स्वास्थ्य बजेट खर्च भएन «

स्वास्थ्य बजेट खर्च भएन

बाँकेका स्थानीय तहहरूले स्वास्थ्यका लागि विनियोजन गरेको बजेट खर्च गर्न नसकेको देखिएको छ । कूल बजेटको निकै कममात्र बजेट स्वास्थ्यका लागि छुट्याइएको भए पनि स्थानीय तह र त्यहाँ खटिएका स्वास्थ्यकर्मीबीचमा आपसी समन्वय नभएका कारण चालू आर्थिक वर्षको आठ महिना बितिसक्दा समेत हालसम्म २० देखि ३० प्रतिशतमात्र स्वास्थ्य बजेट खर्च भएको पाइएको छ ।
वैजनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक शोभा अधिकारीले कम जनशक्ति, समयमै बजेट भुक्तानी नहुँदा बजेट कम खर्च भएको बताइन् । उनले भनिन्, “सुरुमा हामी पालिकामा जाँदा निकै अलमल भयौँ, पालिकाका प्रतिनिधिलाई स्वास्थ्यका कार्यक्रम बुझाउनै समय लाग्यो ।” कसरी खर्च गर्ने भन्ने मार्गनिर्देशिका नै ढिलो प्राप्त हुनु प्रदेश र संघको निर्वाचनका कारण पनि बजेट कम खर्च भएको हो ।
स्थानीय तहमा खटिएका स्वास्थ्य संयोजकले कार्यक्रम सञ्चालनका लागि जनशक्ति, भौतिक संरचना, प्रतिनिधिसँगको बुझाइको अभावले कार्यक्रम कार्यान्वयन र बजेट खर्चमा कमी भएको बताएका छन् । बाँकेका आठै पालिकाका स्वास्थ्य संयोजकले आ–आफ्नो पालिकाको स्वास्थ्यको प्रगतिबारे तयार पारेको प्रतिवेदनमा स्वास्थ्यको कार्यक्रमको प्रगति अपेक्षित रूपमा हुन नसकेको उल्लेख छ ।
प्रतिवेदनमा कूल कार्यक्रम, पूरा भएका कार्यक्रम र नियमित रूपले चलिरहेका कार्यक्रमको संख्यामा पनि सन्तुलन देखिँदैन । यद्यपि, केही महत्वपूर्ण स्वास्थ्यका कार्यक्रम भने रोकिएका छैनन् । जिल्ला जनस्वास्थ्य बाँकेका अनुसार कूल कार्यक्रम संख्या १० मध्ये दुई पूर्ण, तीन नियमित भए बाँकी पाँच कार्यक्रम सुरु नै भएको छैन । पूरा भएका, हुन बाँकी र नियमित कार्यक्रम र त्यस अनुपातमा भएको खर्चको अनुपातबीच पनि एकरूपता देखिएको छैन ।
कुनै पालिकामा ८० प्रतिशतसम्म बजेट खर्च भइसकेको छ भने कतै खर्च हुन नसकेको छैन । रोग नियन्त्रण कार्यक्रम, भौतिक पूर्वाधार निर्माण कार्यक्रमको खोप केन्द्र निर्माण शीर्षकको बजेट खर्च भएको छैन भने औषधि खरिद शीर्षकमा भने ८० प्रतिशतसम्म बजेट खर्च भइसकेको छ । बाँकेका आठ पालिकाले दुईदेखि १० प्रतिशतसम्म स्वास्थ्यका लागि बजेट विनियोजित गरेका मध्ये सबैभन्दा बढी बजेट भएको नेपालगन्ज उपमहानगरपालिकाले सबैभन्दा कम बजेट २ दशमलव २ प्रतिशत मात्र स्वास्थ्यका लागि छुट्याइएको छ ।
त्यसमा पनि अहिलेसम्मको खर्च निकै कम देखिएको छ । कोहलपुर नगरपालिकाले ४ दशमलव १, खजुरा गाउँपालिकाले ४ दशमलव, ७, राप्ती सोनारी गाउँपालिकाले ४ दशमलव १, वैजनाथ गाउँपालिकले ५ दशमलव ३, नरैनापुर गाउँपालिकाले ९ दशमलव १, डुडुवा गाउँपालिकाले ९ दशमलव १ र जानकी गाउँपालिकाले १० दशमलव ९ प्रतिशत बजेट स्वास्थ्यका लागि छुट्याइएका छन् । स्वास्थ्य क्षेत्रको बजेट कार्यक्रम तय गर्दा केन्द्रकै बजेटमा बढी भर परेको र निजी तथा गैरसरकारी क्षेत्रको लगानीलाई भने समावेश गरिएको छैन ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य संयोजक केशवराज गौतमले जनशक्ति, भौतिक तथा प्राविधिक उपकरणको अभाव हुँदा कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए । बाँकेका अधिकांश गाउँपालिकाले औषधि खरिद भए पनि भण्डारण गर्न समस्या भएको, न्यानो झोला खरिदमा बजेट अभाव भएको, भौतिक संरचना नभएको, स्वास्थ्यकर्मीलाई तलब सुविधाका लागि बजेट अभाव भएकाले थप बजेट व्यवस्था गर्नुपर्ने स्वास्थ्य संयोजकको भनाइ छ ।
राप्तीसोनारी गाउँपालिका स्वास्थ्य संयोजक विष्णुप्रसाद चुदालीले कार्यक्रमका विषय विज्ञबाट हुँदै आएको बताउँदै अहिले दुई जनामात्र स्वास्थ्यकर्मीले गर्न समस्या भएकाले थप जनशक्ति व्यवस्थापन हुनुपर्ने बताए ।
पालिकामा खटिएका स्वास्थ्य संयोजकले स्वास्थ्यका कार्यक्रमबारे स्थानीय प्रतिनिधिलाई बुझाउन नसक्दा पनि धेरै कार्यक्रम सञ्चालनमा समस्या भएको बताइएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले आमा सुरक्षा, न्यायो झोला खरिदका लागि रकम अभाव भएकाले समस्या भएको बताए ।
जिल्ला जनस्वास्थ्य प्रमुख खड्काले अगामी आव २०७५–७६ का लागि स्वास्थ्य क्षेत्रको प्राथमिकता तथा कार्यक्रमको निर्धारण, तथ्यमा आधारित योजना तर्जुमा गर्न स्वास्थ्यको सूचना र चालू आवमा स्वास्थ्यका कार्यक्रमको प्राथमिकीकरण गर्दै योजना बनाइएको बताए ।
स्वास्थ्यको प्रभावकारी कार्यान्वयनका लागि तथ्यमा आधारित योजना तर्जुमा गर्दा महत्वकांक्षीभन्दा पनि स्वास्थ्य सूचना पद्धतिलाई आधार मानी योजना बनाउन आवश्यक देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्