गन्धर्व परिवार बेसहारा «

गन्धर्व परिवार बेसहारा

साँफे मार्तडी सडक खण्डअन्तर्गत बाजुराको बूढीगंगा नगरपालिका–७ सिमलकोटमा सडक छेउमै एउटा सानो छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जना परिवार भएको गन्धर्व समुदाय बस्दै आएका छन् । सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको घरमा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् ।
सपना गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भयो । उनका श्रीमान् धन गन्धर्व त्यही छाप्रोमा पैसा अभावमा उपचार हुन नसकी मृत्यु भयो । अर्काको छाप्रोमा बस्दै आएका सपनाको परिवारका जग्गा जमिनमात्र हैन, उनको नेपाली नागरिकतासमेत छैन । नागरिकता नभएकै कारणले उनले पाउने सामाजिक सुरक्षा भत्ताबापतको एकल भत्ता समेतबाट बञ्चित बनेकी छन् । उनको सनाखत गर्ने र माइतीको नागरिकता नभएका कारणले अहिले सम्म नागरिकता पाउन सकेकी छैनन् ।
नागरिकता बनाउनका लागि केही जान्नेबुझ्नेलाई पटक पटक पहल गरे पनि कोही सनाखत बस्ने पनि पाइएन र कसरी नागरिकता बनाउँछन् भन्ने जानकारी नभएका कारण नागरिकताबाट वञ्चित भएको सपनाले बताइन् । “माइतीको नागरिकता ल्याएर आऊ भन्छन्, तर कालिकोटमा रहेको माइतीमा सबै परिवारमा मृत्यु भइसकेको छ,” उनले भनिन् ।
श्रीमान्को मृत्युपछि सपनाको जिम्मेवारीमा दुई छोरा पालन पोषण गर्ने जिम्मा भयो । “श्रीमान् हुँदा कतै गीत गाएर माटोका भाँडा बनाएर परिवार पाल्थ्यौं, तर अहिले श्रीमान्को मृत्यु भइसकेपछि मागेर नै बच्चा पालिरहेकी छु,” उनले भनिन् । उनको जेठो छोरा सागर गन्धर्व कक्षा ५ र कान्छो छोरा राजेश कक्षा २ मा गाउँमा रहेको शारदा माविमा अध्यनरत रहेका छन् । “दिनभरी उच्च जातिको घर काम गरेर मागेर ल्याउँछौं । त्यही छोराहरूको र आफ्नो पेट भर्ने गरेका छौं । कुनै दिन त कतैबाट खाद्यान्नको जोहो गर्न नपाएपछि छोरा र भोकै पेट बस्नुपर्छ । गरिब हुनु पनि पाप रहेछ, धेरै साँझ चुलोमा आगो समेत बल्दैन,” सपनाले भनिन् ।
बूढीगंगा नगरपालिका ७ का वडाध्यक्ष भुवन जैशीले नागरिकताका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पनि उनलाई नागरिकता दिलाउने आश्वासन दिएका छन् ।
पदम सिंह

प्रतिक्रिया दिनुहोस्