प्रविधिले फेरिएको जीवनशैली «

प्रविधिले फेरिएको जीवनशैली

सामान्य लाग्ने घरका काम गर्न पनि अब प्रविधिले सहज बनाइदिएको छ । बदलिँदो सहरिया जीवनशैलीलाई नयाँ सोच तथा चिन्तन बोकेका युवा जमातले ‘डटकम जिन्दगी’ बनाइदिएका छन् । यस्तै एक प्रतिनिधि हुन्– डोको रिसाइकलर्स डटकम र नेपाली धोबी डटकम, जसले सामान्य मानिसको जीवनशैलीमा परिवर्तन ल्याएका छन् ।
नेपालमा बसेर केही गर्न सकिँदैन भन्ने युवाहरूको लागि नेपालमा नै बसेर केही फरक सोच विचार र दृढ संकल्प लिएर उदाहरणीय रुपमा काम गरेर प्रेरणा बनिरहेका युवाहरू पनि यही समाजमा भेट्न पाइन्छ । यो युवा जमातले सूचना प्रविधिको सहाराले नेपालीको जीवनशैलीमा नै परिवर्तन ल्याएको पनि देखिन्छ ।
यस्तै नेपालमै केही गर्न सकिन्छ भन्ने कुरामा प्रेरित गर्न युवाहरूको कथा डोको रिसाईकलर्स डटकम र नेपाली धोबी डटकम हो । नयाँ सोच र जाँगर भएमा पक्कै पनि नेपालमै केही गर्न सकिन्छ भन्ने युवाहरूको सफलता एवं नयाँ सोचले यी युवा समाजमा एक उदाहरणको रुपमा अघि बढिरहेका पनि छन् । यसैगरी पछिल्लो समय फुडमाण्डु, दराज, खालीसिसि डटकमहरूमा युवाहरूले आ–आफ्नो क्षेत्रबाट अनलाइन व्यापार र केही फरकपन भएको काम गरेर विस्तारै अघि बढ्दै गइरहेको छ ।
नेपाली धोबीडटकम स्थापना भएको केही सातामात्र भएको छ । तर यसको चर्चा भने निकै बढ्दै गइरहेको छ । केही पृथक सोचको कारण नै अगाडि बढेको त पक्कै पनि यही कुराबाट पुष्टि हुन्छ । तीनजना युवाहरूको नयाँ काम गर्ने धारणाले नेपाली धोबी डटकमको स्थापना भएको हो । यस संस्थामा ३ जना युवाहरूको नयाँ सोच प्रस्तुत भएको छ । विकास सुवेदी बेलायतमा आइटी सम्बन्धी अध्ययन गरेर फर्किएका हुन् । ऋचा धमला अष्ट्रेलियामा नर्सिङ सकेर आएकी हुन् र निकुञ्ज भण्डारीले नेपालमै स्नातक सकेका हुन् । यी तीन जना युवाहरू आ–आफ्नो क्षेत्रमा अब्बल छन् तर पनि समाजमा केही नयाँ काम गरौं भन्ने सोचले एक महिना बित्न नपाउँदै यसको सेवाग्राही पनि बढ्दै गइरहेका छन् ।
तीनै जना आ–आफ्ना क्षेत्रको कामभन्दा बाहिर केही नयाँ गर्न चाहन्थे । सामान्य साथीको माध्यमबाट चिनिएको यी तीनजना युवाहरूमा केही नयाँ सोच र उत्सुकताले आज आफ्नो कामको सकारात्मक विचारले अझ अघि बढ्न हौसला भएको पनी उनीहरू बताउँन् । “हामी नयाँ ढंगबाट काम गर्न चाहन्थ्यौं । तर के गर्ने भन्ने कुरा सोच्दासोच्दै एक दिन चाबहिलमा ड्राइ क्लिनर खोज्दा नपाउँदा यही कुरालाई हामीले फोक्स दियौं । यसको लागि हामीले अनुसन्धान गर्न थाल्यौं । पहिले काठमाडौंमा बस्ने मान्छेका व्यक्तिगत समस्याहरूको बारेमा बुझ्न थाल्यौं । समस्यासँगै सबैका कारण पनि खोज्न थाल्यौं । मुख्यतः समस्याको जड व्यस्तता रहेछ भन्ने लाग्यो,” विकासले भने, “हामीले यस क्षेत्रमा लाग्नको लागि सोच बनायांै । सामान्यतया सातामा हुने एक दिन पनि मान्छे व्यस्त हुन्छ । घरकै साधारण कामले गर्दा परिवार वा साथीभाइसँग भेटघाट गर्न मुस्किल पर्छ । हप्तामा एक दिन छुट्टी हुँदा लुगा धुनमै लाग्ने बुझ्यौ । पानीको समस्या उस्तै ।”
दुई महिना उनीहरुले अध्ययनमा बिताए । बाटामा हिँड्ने मान्छेलाई सोधे, साथीहरूसँग सल्लाह लिए, होटल–लज धाए । प्रतिक्रिया राम्रो आउन थालेपछि हौसला मिल्यो । त्यसपछि मूल्यसूची कसरी तयार पार्ने भन्ने बारेमा सोचे । मूल्य तोकियो, साधारण एक केजी कपडाको १ सय २० रूपैयाँ । यो बाहेक अन्य विशेष कपडा धुन फरक मूल्य छ ।
“हामी मजदुर होइन, टिम मेम्बर भन्छौं । कपडा धुने ६ जना र अन्य २ जना गरी ८ जना टिम मेम्बर हुनुहुन्छ । यो बाहेक प¥यो भने हामी तीनै जना पनि पिकअप–डेलिभरी गर्छौं । हाम्रो विज्ञापन मुख्यतया सामाजिक सञ्जाल नै हो । प्रचार थालेपछि दिनै ७०–८० वटा फोन, केही इमेल र औसत ३०–३५ किलो कपडा अर्डर आउन थालेको छ,” विकासले भन । उनीहरूले सडकका पोलहरूमा पर्चा पनि टाँस्ने गरेका छन् ।
चार किलोभन्दा धेरै कपडा छ भने डेलिभरी चार्ज लिँदैनन् । त्यो भन्दा कम भए ५० रुपैयाँ पर्छ । कपडा लगेको ४८ घण्टामा डेलिभरी गर्ने दाबी विकासको छ । अहिले नेपाली धोबीको सेवा रिङरोडभित्र मात्रै भए पनि विस्तारै फैलाउने योजना उनीहरूको छ ।
“सुरुमै राम्रो हुन्छ भन्ने छैन, मिहिनेत चाहिन्छ, मान्छेलाई सहयोग हुने काम गरेर देखाउनु पर्छ । रोजगारीकैै लागि विदेश धाउनुभन्दा यहीँ नौलो काम थाले सफल हुन सकिने देखिन्छ । काम सानो–ठूलो हुँदैन, राम्रो–नराम्रो हुँदैन,” ऋचाले भनिन् ।

