नक्कली सर्टिफिकेट बनाएर सेनामा भर्ती गराउने गिरोह पक्राउ «

नक्कली सर्टिफिकेट बनाएर सेनामा भर्ती गराउने गिरोह पक्राउ

नेपालगन्ज- इलाका प्रहरी कार्यालय कोहलपुरले नक्कली सर्टिफिकेट बनाई नेपाली सेनामा भर्ना गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सुर्खेतका एक व्यक्तिलाई नेपाली सेनाको सैनिक जवानमा भर्ती गर्नको लागि आवश्यक नक्कली सर्टिफिकेट, फिजिकल, दौड, बेरिङ्ग चेक, मेडिकल र लोकसेवाको जाँच दिनेसम्म पैसा लिएर सरकारी छाप किर्ते गरेको अभियोगमा बाँके बैजानाथ गाउँपालिका वडा नं १ बस्ने टिकाराम बस्नेत, सोही ठाउँ बस्ने वसन्त बिक र राजेश यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक निरञ्जन घिमिरेले नेपाली सेनामा भर्ना भएका ती व्यक्तिले सैन्य तालिमको क्रममा छनौट परीक्षामा गरेको उपलब्धीको विपरित काम गरेपछि आन्तरिक अनुसन्धानको लागि गरेको आग्रहअनुसार छानविन गर्दा अनुसन्धानको लागि बस्नेत, विक र यादवलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

घिमिरेका अनुसार बस्नेतले सबै प्रबन्ध मिलाउने गरेको र उनकै घरबाट नेपाली सेनाको लोगो भएको छाप तथा अन्य सामग्री फेला परेको र विभिन्न चरणमा गरी २ लाख बढी रुपैयाँ लिएको पाइएको छ । यसैगरी विकलाई मेडिकल चेकअप गर्नको लागि प्रयोग गरेको र यादवले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
विकले मेडिकल जाँच गराएवापत १० हजार र यादवले सर्टिफिकेट बनाईदिए बापत साढे १७ हजार बस्नेतबाट लिएको अनुसन्धानमा खुल्न आएको छ । यादव सूर्योदय मावि चिसापानीका शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्