कोकाकोला कपको ९ औं संस्करणको राष्ट्रिय तह सुरु «

कोकाकोला कपको ९ औं संस्करणको राष्ट्रिय तह सुरु

कोकाकोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) तथा युवा तथा खेलकुद मन्त्रालयले संयुक्त रूपमा आयोजना गर्ने गरेको ‘कोकाकोला कप २०७४’ को राष्ट्रिय तह सुरु भएको छ । विद्यालय स्तरीय आधारभूत तहको देशकै सबैभन्दा ठूलो प्रतियोगिता हो ।
यसका अतिरिक्त, एन्फासँग आबद्ध ४३ जिल्लाहरूमा प्रतियोगिता खेलिएको थियो, जसमा हरेक जिल्लाबाट ३५ भन्दा बढी विद्यालयहरू सहभागी भएका थिए । यति धेरै संख्यामा छात्र र छात्रा खेलाडीको सहभागिता रहने यो नेपालकै सबैभन्दा बृहत् प्रतियोगिता हो ।
कोकाकोला कप नेपाली युवाहरूलाई फुटबलमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने तथा आफ्नो क्षमतालाई विकास गर्ने अवसर प्रदान गर्ने संरचना हो । यो वर्षको प्रतियोगिता जिल्ला तह, क्षेत्रीय तह र केन्द्रीय तह गरी तीन तहमा वर्गीकरण गरिको थियो । जिल्ला तहका खेलहरू क्रमशः ४३ जिल्लाहरूमा ०७४ असार २३ गतेदेखि साउन १३ गतेसम्म आयोजना भएको थियो, क्षेत्रीय तहको प्रतियोगिताहरू ५ क्षेत्रहरूमा ६ वटा स्थानमा क्रमशः ०७४ साउन २९ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन भएको थियो, त्यसैगरी राष्ट्रिय तहका खेलहरू काठमाडौंमा सोमबारबाट सुरु भएको छ ।
एन्फा कम्प्लेक्स खेल मैदानमा जारी कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगिता छात्रतर्फ अन्तर्गत एभरेस्ट सेकेन्डरी एकेडेमी (सलार्ही) र बाल सिर्जनालाय स्कुल (काठमाडौं) प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छन्। यी दुई टिम मंसिर ८ गते शुक्रबार फाइनल उपाधिका लागि भिड्ने छन् । सोमबार सम्पन्न भएको प्रतिस्पर्धामा एभरेस्ट सेकेन्डरी एकेडेमी (सलार्ही)ले महेन्द्र मेमोरियल इंग्लिस बोर्डिङ स्कुल (सुनसरी)लाई ४–२ ले पराजित गरेर फाइनलमा प्रवेश गर्न सफल भएको छ । जसमा एभरेस्ट सेकेन्डरी एकेडेमी (सलार्ही)का ऋतिक खड्काले (१) र मदन श्यांग्तनले (३) गोल गर्न सफल भए भने महेन्द्र मेमोरियल इंग्लिस बोर्डिङ स्कुल (सुनसरी)का निकेश तामाङले (१) भरत चौधरीले (१) गोल गरे । त्यसैगरी दोस्रो प्रतिस्पर्धामा बाल सिर्जनालाय स्कुल (काठमाडौं)ले गजुरमुखी स्कुल (काठमाडौं)लाई १–० ले पराजित गरी फाइनलमा प्रवेश गर्न सफल भएको छ । जसमा निमल मोक्तानले एकल गोल गरि आफ्नो टिम लाई फाइनलमा प्रवेश गराउन सफल भए ।

सोमबार सम्पन्न भएको एन्फा कम्प्लेक्स खेल मैदानको प्रतियोगितामा छात्रा तर्फबाट नेपालय इंग्लिस माध्यमिक बिद्यालय (काठमाडौँ) र सेती शारदा माध्यमिक विद्यालय (सिधुपल्चोक ) को खेल १–१ बराबरीमा टुंगियो । त्यसैगरी, दोस्रो प्रतिस्पर्धा शंकर सरस्वति अन्नपूर्ण आधारभूत विद्यालय (कैलाली ) ले ब्राइट माध्यमिक विद्यालय (काठमाडौँ) लाई ७–० ले हरायो । आजको अन्तिम प्रतिस्पर्धामा भुम्रे माध्यमिक विद्यालय (स्याङ्जा) ले आदर्श उच्च माध्यमिक विद्यालय (सुनसरी) लाई ४–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्