विकास र समृद्धिका लागि एकतामा जोड «

विकास र समृद्धिका लागि एकतामा जोड

हेटौंडा-प्रदेश ३ नम्बरका प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकास, समृद्धिको लागि एकजुट हुनुपर्ने बताएकी छन् । मंगलबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कोइरालाले भूकम्पपीडितको समस्या समाधानतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सडक, यातायात, सञ्चार, ऊर्जा विकास र विस्तार, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण, सर्वसुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण, उद्योग र व्यापारको समुचित विकासमा सबैपक्ष एक भएर लाग्न उनले आग्रह गरिन् । “यस प्रदेशलाई महत्वपूर्ण सुरुङमार्गमार्फत् छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टिकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरहरूको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेका बस्तीहरूको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीति लागू गरी भूमिको व्यवस्थापन गर्न जरुरी रहेको छ” कोइरालाले सम्बोधनको क्रममा भनिन् ।
विगतमा अधिकारप्राप्तीको लडाईंमा विभिन्न दल, समूह र सरोकारवालाहरूको तर्फबाट लडे पनि अब त्यो चरण पूरा भएर स्थायित्व, समृद्धि, तीब्र विकास र आपसी एकताको वृद्धिको चरणमा प्रवेश गरेको कोइरालाले स्मरण गराइन् । “कानुनतः दलीय व्यवस्थाले सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहेपनि अबको लक्ष प्राप्तीका लागि विभाजित हुनुपर्ने कुनै अवस्था छैन,” उनले भनिन् ।
३ नम्बर प्रदेशलाई समतामुलक, समाजवाद उन्मुख, पूर्णलोकतान्त्रिक, एकतावद्ध, विकास र समृद्धि प्राप्तिको दिशामा समर्पित हुँदै अगाडि बढाउन जरुरी रहेको उनको भनाइ थियो । कृषि तथा पशुपालनको व्यवसायीकरण, स्वाधीन अर्थतन्त्रको प्रवद्र्धन र बढ्दो ब्यापार घाटाको न्यूनीकरण गर्दै अगाडि बढ्नुपर्नेसमेत उनको सुझाव थियो ।
२०७२ साल वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पबाट पीडित सिंगो प्रदेश अहिले पनि छानामूनी पुग्न नसकेको यथार्थता बोल्दै कोइरालालले सबैलाई छानामुनी लैजान सरकारले उच्च प्राथमिकताको साथ काम गर्नुपर्ने उनको भनाइ थियो । सरकारले दिने राहत पनि करिब ३० प्रतिशतसम्मले आंशिक मात्रामा लिन सकेको भन्दै सबैलाई राहत दिन पनि उनले प्रदेश सरकारलाई आग्रह गरिन् ।
कोइरालाले अन्तरप्रदेश सम्बन्ध, विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्रबीचको साझेदारी, असल कामका अनुभव आदान–प्रदान, विकास र समृद्धिमा सकारात्मक प्रतिस्पर्धा जस्ता विषय विकास यात्राका साधन बन्नुपर्ने बताइन् । “अशान्ति, दमन, भ्रष्टाचार, उत्पीडन र कुनै पनि प्रकारका विभेदको अन्त्य यो प्रदेशको परिचय बनोस भन्ने विश्वास राख्दछुु,” उनले भनिन्, “प्रदेश सभा, सरकार र यसका अंगहरूबीच प्रदेशका समस्या र चुनौतीको सम्बोधन तथा सम्भावना र अवसरहरूको सदुपयोग गर्ने कार्यमा आपसीे तालमेल मिलाउदैं अगाडि बढ्न सक्नुपर्छ ।”
मंगलबार नै बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रमुखको सम्बोधनको प्रति टेबल गरेका थिए भने प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले प्रदेश प्रमुख कोइरालाप्रति धन्यवाद प्रस्ताव राखेका थिए । धन्यवाद प्रस्ताव सर्वसम्मत पारित भएको थियो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सदस्यहरूको मर्यादाक्रम प्रतिनिधि र राष्ट्रिय सभापछि हुने भनी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयसहितको पत्र पढेर सुनाएका थिए । प्रदेशसभा बैठक वैशाख १३ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्