फोहोरलाई मोहोरमा बदल्ने युवा
समाजमा केही गरौं भन्ने सोच बोकेर हिँड्ने अर्को समूह हो डोको रिसाइकल डटकम । कुशल हरजार्नी, रागभेन्द्र महतो, रुनित सोराई, पनक पजियार, आस्मा बस्न्यात र शिवानी सोराईजस्ता युवाहरूको सोच सबै नेपाली युवाहरूमा हुनु जरुरी देखिन्छ । फोहोरलाई मोहोरमा बदल्ने धारणा लिएर डोको रिसाईकलको स्थापना भएको हो । “विशेषगरी फोहोरलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सन्दर्भमा आएको समस्यालाई मध्यनजर गरेर हामीले यस सस्ंथाको स्थापना गरेका हौं । सहरी क्षेत्रको मुख्य समस्या भनेको फोहोर व्यवस्थापन हो । यसमा पनि हामीले फोहोरबाट आएका वस्तुहरू पुनर्प्रयोगमा प्रयोग हुन सक्छ भन्ने धारणाले यस सस्थाको स्थापना गरेका हौं,” रागभेन्द्रले भने, “हाल हामी राजधानीमा काम गरिरहेका छौ । पुनः प्रयोग हुने फोहोर हामीले सेवाग्राहीबाट लिने गरिरहेका छांै । काठमाडौंमा नै यसको माग हामी धान्न सकिरहेका छैनौं । हालका दिनमा यदि हामीले शाखा विस्तार गर्न सोचमा लाग्यौं भने विशेष फोहोर अव्यस्थित भएको सहरमा जाने विचार छ ।”
हाल उनीहरुको संस्थामा १७ जना कामदार छन् । जनस्तरसम्म पुग्नको सोसल मिडिया वा सेवाग्राहीहरूको माध्यमबाट नै अघि बढिरहेका छन् । शिवानी भन्छिन्, “वातावरणीय रुपमा हेर्ने हो भने फोहोर पुनप्र्रयोग गर्न सकिने भएकाले यसले पक्कै पनि वातावरणीय रुपमा सहयोग गर्न काम गरिरहेको हुन्छ । सामाजिक रुपमा यसलाई हेर्ने हो भने समाजमा यसले जनचेतना दिने काम गरिरहेको छ र आर्थिक रुपमा हेर्न हो फोहोरलाई पुनप्र्रयोग गरेर मोहोरमा बदल्ने र रोजगारको क्षेत्रमा पनि यसले मुख्य भूमिका निर्वाह गर्न सक्छ ।”
हाल अनलाइनभन्दा फोनमार्फत् सेवाग्राही बढेको डोको रिसाईकलका युवाहरू बताउँछन् ।

सरकारले सहयोगी नीति ल्याउनुपर्छ
विकास सुवेदी
नेपालीधोबी डटकम
अनलाईनको बजार आउने दिनमा निकै लाभदायी रुपमा अघि बढ्ने छ । यसप्रति व्यक्तिहरूको रुची बढ्दै गइरहेको छ । सहरी क्षेत्रमा बढेको व्यस्ततालाई मध्यनजर गर्ने हो भने आउँदा दिनमा यसको बजार निकै उकालो लाग्न सक्छ । यसका लागि सरकारले बनाएको नीतिहरूमा पनि अनलाइन क्षेत्र वा युवाहरूको नयाँ सोचलाई सहयोग बनाउने नीति ल्याउन जरुरी देखिन्छ ।
रिना खत्री

प्रतिक्रिया दिनुहोस्