Logo

टेलिकमको सेवा जुम्लामा प्रभावकारी छैन

नेपाल टेलिकम दूरसञ्चार कार्यालय जुम्लाका सेवाग्राही, उपभोक्ताहरूले आफूहरू ठगिएको बताएका छन् । टेलिकमको कुनै पनि सेवा प्रभावकारी नभएको दाबी गर्दै आफूहरू ठगिएको सेवाग्राहीको भनाइ छ । हाल दूरसञ्चार कार्यालयबाट प्रवाह भइरहेको एडीएसएल इन्टरनेट सेवा, ल्यान्डलाइन फोन सेवा र स्काई, नमस्ते प्रिपेड सेवाले राम्रोसँग काम नगर्दा आफूहरू सेवामा ठगिएको उपभोक्ताले बताएका हुन् ।
कुरा नबुझिएर मोबाइलमा रिचार्ज सकिने, ल्यान्डलाइन फोन र इन्टरनेट सेवा प्रयोग नगरेरै बिल तिर्नुपर्ने, अधिकांश गाउँ ठाउँमा फोनले नै काम नगर्ने लगायतका समस्या सेवाग्राहीले भोग्दै आएका छन् । ‘गाउँमा टेलिफोनका टावर जडान गरिएका छन्, तर टेलिफोनले काम गर्दैन । आवाज नसुनिएरै पैसा सकिन्छ, सदरमुकाम केन्द्रित टेलिकमले हामीलाई मारमा पर्यो’ सिंजा गोठीज्यूलाका व्यापारी धनबहादुर बुढाले भने, “टेलिकमले जथाभावि सिमकार्ड बितरण गरी सेवाग्राहीको संख्या मात्र बढाएर हँुदैन । प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्छ, नत्र हामि ठगिएको पनि जिम्मा लिनुपर्ला ।”
उनीजस्तै सिञ्जा क्षेत्रका सबै स्थानीयको भनाइ एउटै छ । ‘कि टेलिफोन सेवा प्रभावकारी बनाइनु प¥यो, होइन भने देखाउने टावर मात्र राखेर हुँदैन । करोडौं रकमले जिल्लाको ठाउँ–ठाउँमा निर्माण गरिएका टावरले राम्रोसँग काम नगर्दा फोन बुझिदैन, तर पैसा अनिवार्य काटिन्छ, एउटै कुरा सुन्न धेरै पटक फोन गर्नुपर्छ, नराकोटका होटल ब्यवसायी हरिकृष्ण बूढाले भने ।”
नगरपालिकाभित्रै काम गर्दैन टेलिफोन
जिल्लाका ग्रामीण क्षेत्रका सेवाग्राही नागरिकले टेलिफोनले राम्रोसँग काम नगर्दा आफूहरू ठगिएको बताइरहँदा सदरमुकामसँगै जोडिएका केही बस्तीहरूमा समेत टेलिफोनले काम गर्दैन । सदरमुकाममा रहेको चन्दननाथ नगरपालिका भित्रका ८ र ९ नं वडाका अधिकांश बस्तीहरू अझंै टेलिफोनको पहुँजमा समेत पुगेका छैनन् । तलिउम घरभई जुम्ला बसपार्कमा होटल व्यवसाय सञ्चालन गर्दै आएका कृष्णबहादुर रावलले गाउँमा टेलिफोनले काम नगर्दा घरको खबर आदान–प्रदान गर्न निकै समस्या भएको बताए ।
“जवाना नयाँ आए तर हामी पुरानै अवस्थामा छौं । घरमा महत्वपूर्ण काम परेमा फोनले काम नगर्दा दौडेरै जानुपर्छ, वा त घरका मान्छे डाँडामा आएर फोन गर्नुपर्छ,” उनले भने, “घरमा राखिएका टेलिफोनले काम नगर्दा हामी सेवाबाट बञ्चित भएका छौं ।” सदरमुकाममै टेलिकमले आफ्नो सेवा विस्तार कार्यमा निकै ढिलासुस्ती गरीरहेको आरोप लगाँउदै यही रप्तारले गाउँ–गाउँमा पूर्ण टेलिकम सेवा छिट्टै नपुग्ने उनले दाबी गरे ।
“बसपार्क क्षेत्रमा टेलिफोनको लाईन लिनुपर्दा ३ सय बढी मिटर तार तान्नुपर्छ, यसमा धेरै रकम खर्च हुने भएकाले हामी सानो व्यवसायीलाई मारमा पारेको छ,” उनले फेरि थपे, “यसरी दूरसञ्चारको टेलिफोन र इन्टरनेट सेवा प्रयोग गर्न सकिँदैन, टेलिफोनको डिस्टीविसन प्वाईन्ट नजिक हुनुपर्छ, टेलिकमले हाम्रो कुरा सुनुवाइ गर्दैन ।’
सेवा विस्तारमा ढिलाइ
जिल्लामा दूरसञ्चारको टेलिफोन र इन्टरनेट सेवा विस्तारका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज र समूहहरूद्वारा पटक–पटक निवेदनका साथ पहल भए पनि त्यसको सेवा विस्तारमा भने ढिलाइ भएको छ । धेरै वर्षदेखि सभासम्मेलनमा उठ्दै आएको यो कुरा अझैं सुनुवाइ भएको छैन । तर, दूरसञ्चारको कार्यालयले भने सेवा विस्तार कार्य तीव्र गतिले भइरहेको बताएको छ । टेलिफोन र इन्टरनेट सेवाग्राहीको संख्या ह्वातै बढेकाले समस्या देखिएको भन्दै टावरको क्षमता विस्तार कार्य रप्तारमा अघि बढेको कार्यालय प्रमुख श्रिधर अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्