरी तल्लो तहमा प्रत्यक्ष सरोकार राख्ने योजनालाई प्राथमिकतामा राखिएको छ ।
शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानी, सिँचाइजस्ता प्रत्यक्ष न्यून वर्गका जनताको जीवनस्तर सुधार गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राखिएको महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
प्रस्तुत बजेटमध्ये आर्थिक विकास समितितर्फ १ करोड १५ लाख १६ हजार, सामाजिक विकास समितितर्फ ५ करोड ५ लाख ६६ हजार, पूर्वाधार विकास समितितर्फ ६ करोड ६ लाख ४३ हजार, वातावरण र विपद् व्यवस्थापन समितितर्फ ७६ लाख ७ हजार, संस्थागत तथा सेवा प्रवाहतर्फ ११ लाख ८५ हजार र वित्तीय व्यवस्थापन समितितर्फ २ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी महिला, बालबालिका, अपांगता भएका, वृद्धवृद्धालाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए । त्यसैगरी पर्यटकीय क्षेत्रहरुको विकास तथा प्रवद्र्धन, होमस्टे विस्तार, महाशिलाभित्र रहेका कृषि, वन वातावरण, जल, जमिन र जडिबुटीलगायतको व्यापक मात्रामा पहिचान गरी तिनीहरूको प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ ।