औलो दिवस मनाइयो «

औलो दिवस मनाइयो

विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी बुधबार नेपालमा पनि मनाइयो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २००८ मा अप्रिल २५ लाई विश्व औलो दिवस घोषणा गरेको थियो ।
सोही दिनको स्मरणमा नेपालले पनि विश्व औलो दिवस मनाएको स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. गुणराज लोहनीले बताए । यो वर्ष ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने नाराका साथ नेपालमा पनि विश्व औलो दिवस मनाइएको छ । औलोविरुद्ध जनचेतना जगाउने उद्देश्यले बुधबार देशभर विविध जनचेलनामूलक कार्यक्रम आयोजना गरिएको छ । औलो नेपालको प्राथमिकता एकमा पर्ने जनस्वास्थ्य समस्या हो । नेपालमा हालसम्म पनि बर्षेनी करिव २ हजार जति प्रयोगशाला प्रमाणित औलो रोगी भेटिएको सो कार्यक्रममा जानकारी दिइएको छ । संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोगबाट गर्भवति महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा रहेको पाइएको छ ।
संसारभर पाइने औलो परजिविमध्ये २ परजिविहरु प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातको परजिवि मात्र नेपालमा पाइने चिकित्सकले बताएका छन् । यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपेरम परजिविले सार्ने औलो रोग बढी कडा र खतरनाक हुने विज्ञको दाबी छ । यो नेपालमा रहेको जम्मा औलो संक्रमण संख्याको १७ देखी २० प्रतिशतमा पाइन्छ । सरकारले नेपालमा औलो उन्मूलन गर्न २०२५ सम्मको दिर्घकालिन रणननिती लिएको छ ।

प्रतिक्रिया दिनुहोस्