प्राथमिकता नपुगेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

नेपालले विरासतमा पाएर विश्वमै अत्यधिक महत्वमा रहेको शान्तिदूत भगवान् गौतम बुद्धको जन्मथलोबारे जति प्राथमिकता दिन सक्नुपथ्र्यो, त्यस विषयमा पर्याप्त ध्यान पुग्न नसकेको महसुस हुन थालेको छ । जसरी ईस्लाम धर्मावलम्बीहरूका लागि मक्का–मदिना र ईसाइ धर्मावम्बीहरूका लागि जेरुसेलाम पवित्र स्थल हो, त्यसरी नै विश्वभरका एक अर्बभन्दा बढी बौद्धमार्गीहरूका लागि गौतम बुद्धको जन्मथलो लुम्बिनी पवित्र आस्थाको थलो हो । तर, हामी माल पाएर पनि चाल नपाएको अवस्थामा छौं । युनेस्कोले सन् १९९७ मै विश्वकै सांस्कृतिक सम्पदाभित्र सूचीकृत गरिसकेको भए पनि आजसम्म हामी बुद्धको जन्मथलो लुम्बिनी नेपाल नै हो भन्ने प्रामाणिक गराउने बहसमै अल्झिएका छौं । लुम्बिनीलाई बौद्धधर्मको उद्गम स्थल, विश्व शान्तिको मुहानका रूपमा अघि बढाउने र बौद्ध धर्मको महत्व प्रचारप्रसार तथा अध्ययनलाई विश्वभर फैलाउने मुख्य उद्देश्यसहित आयोजना भइरहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको मुख्य नारा पनि ‘लुम्बिनी नेपाल : बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ हुनुले यस कुराको पुष्टि गर्छ । जबकि, लुम्बिनी जन्मस्थलको प्रचारभन्दा माथि उठेर यसलाई विश्वभरिकै बौद्धमार्गीहरूको मात्र होइन, हरेक शान्ति र जीवनदर्शनप्रेमीहरूले एक पटक पुग्नैपर्ने थलोका रूपमा यसलाई प्रचारप्रसार गर्न सक्नुपथ्र्यो । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ३८ देशको सहभागिता हुने भनिए पनि १६ देशको मात्र सहभागिता हुनुले प्रचारप्रसार र पूर्वतयारीमा कमजोरी भएकै स्वीकार गर्नुपर्छ ।
२५६२ औं बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीमै आयोजना गरिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई विश्वभरिकै बौद्धमार्गीहरू भेला हुन सक्ने एक अवसरका रूपमा उपयोग गर्न सक्नुपथ्र्यो, यसका लागि महायानमात्र होइन, बौद्ध धर्मसँग सम्बन्धित सबै सम्प्रदायका अन्तर्राष्ट्रिय संस्थाहरूलाई निमन्त्रणाका साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबाट पनि प्रचारप्रसार गरिनुपर्ने थियो । लुम्बिनीलाई विश्वकै प्रमुख तीर्थस्थलका रूपमा विकसित गर्ने उद्देश्य राखेर सन् २०१२ लाई ‘लुम्बिनी भ्रमण वर्ष’का रूपमा पनि नमनाइएको भने होइन, तर हचुवाका भरमा आयोजना गरिएको लुम्बिनी भ्रमण वर्ष पनि लक्ष्यअनुसार असफल नै भयो । उक्त वर्ष आन्तरिक र बाह्य गरी १० लाख पर्यटक लुम्बिनी पुर्याउने उद्देश्य राखिए पनि त्यो उद्देश्य पूरा भएन भने अन्तर्राष्ट्रिय स्तरमा समेत लुम्बिनीबारे सही ढंगले प्रचारप्रसार नै गर्न सकिएन ।
अहिले पनि लुम्बिनी भारतीय टुर अपरेटरहरूका लागि आधा दिने भ्रमण गन्तव्यभित्र पर्दै आएको छ, त्यसमाथि सीमापारि बनाइएको नक्कली लुम्बिनीका कारण यहाँ आउन चाहने धेरै पर्यटक भारत आएर भारतबाटै फर्कने गरेका छन् । लुम्बिनीलाई मुख्य अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा विकसित गर्नका लागि पूर्वाधारजन्य र नीतिगत समस्याहरूका अतिरिक्त यस्ता व्यावहारिक समस्या पनि विद्यमान छन् । भारतले विगत केही वर्षदेखि बुद्धिस्ट सर्किटका नाममा प्याकेज बेचेर बौद्धमार्गीहरूलाई भारत भिœयाएर लुम्बिनीसम्म ल्याएर फेरि भारत नै फर्काउने गरेको छ, यस्तो आधा दिने भ्रमणबाट नेपालले कुनै लाभ उठाउनै सकेको छैन । यदि साँच्चिकै लुम्बिनीलाई विश्वकै प्रमुख तीर्थस्थलका रूपमा विकसित गर्ने हो भने नेपालले बुद्ध जयन्तीका आसपासमा एक–दुईदिने सम्मेलन गरेर मात्र पुग्दैन, विश्वव्यापी महोत्सवका रूपमा मनाउन अझ ठूलो र बृहत् कार्यक्रम गरिनु आवश्यक छ । लुम्बिनीलाई विश्व शान्ति स्थलका रूपमा चिनाउने भनेर विगतमा ठूल्ठूला घोषणाहरू पनि नभएका होइनन्, तर तिनको कार्यान्वयन निराशाजनक छ । त्यसैले यस वर्षको बुद्ध जयन्तीकै अवसर पारेर लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटनको मुख्य केन्द्र बनाउने गरी सरकारले ठोस पहलको थालनी गरिहाल्न सके मात्र यस्ता सम्मेलनका सार्थकता रहन्छ ।