एक महिनाभित्र पार्टी एकता हुन्छ : नेपाल «

एक महिनाभित्र पार्टी एकता हुन्छ : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एक महिनाभित्र नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएका छन् । पार्टी एकताको काम अन्तिम चरणमा पुगेकाले दुई पार्टीको एकता जेठ १५ भन्दा पछि नधकेलिने उनको भनाइ थियो । रुकुम पश्चिमको चौरजहारीमा आइतबार यदु स्मृति भवनको उद्घाटन तथा शालिक अनाबरण कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो कुरा बताएका हुन् ।
“हामीले आठ महिनामै जन्म दिन खोजेका थियौं, तर परिपक्व बनाएर नौ महिनामै कम्युनिष्ट पार्टीको जन्म दिने तयारीमा छौं,” उनले भने, “कार्यकर्ताहरु चिन्ता नलिनुहोस् प्राविधिक रुपमा मिलाउँदा केहि ढिलो त पक्कै हुन्छ तर एकता पनि पक्कै हुन्छ ।”
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले देशको राजनीतिक स्थायित्व र समृद्धिका लागि दुई पार्टीबीच हुने एकताले जनतामा सकारात्मक सन्देश गएको बताए । अहिले जनताले कम्युनिष्टलाई मन पराएकोले देशको विकास र परिवर्तन पनि कम्यनिष्ट सरकारले नै गर्ने उनको भनाइ थियो ।
यदु गौतमको बाँकी सपना र अधूरा काम पुरा गर्ने जिम्मेवारी अबको कम्युनिष्ट सरकार र जनताले लिनुपर्ने उनको भनाइ थियो । यदु गौतमको हत्या गरिनु दुर्भाग्यपूर्ण भएको भन्दै उहाँजस्ता महान व्यक्तित्वले पार्टीमा अतुलनिय क्षति पुगेको समेत बताए । नेकपा एमाले रुकुमका तत्कालिन सचिवसमेत रहेका गौतमलाई २०५५ साल फाल्गुन २१ गते तत्कालिन बिद्रोही माओबादीले हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्