चीनमा घरको मूल्य वृद्धि «

चीनमा घरको मूल्य वृद्धि

अघिल्लो महिनाको तुलनामा अक्टोबरमा चीनमा नयाँ घरको मूल्यमा झिनो अन्तरको वृद्धि भएको छ । तरलता कसिलो भएको र सम्पत्तिको मूल्य कम पार्ने सरकारी प्रयासका कारण घरको मूल्यमा झिनो अन्तरको मात्रै वृद्धि भएको हो ।
चीनका प्रमुख ७० वटा सहरमा औसत नयाँ घरको मूल्य अघिल्लो महिनाको तुलनामा अक्टोबरमा ०.३ प्रतिशतले मात्रै वृद्धि भएको छ र सेप्टेम्बरमा चीनमा नयाँ घरको मूल्यमा ०.२ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्यांक विभागले जारी गरेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको तुलनामा अक्टोबरमा घरको मूल्यमा ५.४ प्रतिशतको वृद्धि भएको छ । यो सेप्टेम्बरको ६.३ प्रतिशतको दाँजोमा कम हो ।
चीनको हाउजिङको बजारले झन्डै दुईवर्षे वृद्धि देखेको छ । अर्थतन्त्रमा भएको वृद्धिका कारण चीनमा घरको मूल्यमा वृद्धि भएको हो । यद्यपि सम्पत्तिको फोका फुट्ने सम्भावना पनि त्यत्तिकै देखिएको छ ।
मूल्य मत्थर पार्ने सरकारी प्रयासका कारण पछिल्ला महिनामा ठूला सहरहरूमा बिस्तारै ओरालो लाग्ने क्रममा देखिएको छ । तर, केही साना सहरमा भने मूल्य अझै पनि उकालो लागिरहेको छ ।
बजार अवलोकनकर्ताहरूले मूल्यमा ठूलो गिरावट आउने तथा धराशायी हुने अनुमान नगरे पनि सम्पत्ति र निर्माणको क्षेत्रमा कमजोरी आउन थालेकाले बृहत् आर्थिक वृद्धिलाई पनि पछाडि धकेल्ने सम्भावना देखिएको छ । केन्द्रीय बैंकले घरधुरीको ऋण पनि तीव्र दरमा बढ्दै जान थालेको चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्