बालबालिकाको व्यक्तिगत डाटा चोर्छन् मोबाइल एप

काठमाडौं – सूचना प्रविधिको विकासले मानिसको जीवनलाई फेरिदिएकोमा शंका भने छैन । तर तिनको प्रयोगका बारेमा भइरहने जानकारीबाट आफूलाई सतर्क र सजग पार्नुपर्ने आवश्यकता रहेको पाइन्छ । छोरो असारमा जन्म्यो, साउनमा स्मार्टफोन र एपहरू ल्याइदिने बाबुआमाको कमी भने छैन । तिनको बालमनोविज्ञानमा पर्ने असरबारे हामी ध्यान दिँदैनौं । सूचना प्रविधिका ठूला ठूला कम्पनीहरूका लागि तिनका सहयोगी संस्थाहरूले कतिपय अवैध क्रियाकलाप गरिरहेका हुन्छन् । खेलमा बालबालिकाहरू रमाउँछन् । उनीहरूको रूचीको अध्ययन गरेर उनीहरूको ध्यान तान्न सकिने खालका एप बनाउने काम ती अवैध सहयोगी संस्थाहरूले गरिरहेका हुन्छन् ।
विश्वमा फैलिएका हजारौं एपहरूले बालबालिकाहरूको आनीबानी चालचलन बोली व्यवहारको अध्ययन गरी उनीहरूबारेको सूचना चोर्ने काम गरिरहेका छन् । बालबालिकाहरूको मनोविज्ञानमा पार्ने प्रतिकूल प्रभाव रोक्न मानसिक चिकित्सकहरूले अभिभावकहरूलाई सल्लाह दिने गरेका छन् । एन्ड्रोइडमा चल्ने हजारौं एपहरूले बालबालिकाहरूको आनीबानी चालचलन जस्ता व्यक्तिगत जानकारीलाई अवैधरूपमा चोरिरहेको हुनसक्ने अध्ययनमा पाइएको छ ।
गुगलको प्ले स्टोरमा बालबालिकाहरूका लागि भनि तयार पारिएका राखिएका पाँच हजार ८८५ एपहरूका विषयमा यो अध्ययन गरियो । ती एपहरूका बारेमा गरिएको अध्ययनबाट आधा भन्दा बढी एपहरूले बालबालिकाहरूको व्यक्तिगत गतिविधिहरूको विषयमा जानकारी (डेटा) अवैध रूपमा संकलन गरिएको पाइएको हो । बालबालिकाहरूको यस्तो व्यक्तिगत जानकारीको संकलन उनीहरूको जानकारी बिना गर्नु अवैध हो । अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट(कोप्पा)ले यस्तो कार्यलाई अवैध मान्दछ । कोप्पाले १३ वर्ष उमेर भन्दा मुनिका बालबालिकाहरूको जानकारी लिन पाउने सीमा तोकेको छ ।
क्यालिफोर्निया युनिभर्सिटीस्थित इन्टरनेसनल कम्प्युटर साइन्सका अनुसन्धानकर्ताहरूले नोभेम्बर २०१६ देखि मार्च २०१८सम्मको एपहरूलाई स्मार्टफोनमा डाउनलोड गरे । उनीहरूले यसरी डाउनलोड गरिएका एपको स्वचालित परीक्षण प्रक्रियामा प्रयोग गरे । यो प्रक्रियामा सिर्जना गरिएको प्रयोगकर्ताले एप चलाउँछ । यसरी अध्ययनका लागि छनौट गरिएका हरेक एपको औसतरूपमा ७ लाख ५० हजार पटक अध्ययन गरिएको आइएमडीइए नेटवर्क इन्स्टिच्युटले जनाएको छ । यो नेटवर्क यो अध्ययनमा सहभागी मध्येको एक हो ।
अध्ययनका लागि डाउनलोड गरिएका ५८८५ एपमध्येका २८१ ले फोन सम्पर्क वा जीपीएस लोकेसन डेटा संकलन गरेको पाइयो । ती मध्येका १८४ ले विज्ञापनकर्ता समक्ष डिभाइसको लोकेसन पठाएको पाइयो । एक हजार भन्दा बढी एपले बालबालिकाहरूको व्यक्तिगत जानकारीलाई संकलन गरी तेस्रो पक्षलाई जानकारी दिने गरेको पाइयो । अझ हजारौंले बालबालिकाहरूको एपबाट यस्ता जानकारी चोर्ने कार्यलाई अवैध मानेको गुगलको सेवासर्तलाई समेत उल्लंघन गरेको अध्ययनको क्रममा पाइयो ।
