फोहोर बिक्रीबाट आम्दानी «

फोहोर बिक्रीबाट आम्दानी

वालिङ नगरपालिकाले फोहोरमैला बिक्रीबाट आम्दानी लिंदै आएको छ । ४ वर्षको अवधिमा १७ लाख ३५ हजार २ सय १८ रुपैया“ फोहोरमैला बिक्रीबाट आम्दानी भएको नगरपालिकाले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा १ लाख ७९ हजार, २०७२/०७३ मा ३ लाख ४९ हजार ९ सय ९० रुपैया“ र आ व २०७३/०७४ मा ७ लाख २४ हजार ८ सय १५ रुपैया र चालु आवको हालसम्म ४ लाख ८१ हजार ४ सय १३ रुपैया“ फोहोरमैला बिक्रीबाट झण्डै साढे १७ लाख रुपैया आम्दानी गरेको छ ।
वालिङ नगरपालिका र स्थानीय दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबीच फोहोरमैला व्यवस्थापनको चार खम्बे अवधारणा अनुसार २०७१ साल असोजमा सम्झौता भएको थियो ।
“हामीले दैनिक बजारबाट कुहिने, नकुहिने र सिसाजन्य वस्तुहरु वर्गीकरण गरेर संकलन गर्ने गरेका छौं,” दिदी बहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीले भने, “संकलित वस्तुहरुलाई सरसफाई केन्द्रमा लगेर कुहिनेलाई कम्पोष्ट मल बनाउने र नकुहिने वस्तुलाई पुनःसुक्ष्म वर्गीकरण गरी बिक्री गर्छौं ।”
बिक्रीको काममा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसैगरी सरसफाई केन्द्रको खर्च ब्यवस्थापन, कर्मचारीहरुलाई मास्क, पञ्जा, एप्रोन, स्वास्थ्योपचार, स्वास्थ्य बिमा तथा ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा खर्च संस्थाले व्यवस्थापन गर्दै आएको छ ।
नगर प्रमुख दीलिपप्रताप खाणले संघीय सरकारको फोहोरमैला व्यवस्थापन ऐन २०६८ अन्तर्गत रही फोहोरमैला व्यवस्थापन तथा सरसफाइ कार्यविधि २०७५ निर्माण थालनी गरिएको बताए । “वालिङ नगरपालिकाले फोहोरमैलाको क्षेत्रमा गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै सरकारबाट उत्कृष्ट घोषणा हु“दै आएको छ” उनले भने “अहिलेको सरसफाइ प्रणालीलाई अझै व्यवस्थित र प्रभावकारीरूपमा टोल–टोलमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरी अगाडि बढाएका छौं ।”
नगरलाई सरसफाइ केन्द्रमा विभिन्न संरचनाहरु निर्माणका लागि नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले फोहोरमैला संकलन केन्द्रसम्म पुग्नका लागि झण्डै साढे २ किलोमिटर सडक, ८ वटा च्याम्बरको स्टोर निर्माण, ३३ रोपनी जग्गामा तारबार गरिदिएको छ ।
फोहोरमैला व्यवस्थापन गर्दा शहरको सौन्दर्यता वढेको र स्वास्थ्य, वातावरणलगायतका विषयमा प्रत्यक्ष लाभ पुगेको उनले बताए । पर्यटकीय हिसाबले पनि कार्यक्रमले राम्रो प्रभाव छ । दिनहु“ नगरका विभिन्न भागहरुमा कुहिने र नकुहिने गरी छुट्टाछुट्टै २ वटा ट्रिपरहरु फोहोर संकलनका लागि बजार पुग्ने गरेका छन् भने प्रत्येक २ महिनामा बजारबाट सिसा संकलन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्