नयाँ वर्षसँगै छाएको सेयर बजारमा उत्साह र आशा «

नयाँ वर्षसँगै छाएको सेयर बजारमा उत्साह र आशा

नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै लगानीकर्ताहरूमा उत्साह छाएको छ । वैशाख २ गतेदेखि नै उकालो लाग्न थालेको सेयर बजारले साताभरि नै निरन्तरता पाइरह्यो । वसन्त ऋतुको हरियालीसँगै सेयर बजारमा छाएको हरियालीले लगानीकर्ताहरू उत्साहित नहुने त कुरै भएन । साताको पहिलो दिन वैशाख २ गते बजार खुल्दा १२७७.५५ अंक रहेको नेप्से त्यस दिन बन्द हुँदा १२८०.१५ अंक अर्थात् २.६ अंकले वृद्धि भएको थियो । त्यस्तै गरी ३, ४, ५ र ६ गते क्रमशः १७.४२, ३३.६१, ३१.८३ र २५.३० अंकले क्रमशः बजार उकालो लागिरह्यो । विगत ६ महिनायताकै सबैभन्दा धेरै कारोबार ५ गते बुधबार २४ लाख ४० हजार १ सय ५ कित्ता सेयरबाट कुल जम्मा रु. १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ कारोबार भयो भने ६ गते बिहीबार पनि १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ३ सय ६१ बराबरको कारोबार भयो । अघिल्लो साता मात्रै सेयर बजार ११०.७६ अंक अर्थात् ८.६७ प्रतिशतले उकालो लागेको छ । २०७४ सालको सुरुवातदेखि नै ओरालो लाग्न थालेको सेयर बजार वर्षभरि नै ओरालो लागिरह्यो, तर २०७५ सालको पहिलो साताभरि नै उकालो दौडिन थालेको सेयर वर्षभरिकै लागि शुभसंकेत हुन सक्छ । उक्त साता केही घटेका भए पनि बिहानीले दिनको संकेत गर्छ भनेझैँ वर्षको सुरुमै बढ्न थालेको सेयर बजारले पनि वर्षभरिलाई नै शुभ संकेत गरेको हुन सक्छ । 

२०७५ साल सेयर बजारको क्षेत्रमा शुभ हुने संकेतले लगानीकर्ताहरूसमक्ष उत्साह र आशा जगाएको भए पनि यसले निरन्तरता पाउला कि नपाउला भनी चिन्तित भएका लगानीकर्ताहरूसमेत देख्न सकिन्छ । चिन्ताको कालो बादललाई चिर्दै लामो समयको अन्तरालपछि सेयर बजारमा आएको सकारात्मक परिवर्तनले उत्साहित लगानीकर्ताहरूको मुहारमा चमक आएको देखिन्छ । सामाजिक सञ्जाललगायतका सोसियल मिडियाहरूमा व्यक्त भएका विचारले पनि यसलाई प्रस्ट्याउ“छ । सबैलाई नै आफूले गरेको लगानीको क्षेत्रमा बहार आएको हेर्ने मन त पक्कै हुन्छ । यसरी निरन्तरको वृद्धिबाट लगानीकर्ताहरू विभिन्न क्षेत्रमा अझ बढी लगानी गर्न उत्साह र आशा जगाएको छ, तर पनि सेयर बजार आफूलाई करेक्सन हुँदा पहिलेको जस्तो आत्तिनुपर्ने अवस्था नआउन पनि सक्छ । साताभरिको संकेतले अब पुनः सेयर बजार चैत १२ गते बनाएको न्यूनतम बिन्दुमा झर्दैन भनी अनुमान गर्ने लगानीकर्ताहरू प्रशस्तै भेटिन्छन् । तेस्रो त्रैमासिक रिपोर्ट आउनुअघि नै सेयर बजारमा सकारात्मक प्रभाव पर्नुले केही शंका गर्ने ठाउ“ भने छ, तर पनि लगानीकर्ताहरूले सोचेअनुसारको रिपोर्ट आएमा सेयर बजारले अझ बढी उचाइ लिन सक्छ । २०७५ साल सेयर बजारका लागि शुभ देखिने केही संकेत अथवा आधारहरू पनि रहेका छन् ।