अध्ययनका क्रममा ती एपले संकलन गरेका डेटालाई असुरक्षित तवरले पठाएको पाइएको छ । डुओलिङगो, मिनियन रस फन किन रेसिङजस्ता गेमको अध्ययन गरियो । फन किड रेसिङको उत्पादन गर्ने टाइनी ल्याब प्रोडक्सन्सले आफूले तयार पारेको गेम एप खोल्न उनीहरूलाई उमेर भर्न आग्रह गर्ने गरेको जनायो । उपभोक्ता १३ वर्ष उमेरका छन भने उनीहरूको डेटा संकलन नगर्ने गरेको उसले जनायो ।
अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेको अध्ययनप्रति गुगलले चासो दिएको पाइएको छ । सो प्रतिवेदनको अध्ययन गरी गुगलले त्यसलाई गम्भीररूपमा लिइरहेको जनायो । उसले अध्ययनबाट फेला परेका विषय धेरै गम्भीर रहेको टिप्पणी गरेको छ । गुगलले बालबालिका र परिवारहरूको सुरक्षा आफूहरूको लागि शीर्ष प्राथमिकतामा रहेको जनाएको छ । एनबीसी न्युजसँग गुगलले भनेको छ, “बालबालिकाहरू र परिवारहरूको संरक्षण गरिरहनु शीर्ष प्राथमिकतामा पर्छ र हामीले पारिवारहरूका लागि तयार पारेका कार्यक्रमबारे कार्यक्रम विकास गर्नेहरूलाई त्यस्ता विषय र गुगल प्लेसम्बन्धी नीतिबारे जानकार रहेर काम गर्नुपर्ने हुन्छ ।”
अध्ययनबाट फेला परेका तथ्यहरूबारे आफूले अनुसन्धान गर्ने बताउँदै गुगलको भनाइ छ, “हाम्रा नीतिहरूको उल्लंघन कुनै एपले गरेको हामीले निर्धारण गर्छौ भने तिनका विरूद्ध हामीले कारबाही गर्नेछौं ।” साथै अनुसन्धानकर्ताहरू प्रति सम्मान प्रकट गर्दै गुगलले भन्यो, “हामी सदैव अनुसन्धान समुदायले गर्ने कार्यको प्रशंसा गर्छौ जसले एन्ड्रोइडको पर्यावरण प्रणालीलाई सुरक्षित बनाउन सहयोग गर्छ ।” यद्यपि उपभोक्ताहरूका लागि एपमा सोधिने उमेरको जानकारी दिने ठाउँ फरक उमेर राख्न सहज छ ।
यसका साथै आमाबाबुका लागि उनीहरूका बालबालिकाहरूका लागि हुने जोखिमको पहिचान गर्न धेरै गाह्रो हुन सक्छ । संवेदनशील स्रोतसम्मको पहुँच र तिनको इन्टरनेटको माध्यमले गरिने वितरणले त्यो एपले कोप्पाको उल्लंघन गरेको अर्थ लगाउन आवश्यक भने हुँदैन । यस्ता कुनै एपले अभिभावकको अनुमति लिएको हुँदैन । अध्ययनले कोप्पा जस्ता नियामक निकायले निर्माण गरेका बाध्यकारी कानुनहरूलाई कसरी चुनौती दिइदै गरिएको छ त्यसलाई प्रकाशमा ल्याइदिएको छ ।
गुगलको स्वामित्वमा सञ्चालन भइरहेको युट्युब हाल केही दिनयता आलोचना खेप्दै आएको छ । करिब दुई दर्जन अधिकारीवादी समूहहरूले अमेरिकाको बालबालिका सम्बन्धी अनलाइन प्राइभेसी प्रोटेक्सन एक्टको युट्युबले उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । उनीहरूले यस्ता कम्पनीहरूले १३ वर्ष उमेरसमूहका बालबालिकाहरूको व्यक्तिगत डेटा संकलन गरेर तिनको विज्ञापन गरिरहेको आरोप लगाएका छन् । यदि यसबारेको ऊजुरी सत्य साबित भए युट्युबलाई अबौं डलरको जरिवाना हुन सक्छ । अभियानकर्ताहरूले युट्युबले कोप्पाका प्रावधानको उल्लंघन गरेको र बालबालिकाहरूको रूचिको संकलन गरी युट्युबले धेरै मुनाफा कमाएको आरोप समेत लगाएका छन् ।
(एजेन्सीको सहयोगमा)