प्राथामिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन «

प्राथामिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन

बाजुरा- बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा विगत तीन हप्तादेखि चिकित्सकविहीन बनेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर विजयकुमार शाह र डाक्टर सत्य शाही बिदा, तालिम र कागजमा बाहिर गएपछि चिकित्कसकविहीन बन्दै गएको छ ।
चिकित्सक नभएपछि तीन सातादेखि अहेबको भरमा स्वास्थ्य संस्था चल्दै आएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र हाल अहेब लोकेन्द्र प्रसाद जैशीको भरमा सञ्चालन हुँदै आएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विजयकुमार शाह चैत १६ गतेदेखि घर बिदा र सामान खरिदको काजमा गएपछि फिर्ता भएका छैनन् भने डा. सत्य शाही भने तालिममा फागुन २३ गते गएका थिए । केन्द्रका प्रमुख घर बिदामा गएको भए पनि उनले जिल्ला स्वास्थ्य कार्यलयमा कुनै जानकारी नगराएको र बिदा स्वीकृत नगरेको जिल्ला स्वास्थ्य प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बताएका छन् ।
दैनिक ६० जनाभन्दा बढी उपचारको लागी आउने गरेकोमा स्वास्थ्य चौकीमा चिकित्सक नहुँदा समस्या भएको निमित्त प्रमुख लोकेन्द्र प्रसाद जैशीले बताए । हुम्ला, बाजुरा र मुगुका बिरामीलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामी मारमा परेको स्वास्थ्यकर्मीले बताएका छन् । चिकित्सक नहुँदा दैनिक ५ जना बिरामीलाई सदरमुकाम मार्तडी, नेपालगञ्जलगायत जिल्ला बाहिर रिफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
जहाजको महँगो भाडा तिरेर नेपालगञ्ज उपचारका लागि जानुपरेको स्थानीयले बताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र बुढिनन्दा नगरपालिकामा रहेको छ । नगरपालिकाका निमित्त कार्यकारी रामदत्त न्याउपानेले डा. विजयकुमार शाहलाई एक हप्ताको सोलार खरिदका लागि काज दिएको तर अहिलेसम्म पनि नआएको र सम्पर्कमा पनि नआएको बताए । त्यस्तै सत्य शाहीलाई पनि तालिमका लागि कागज दिएको र उनी पनि नआएको न्याउपानेले बताए ।
लामो समयसम्म कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामीलाई समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले अनुगमन गरेका छन् । क्षेत्रीका अनुसार चिकित्सक नहुदाँ यो क्षेत्रका बिरामीलाई निकै मारमा परेकोले तत्काल चिकित्सक व्यवस्थाका लागि पहल भइरहेको क्षेत्रीले बताए । साथै प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन अस्तव्यस्त भएको भन्दै नगरपालिकासँग छलफल गरेकोे उनले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बाजुराका उत्तरी क्षेत्रका ४ स्थानिय निकाय, हुम्ला कालिकोट र मुगुका जनतालाई प्रत्यक्ष मारमा परेका छन् ।

पदम सिंह

प्रतिक्रिया दिनुहोस्