२०७५ सालमा सेयरबजरमा उछाल आउने आधारहरू
१. सर्वप्रथम लामो समयसम्म भएको राजनीतिक अस्थिरतालाई पन्छाउँदै देशमा आएको राजनीतिक स्थायित्वले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । राजनीतिक स्थायित्वसँगै लगानीको सम्भावना बढ्नुले पनि लगानीकर्ताहरूमाझ आशाको दियो बलेको देखिन्छ, जसको परिणामस्वरूप लगानीमैत्री वातावरण बन्नेछ । आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्नु पनि सेयर बजार बढ्नुको एउटा मुख्य कारण बन्न सक्छ ।
२. यो वर्ष देशभरिकै सबै गाउ“पालिका तथा नगरपालिकामा बैंक तथा वित्तीय संस्थाहरू खुल्नेछन्, जसको कारण ग्रामीण क्षेत्रका सर्वसाधारण जनताको पहु“चमा वित्तीय संस्थाको सेवा पुग्नेछ । यसरी ग्रामीण क्षेत्रका जनताले पनि बैंक खाता खोली बैंकमार्फत सेयर कारोबारका लागि आवश्यक पर्ने डी–म्याट, आस्बा, सी–आस्बा खाता खोली गाउ“घरहरूबाटै आईपीओ तथा एफपीओमा लगानी गरी सेयरको खरिद–बिक्री गर्न सक्नेछन् । यसरी बैंकिङ क्षेत्रमा भएको विस्तारले समेत सेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्छ ।
३. ब्रोकर अफिसको विस्तारले पनि सेयर बजारलाई सकारात्मक प्रभाव पारेको हुन सक्छ, जसको परिणामस्वरूप उपत्यकाबाहिरका जनताले पनि दोस्रो बजारमा प्रवेश गरी सेयर खरिद तथा बिक्री गर्न सक्छन् । यसरी ब्रोकरहरूको कार्यालयको विस्तारले सेयर बजारमा चासो राख्ने उपत्यकाभन्दा बाहिरका लगानीकर्ताहरूलाई समेटेको देखिन्छ, जसबाट लगानीकर्ताहरूको संख्यासमेत बढ्न गई सेयर बजारमा सकारात्मक असर पर्ने देखिन्छ ।
४. सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई मूर्तरूप दिन लगानीयोग्य वातावरण बनाउनुपर्ने देखिन्छ । लगानीयोग्य वातावरणको प्रभावले सेयर बजारलाई उकालो धकेल्न सहयोग पुग्न सक्छ । आर्थिक समृद्धिको दिशामा देशलाई अगाडि बढाउनका लागि नयाँ–नयाँ कम्पनीहरूसमेत सेयर बजारमा प्रवेश गर्नेछन्, जसबाट लगानीकर्ताहरूको संख्या बढ्न गई यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्न सक्छ ।
सेयर बजारमा छाएको वसन्त ऋतुसँगै दीर्घकालीन रूपमा लगानी गर्ने ठूला लगानीकर्ताहरूको संख्यासमेत बढेको अनुमान सेयर बजारमा लगाइएको छ । यसरी सेयर बजारमा लगानी गर्ने सदस्यहरू बढ्नुलाई पनि सेयर बजार बढ्ने एउटा बलियो आधार मान्न सकिन्छ । त्यस्तै गरी संकुचित धारणालाई विस्थापित गरी लगानीकर्ताहरूको विस्तार गर्न सके पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्छ । छोटो समयका लागि लगानी गर्ने लगानीकर्ताभन्दा दीर्घकालीन रूपमा लगानी गर्ने लगानीकर्ताहरूबाट नै सेयर बजारलाई उकालो लगाउन सहयोग पुग्न सक्छ ।
२०७५ सालको सुरुवातले लगानीकर्ताहरूको मुहार खग्रास चन्द्रग्रहणले छोडेपछि चन्द्रमा जस्तो देखिन थालेको छ । लगानीकर्ताहरूमाझ उत्साह र आशाको सञ्चार जगेको देख्न सकिन्छ । विगत एक वर्षदेखि बियरियर ट्रेन्डमा रहेको सेयर बजार एकाएक बुलिर्यस ट्रेन्डमा दौडिन थाल्नुले पनि २०७५ सालमा सेयर बजारले गति लिएसँगै कारोबार रकम बढ्दै गएको छ । यसरी बढिरहेको सेयर बजारमा प्रवेश गरी त्यसबाट फाइदा लिनका लागि भने सेयर बजारसम्बन्धी ज्ञान हुनुचाहिँ आवश्यक छ । हतारमा ज्ञान नलिई प्रवेश गरी फुर्सदमा पछुताउनुभन्दा सेयर बजारका बारेमा विस्तृत जानकारी हुनुुचाहिँ पर्छ । सेयर बजारमा हुन सक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, कस्ता कम्पनीहरूमा लगानी गर्दा बढीभन्दा बढी फाइदा लिन सकिन्छ, त्यस्तै गरी लगानीका क्षेत्रहरू कसरी छनोट गर्ने भन्ने विषयमा आवश्यक अध्ययन गरेर मात्र लगानीका क्षेत्रहरू छनोट गर्नुपर्छ । त्यसैले लगानी गर्दा लगानीकर्ताहरूले हचुवाको भरमा नगरी आवश्यक अध्ययन, ज्ञान र जानकारी लिएर मात्र कम्पनी छनोट गरेर लगानी सुरक्षित हुन सक्छ ।

सरोज बराल

प्रतिक्रिया दिनुहोस्