टेलिकमले सुरु गर्याे पीएसटीनकाे गुणस्तर सुधार

काठमाडौं: नेपाल टेलिकमले हाल सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन (ल्यान्ड लाइन)टेलिफोन सेवाको गुणस्तर अभिवृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न सुरु गरेको छ ।
टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले शुक्रबार कम्पनीको ललितपुर ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पीएसटीएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्यको आरम्भ गरेका छन् ।
पुरानोे टीडीएम प्रविधिको स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको ‘आईपी वेस्ड’ उपकरणबाट प्रतिस्थापन गर्दै स्तरोन्नति गर्ने कार्यको कामको सुरुवाता गरेका छन् । शुक्रबार नै ग्वार्को एक्सचेन्जका ४ हजार २ सय २४ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ ।
आगामी दुई महिना भित्रमा मुलुकका १ लाख ३४ हजार पीएसटीएन टेलिफोन लाइनका उपकरणहरूलाई आईपी वेस्ड उपकरणबाट प्रतिस्थापन गरिने भएको छ । आगामी आर्थिक वर्ष भित्रमा कुल ४ लाख ल्यान्डलाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने कार्यक्रम छ ।
साथै त्यसपछि बाँकी ल्यान्डलाइन सेवालाई पनि क्रमशः ‘आईपी वेस्ड’ प्रविधिमा रूपान्तरण गर्दै लैजाने लक्ष्य छ । ‘आईपी वेस्ड’ उपकरणबाट प्रतिस्थापन गरेपछि ल्यान्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ । यस प्रविधिअन्तर्गतका एक्सचेन्जहरूबाट ग्राहकको मागअनुरूप एडिएसएल लाइन उपलब्ध गराउनसमेत सम्भव हुनेछ ।
साथै भविष्यमा ल्यान्डलाइन सेवामा आधारित अन्य आधुनिक सेवा जस्तै ः आईपटीभी, भिडियो अन डिमान्ड आदि सेवासमेत प्रदान गर्न मद्दत पुग्नेछ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव गुरुङले प्रविधिमा भएको परिवर्तनलाई आत्मसात गर्दै ग्राहकलाई केन्द्र बिन्दुमा राखेर गुणस्तरीय सेवा सुविधा प्रदान गर्न र यसका लागि आक्रामक बजार रणनीति बनाई त्यसैअनुसार आगामी दिनमा कार्य गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले २५ वर्षअघि स्थापित डिजिटल प्रविधिका उपकरणलाई प्रविधिको विकासक्रम अनुरूप आधुनिक आईपी वेस्ड प्रविधिमा रूपान्तरण गरी उपभोक्ताको माग अनुरूपको भ्यालुएडेड सेवा समेत वितरण गर्न सकिने गरी स्तरोन्नति गर्न आरम्भ गरिएको बताएकी छन् ।