बागलुङमा खानेपानी योजना «

बागलुङमा खानेपानी योजना

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आगामी दुईवर्ष भित्रमा नगरपालिकाका चार वटा वडामा चौबिसै घण्टा खानेपानी उपलव्ध गराउने गरी नयाँ योजनाको तयारी थालेको छ । हाल वितरण भैरहेको खानेपानी अपुग रहेकाले नयाँ योजनामार्फत् चौबिसै घण्टा पानी उपलव्ध गराउने गरी तयारी थालिएको हो ।
नेपाल सरकारको सह–लगानी कार्यक्रम र संस्थाको सहकार्यमा नयाँ योजना निर्माणको काम थालिएको हो । बर्षातको छ महिना बानपा–३ मा रहेको रिठेखोलाको पानी र सुख्खा हिउँदको छ महिना बानपा–३ देखि नै काठेखोलाको पानी लिफ्टिङमार्फत् माथि तानेर वितरण गर्ने तयारीसहितको योजना सोमबार सार्वजनिक गरिएको हो । संस्थाले तयार पारेको बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) प्रस्तुत गर्दै आगामी दुई बर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाउन लागिएको जनाएको छ ।
हाल बजारमा बितरण भैरहेको पानी दैनिक दुई घण्टा पनि उपलव्ध गराउन मुस्किल रहेको भन्दै पानीको पर्याप्तताका लागि नयाँ योजना निर्माण थालिएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । “उपभोक्तालाई सफा र स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले लिफ्ट प्रणालीबाट नयाँ खानेपानी योजना शुरू गर्न लागिएको हो” शर्माले भने “बिस्तृत परियोजना प्रतिबेदन तयार भैसकेकाले अब छिट्टै काम अगाडि बढ्छ ।”
बानपा–३ मा रहेको लुगाधुनेबाट दश मिटर माथि संकलन ट्याङ्कीमा पानी तान्ने र आवश्यक फिल्टर गरेर २ सय मिटर माथि रिजर्ब ट्याङ्कीमा पानी तान्ने योजना प्रस्ताव गरिएको छ । पानीको फिल्टर गर्ने ट्याङ्की र अन्य संरचना निर्माणका लागि ६ रोपनी जमिनको आवश्यकता रहेको समेत डिपिआरमा उल्लेख गरिएको छ । ३२ करोड २५ लाख रुपैयाँ लागतमा सम्पन्न हुने खानेपानी योजनाबाट वानपा– १, २, ३ र ४ का करिब ६० हजार उपभोक्ता लाभान्वित हुने संस्थाले जनाएको छ । योजना निर्माण सम्पन्न भएपछि २० बर्षसम्म नगरबासीले सफा र स्वस्थ्य खानेपानी पाउने खानेपानी डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख शेखर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्