कृषि सामग्री हस्तान्तरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारीको पकेट क्षेत्र खाँदबारी–४ सेकाहाका किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । सेकाहामा एक कार्यक्रम गरी जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामबहादुर ठाकुरले किसानलाई कृषि सामग्री हस्तान्तरण गरेका हुन् ।
यस वर्ष कृषकलाई परियोजनाअन्तर्गत ५ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । सो रकमबाट प्लास्टिक टनेल, पाईप, बीउ, विषादी, स्प्रे मेसिनलगायतका सामान खरिद गरि हस्तान्तरण गरिएको हो । खाँदबारी नगरपालिका–४ भित्र गठन गरिएका पाँचवटा कृषि समूहको छाता संगठनका रूपमा पञ्चकन्या कृषि समूह दर्ता गरी सोही समूहको मातहतमा सम्पुर्ण कृषि सामग्री प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रबिलाल शर्माले बताए । ।
केही वर्ष अघिदेखि तरकारी बालीको पकेट क्षेत्रको रूपमा सरकारले सहयोग गरेपछि त्यस क्षेत्रका किसानले तरकारी खेतीबाटै मनग्य आम्दानी लिइरहेका छन् । पञ्चकन्या कृषि समूहका अध्यक्ष पवित्रा गुरुङले सेकाहाका किसानले एक टनेलबाट मात्रै एक सिजनमा ३० देखि ५० हजार रुपैयाँसम्म कमाउँदै आएको जानकारी दिइन् ।
खाँदबारी–४ मा एकै किसानले १५ वटा टनेलमा तरकारी खेती गर्दै आएका छन् । तरकारीको पकेट क्षेत्रको रुपमा राज्यले लगानी गरेपछि आम्दानीको प्रमुख स्रोत नै तरकारी खेती भएको खाँदबारी–५ का कृषक दिलकुमार गुरुङले बताए ।