दुई नम्बर प्रदेश संवेदनशील : गृहमन्त्री थापा «

दुई नम्बर प्रदेश संवेदनशील : गृहमन्त्री थापा

बारा-गृहमन्त्री रामबहादुर थापा बादलले दुई नम्बर प्रदेश संवेदनशील प्रदेश भएकाले त्यसैअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताएका छन् । दुई नम्बर प्रदेशको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको बुधबार सिमरामा उद्घाटन गर्दै गृहमन्त्री बादलले अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भिरताका साथ अघि बढ्नुपर्ने बताए ।
खुल्ला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद्जस्ता समस्या दुई नम्बर प्रदेशमा बढी देखिने गरेको भन्दै गृहमन्त्री बादलले सुरक्षा गोष्ठीको सुरुवात पनि यसै प्रदेशबाट गरिएको बताए । गोष्ठीले दुई नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको विषयमा महत्वपूर्ण कार्ययोजनासहितको निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।
“यो गोष्ठी महाविद्यालय पनि हो, यहाँ हामी नयाँ परिवेशमा उत्पन्न भएका सुरक्षाको विषयमा गहन छलफल गर्छौं र नयाँ कार्ययोजनासहित सुरक्षा रणनीतिको निष्कर्ष निकाल्छौं,” गृहमन्त्री बादलले भने, “जसले जनताको सुरक्षा, जनतालाई दिइने सेवालाई सहज बनाउन मद्दत गर्छ ।”
देशका सात वटै प्रदेशमा गरिने सुरक्षा गोष्ठीको सुरुवात दुई नम्बर प्रदेशबाट गर्नुमा राजनीतिक अस्थिरता एउटा कारण रहेको गृहमन्त्री थापाले बताए । दुई नम्बर प्रदेशमा राजनीतिक स्थायित्वलाई सुदृढ बनाएर अघि बढ्न अति आवश्यक रहेको भन्दै गृहमन्त्री बादलले यसै गोष्ठीले त्यस विषयमा पनि छलफल गर्ने बताए ।
गृहमन्त्री थापाले देशको समग्र सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न र जनताले पाउने सेवालाई मध्यनजर गर्दै गृह मन्त्रालयले भर्खरै ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेको बताए । गृह मन्त्रालय मातहत रहेका सबै निकायलाई काम गर्न कार्ययोजनाले दिशानिर्देश गर्ने उनको भनाइ थियो । गोष्ठीमा गृहसचिव प्रेमकुमार राई, प्रदेश निमित्त प्रमुख हरि फुयाँल, प्रदेश दुई आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानीरिक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानीरिक्षक शैलेन्द्र खनाललगायत सुरक्षा निकायका उच्च अधिकारी, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलगायतको उपस्थिती रहेको थियो ।
यसअघि सिमरा विमानस्थलमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री बादलले भूमिगत भएर तराईमा अपराधिक गतिविधि गर्ने उन्मुक्ति नपाउने बताएका थिए । पछिल्लो समय तराईमा अपराधका घटना सुनिन थालेको भन्दै गृहमन्त्री बादलले यस विषयमा सरकार गम्भिर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्