मौरीसँगै रमाउँदै उपप्राध्यापक «

मौरीसँगै रमाउँदै उपप्राध्यापक

दाङ-दाङका एक उपप्राध्यापक मौरीसँगै रमाउने गरेका छन् । घोराही उपमहानगरपालिका–१५ का कृष्णबहादुर डाँगी मौरीसँगै रमाउने गरेका हुन् । बिहान क्याम्पसमा अध्यापन गराए पनि दिउँसो तथा साँझको समयमा उनले मौरीपालन व्यवसायलाई अगाडि बढाएका छन् ।
डाँगीले विगत ५ वर्षदेखि नै मौरीपालन व्यवसाय गर्दै आएका छन् । उनले २ घारबाट मौरीपालन व्यवसाय सुरु गरेका थिए । अहिले उनीसँग ७० घार मौरी छन् । “मैले रहरले मौरीपालन व्यवसाय सुरु गरेको हुँ,” डाँगीले भने ।
अध्यापन गराएर बचेको समयको सदुपयोग गर्न मौरीपालन व्यवसाय सुरु गरेको उनले बताए । व्यवसाय सुरु गरेपछि बचेको समय सदुपयोगसँगै आर्थिक आयआर्जनमा समेत राम्रै सहयोग पुगेको उनको भनाइ छ । उनले अहिले मौरीपालनबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
उनकी श्रीमतीसमेत शिक्षिका छिन् । छोराछोरी साना भएकाले एक्लै हेर्ने गरेको उनले बताए । “मेरो सानै देखिएको रुची भएकाले मौरीसँग रमाउन मन पर्छ,” डाँगीले भने । सानो लगानीबाट व्यवसाय सुरु गरे पनि राम्रो आम्दानी हुने भएपछि पछिल्लो समयमा मौरी पालन व्यवसायतर्फ आकर्षित भएको उनले बताए । उनले मौरीपालन व्यवसायलाई बढाउने सोच राखेका छन् । करिव ४ सय मौरीको गोला पुर्याएर अन्यलाई रोजगार दिने उद्देश्य राखेको उनले बताए । “मौरीको गोला वृद्धि गरी अरूलाई पनि रोजगारी दिने उद्देश्यले अगाडि बढेको छु,” डाँगीले भने ।

अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्