ग्रामीण कृषि सडकमा प्राथमिकता «

ग्रामीण कृषि सडकमा प्राथमिकता

कालिकोटका स्थानीय सरकारले ग्रामीण कृषि सडक निर्माणलाई प्राथमिकता दिएका छन् । तिलागुफा नगरपालिकाको राँचुली घताडदेखि फोई पिपलगौडामा ४५ लाख रुपैयाँ लगानीमा चार किलोमिटर ग्रामिण कृषि सडकको निर्माण भएको छ ।
सडक निर्माण भएपछि स्थानीयलाई कृषिबस्तुको बजारीकरणमा सहज हुनेछ । प्राथमिकतामा ग्रामीण कृषि सडक निर्माण रहेको कालिकोटका प्रतिनिधिसभाका सदस्य दुर्गाबहादुर रावतले बताए । “कालिकोटको पहिलो प्राथमिकतामा ग्रामीण सडक नै हो”, उनले भने, “ग्रामीण सडक निर्माण भएमा स्थानीय उत्पादन र जडिबुटी बजारीकरण सहज हुनेछ ।”
नगरपालिकामा स्याउ, सिमी, आलुलगायतका कृषिजन्य वस्तुको उत्पादन धेरै हुने र सडक नहुँदा त्यसको बजारीकरण समस्या भएकोले कृषि सडकलाई प्राथमिकतामा राखिएको नगर प्रमुख प्रमुख रतनबहादुर शाहीले बताए । “ग्रामीण सडकको निर्माण नहुँदा स्थानीय उत्पादनको बजारीकरण नै हुनै छाड्यो”, उनले भने, “त्यसैले हामीले नगरपालिकाले विकासको पहिलो प्राथमिकतामा सडकलाई प्राथमिकतामा राखेका हौं ।”
तिलागुफा नगरपालिकाकाले २३ किलोमिटरको चौखोला–ओखरभिटा सडकखण्ड, १६ किलोमिटरको चिल्खाया–रुरु सडकखण्ड, १७ किलोमिटरको गाल्जे–जुबिथा, २८ किलोमिटरको नाग्म–फोइमहादेव सडक खण्ड र १६ किलोमिटरको राचुली जुबिथा सडकखण्ड निर्माण भएको छ ।
नगरपालिकालको २ बर्ष भित्र सबै वडामा सडक पुराउने लक्ष्य लिएको र त्यसै अनुरुप सबै वडामा सडक निर्माणको कामलाई तिब्रता दिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘दुई बर्षमा नगरपालिका भित्रका सबै वडामा सडक पुराउने लक्ष्य लिएका छौं ।’ उनले भने,‘त्यसै अनुरुप सडक निर्माणका कार्यलाई तिब्रता दिएका छौं । अहिले हामीले सय किलोमिटरभन्दा बढी सडक निर्माण गरिसकेका छौं ।’
नगरपालिकाको पहिलो आम्दानीको स्रोत कृषि भएका कारणले आफुहरुले कृषिलाई पहिलो प्राथमिकता दिएको ग्रामिण कृषि सडक निर्माण नगरी नगरको कृषि उपजका बस्तुहरुको बजारीकरणमा समस्या भएका कारणले सबै वडामा सडक आवश्यक रहेको नगर उप–प्रमुख दन्ता नेपालीले बताइन् । ‘यहाँका स्थानीयको पहिलो आम्दानीको स्रोत भनेको कषि उपजका बस्तुहरुको रहेको छ । कृषि उपजका बस्तुको बजारीकरण गर्न कृषि सडक निर्माण पहिलो प्राथमिकतामा राखेका छौं”, उनले भनिन्, “सडक निर्माण नहुँदा कृषि उपजका वस्तु बजारीकरणमा समस्या छ ।”
नगर कार्यपालिकाले सडक निर्माणमा झण्डै ७ करोड रुपैयाँ रकम विनियोजन गरेको त्यसमध्ये आधाभन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।
यसभन्दा अघि नै तिलागुफा नगरपालिका–१० को रुरुबन्चुमा गाडी पुगेको छ । स्थानीय तहको सरकारले जिल्लामा नै पहिलो पटक स्थानीय बजेटबाट नै सडक निर्माण गरेर गाडी पुराएको हो । स्थानीय तहबाट ३२ लाख रुपैयाँ विनियोजन गरेर चिल्लायादेखि निकै विकट रूपमा चिनिएको रुरुबन्चुसम्म ८ किलोमिटर सडक निर्माण भएपछि पहिलो पटक गाडी पुगेको हो ।
तिलागुफा नगरपालिका निकै विकट रूपमा रहेको गाउँमा आफ्नो पहिलो प्राथमिकता गाडी पुराउने शाहीले बताए ।
रमेश रावल 

 

प्रतिक्रिया दिनुहोस्