आगामी बजेट सन्तुलित र ‘टयाक्टफूल’ «

आगामी बजेट सन्तुलित र ‘टयाक्टफूल’

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र ट्याक्टफूल हुने बताएका छन् । नेपाल व्यवस्थापन संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेटले सबै क्षेत्र, वर्ग र जातिलाई समानरूपले समेट्नेमा विश्वस्त हुन आग्रह गरे । उनले बजेट राजनीतिक र आर्थिक दस्तावेज भएकाले ट्याक्टफूल हुने पनि बताए । खासगरी निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम राख्ने-नराख्ने विषयलाई लिएर बजेट ट्याक्टफूल हुने उनको भनाइ छ ।
अर्थमन्त्री खतिवडाले कृतिम तथ्यांकका आधारमा बजेट नआउनेमा निश्चिन्त हुन आग्रह गरे । उनले प्रतिस्पर्धात्मक वस्तु उत्पादन गर्ने उद्योगको संरक्षण गर्ने गरी बजेट आउने दाबी गरे । मुलुकलाई आत्मनिर्भर बनाउन कम्तिमा एक दर्जन औद्योगिक वस्तुलाई संरक्षण गर्ने गरी बजेट ल्याउने र घरजग्गाको कारोबारमा कडाइ गर्ने उनको संकेत थियो । उनले घरजग्गाको कारोबारका विषयमा आफू यसअघि नै टेस्टेड भइसकेकाले अब फेरि कस्तो नीति आउला भनेर टेस्ट गर्न आवश्यक नै नरहेको स्पष्ट पारे ।
त्यसअघि नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले घरजग्गाको कारोबारमा कडाइ गरी उत्पादनमूलक उद्योग र सेवा क्षेत्रलाई प्रबद्र्धन गर्ने गरी बजेट ल्याउन सुझाव दिएका थिए । घरजग्गाको कारोबारमा जथाभावी लगानी गर्दा ग्रामीण वस्ती खाली भइ कृषि उत्पादन घटेको र आयात दिनहुँ बढ्दै गएको भन्दै उद्यमशीलता विकास गर्ने बजेट ल्याइनुपर्ने उनको भनाइ थियो ।
अर्थमन्त्री खतिवडालाई सुझाव दिने क्रममा परिसंघका अध्यक्ष शर्माले मुलुकको नीति उद्योगमैत्री नभएको गुनासो गरे । औषधि उद्योगका सञ्चालकसमेत रहेका शर्माले अमेरिकामा ५० हजार डलर पर्ने मेसिन नेपालमा ९० हजार डलर पर्ने भन्दै उद्योग स्थापनाका लागि आवश्यक उपकरणमा चर्को भन्सार शुल्क नहटाएसम्म स्वदेशी उत्पादनले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने उदाहरण नै पेश गरे । कार्यक्रमका अन्य सहभागीहरूले करको दर घटाएर दायरा विस्तार गर्ने गरी बजेट ल्याउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्