अस्थायी प्याराफिट निर्माणमा ३२ लाख खर्च «

अस्थायी प्याराफिट निर्माणमा ३२ लाख खर्च

दर्शकलाई केही घण्टा बस्नमात्र एक दिनमा एक लाख खर्च हुन्छ भन्दा पत्याउन गाह्रो हुन्छ । तर इलाममा सञ्चालित माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा दर्शकलाई ९० मिनेट राख्नकै लागि दैनिक करिब एक लाख खर्च भइरहेको छ । प्रतियोगिता १२ दिनसम्म चल्छ, दर्शक बस्ने अस्थायी प्यारापिट निर्माणमा यस वर्ष ११ लाख रुपयाँ खर्च भएको छ ।
पूर्वी पहाडी जिल्ला मध्येकै उच्च धनराशीको प्रतिष्ठित माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप इलाममा सञ्चालन भइरहेको छ । यस प्रतियोगितामा नेपालका चर्चित क्लव र खेलाडीहरूको फुटवलसम्बन्धी कला कौशलता स्थानीयले आँखा अगाडि नै नियाल्ने अवसर समेत पाएका छन् ।
खेल हेर्नकै लागि इलाममा छिमेकी जिल्ला, साथै सीमापारी दार्जिलिङ, सिक्कि लगायतवाट समेत उल्लेख्य दर्शक जम्मा भएका छन् । दर्शकले पाउने कष्ट पनि कमी छैन । यति हुँदाहुँदै आयोजकले आफ्नो क्षमताले भ्याएसम्म प्रयास गरे पनि स्थायी रुपमा संरचना बन्न नसक्दा समस्या यथावत छ ।
इलाम सदरमुकाममा नयाँ वर्षको सुरुवातसँगै यति बेला माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिता सञ्चालन भइरहेको छ । पूर्वी पहाडकै उच्च धनराशीको पुरस्कार भएको प्रतियोगिता वैशाख ६ गतेबाट १७ गतेसम्म सञ्चालन हुँदैछ । व्यवस्थापनका हिसाबले पनि यस क्षेत्रकै प्रतिष्ठित मानिने प्रतियोगिता पहाडमा सञ्चालन गर्न सहज भने पक्कै छैन ।
मैदान वरिपरी भित्रिएका दर्शकहरूलाई सहज ढंगले खेल कौशल नियाल्न आउने दर्शकको व्यवस्थापन गर्न आयोजकलाई समेत हम्मे हम्मे परेको छ । चौथो संस्करणसम्म आउँदा व्यवस्थित प्यारापिटको अभाव जेष्ठ नागरिक, अपाङग्ता भएका व्यक्ति, बालबालिका र अशक्तले कष्ट झेलेर फुटवल हेर्नु पर्ने अवस्था छ ।
प्रतियोगिता सञ्चालन गर्न व्यवस्थित खेल मैदान नहँुदा आयोजकले वर्षेनी यस्तो ब्यहोर्नु परिरहेकोे छ । दर्शकले पनि अस्थायी प्यारापिटमा बसेर हेर्दा दुर्घटनाको भयसँगै खेल हेर्नुपर्ने बाध्यता छ । आफ्ना समर्थकलाई हुटिङ गर्दा दर्शकहरू उत्तेजक पनि हुन्छन् । सो बेला पाँचतला माथिबाट बाँस भाँच्चिएर वा कुनै कारणले दुर्घटना भए कसले ब्यहोर्ने भन्ने समेत चिन्ता हुँदै खेल हुेर्नु परेको दर्शकहरूको भनाइ छ ।
प्यारापिट निर्माणकै लागि वार्षिक आठ लाख बढी खर्च हुने गरेको आयोजकले वताएको छ । प्यारापिट निर्माणकै लागि मात्र वार्षिक दुई हजार घना बाँस आवश्यक पर्छ । यसलाई बस्न उपयुक्त हुने गरी श्रमिक लगायतका आर्थिक भारले प्रतियोगिता बोझिलो बन्दै गएको हो ।
प्यारापिट बनाउन मात्रै आयोजकले चार संस्करणसम्म आइपुग्दा ३२ लाखभन्दा बढी खर्च गरिसकेको बताएको छ । यस वर्ष बाहिरी घेरामा जस्तापाता लगाएकाले थप खर्च बढेको आयोजक माइभ्याली फुटवल क्लबका अध्यक्ष धिरेन चेम्जोङले वताए । इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा प्रतियोगिता सञ्चालन हुन्छ । यो टुँडिखेल नेपाली सेनाको स्वामित्वमा भएकाले पनि आयोजकले स्थायी प्यारापिट तयार गर्न नसकेको हो ।

 –टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्