मोदीको तीरैतीर «

मोदीको तीरैतीर

एउटै नदीको खोंचमा लगातार ६ दिनसम्म बाहिरी दुनियाँबाट टाढा रहेर एकनासले हिँडिरहने र माइनस १० डिग्री तापक्रमसम्ममा रात गुजार्ने रहर छ ? भनेर कसैले प्रश्न ग¥यो भने जो कोहीलाई पनि उत्तर दिन हम्मे पर्ला । कास्कीको एउटै गाउँपालिका ‘अन्नपूर्ण’को सिरानमा पर्ने अन्नपूर्ण बेसक्याम्प (एबिसी)सम्म पुग्न जो कोहीले पनि एकनासले सुसाइरहेको मोदी नदीको सुस्केरासँगै साँघुरो गोरेटोसहितको उकाली ओरालीमा अभ्यस्त हुनैपर्छ । अन्यत्रको यात्रामा जस्तो न गाउँलेका जीवनशैली हेरेर मन भुलाउन सकिने अवस्था छ, न त आधुनिक र सुविधासम्पन्न लज रिसोर्टमा आराम गर्ने सुविधा । जे पाइन्छ, त्यही खानु र चिसो बिछ्यौनालाई आफ्नै शरीरले तताएर जबर्जस्ती निदाउनुपर्ने यो यात्राको बाध्यता हो । अर्कोतर्फ, माछामासुका सौखिनले पनि कम्तिमा ३ दिन शाकाहारी बन्नैपर्छ ।
पदयात्रा (ट्रेकिङ) आफैंमा सजिलो कर्म पक्कै होइन । आफ्नो बन्दोबस्तीका सामानसहित पहाडी र आंशिक हिमाली भेगको यात्रामा पोखराबाट निस्केको ३ दिनमा बल्ल गन्तव्यमा पुगिन्छ– एबिसी । अन्नपूर्ण आधार शिविरको अंग्रेजी रूपान्तरण अन्नपूर्ण बेसक्याम्प अचेल संक्षेपीकरण भएर एबिसीका नामले चर्चित छ । नामजस्तै यात्रा पनि छोट्टिँदै गएको छ । पहिले कास्कीको नयाँ पुलबाट सुरु हुने यात्रा हिजोआज बिरेठाँटीबाट सुरु हुन्छ । बिरेठाँटीसम्म सार्वजनिक बस नै चल्न थालेपछि नयाँ पुलबाटै हिँड्ने पर्यटकको सास्ती गाडीबाटै देख्न सकिन्छ । डोजरले खनेको पहाडी बाटो, त्यसमा पनि गाडीको अत्यधिक चाप भएपछि सोही सडकको किनारैकिनार पदयात्रा गर्ने पर्यटकहरू बिरेठाँटी पुग्दै धुलोले नचिनिने भइसकेका हुन्छन् ।

जब पदयात्रा सुरु हुन्छ…
अन्नपूर्ण आधार शिविरतर्फको यात्रा बिरेठाँटीबाट सुरु हुन्छ । बिरेठाँटीबाट घान्द्रुक हुँदै जाने कि सिधै जाने रोजाइ तपाईंकै । एक दिन घान्द्रुकको रमाइलोमा भुलेर भोलिपल्टदेखि पदयात्रा सुरु गर्ने हो भने घान्द्रुकसम्म गाडीमै पनि जान सकिन्छ । घान्द्रुकबाट बाटो लामो पर्ने भएकाले सिवाई, क्युमी, न्यू ब्रिज, झिनु हुँदै छोम्रोङसम्म एकै दिनमा पुग्न सकिन्छ । झिनुबाट छोम्रोङ नजिकै देखिए पनि ठाडै उकालो भएका कारण डेढ घन्टासम्म लाग्न सक्छ । छोम्रोङ यात्राकै सबैभन्दा रमाइलो स्थान हो भन्दा फरक पर्दैन । घान्द्रुकबाट पदयात्रा सुरु गर्नेहरू पनि छोम्रोङकै बाटो भएर जानुपर्ने अवस्था छ । छोम्रोङमा दर्जन बढी होटल छन् । बिहान उठ्नेबित्तिकै एकातर्फ माछापुच्छ«े र अर्कोतर्फ अन्नपूर्णको भ्यू देख्न सकिने छोम्रोङका बारीहरूमा अग्ला थाँक्रामा लहलह सिमी फलेको दृश्य पनि देख्न सकिन्छ ।
छोम्रोङबाट आधा घन्टा ओरालो हिँडेर पुल तर्दै फेरि उकालो चढ्र्नुपर्छ, जहाँ यो यात्राको अन्तिम बस्ती भेटाउन सकिन्छ । चित्राले छाएको झुपडीमा चलाइएको मन्टेश्वरी स्कुल होस् वा बारिभरी फलेका टमाटर नै किन नहुन्, उच्च पहाडी भेगमा फलेका तरकारीले पनि सबैको मन लोभ्याउँछ । फेरि उकालो नै चढेर तल्लो सिनुवा र माथिल्लो सिनुवामा पुगेर फर्केर हेर्दा भने आफैं हिँडेको बाटो देखेर अत्यास लाग्छ । हेर्दा नजिकै तर २ घन्टासम्म उकाली ओराली हिँडेर थकित मनले भन्छ— एउटा सिधा पुल भइदिएको भए १० मिनेटमा वारपार गरिन्थ्यो । तर, पदयात्राको मजा नै यसैमा छ । सिनुवाबाट माथि गएपछि भने माछामासु प्रतिबन्धित छ । जीवित पशु पनि लैजान पाइँदैन भने पर्यटकका लागि अण्डासम्म लैजान छुट छ ।
सिनुवाबाट माथि गएपछि भने सीमित स्थानमा सीमित होटलमात्रै भएकाले खानपान र बास बस्ने स्थान छनोटमा ध्यान दिनु जरुरी छ । यात्राको दोस्रो दिन भएकाले यस दिन बास बस्नैपर्ने हुन्छ । यस दिन धेरै हिँड्न सक्नेले माछापुच्छ«े आधार शिविर (एमबिसी)सम्म पुग्न सके पनि सामान्य हिँडाइले भने त्यो सम्भव देखिँदैन । सिनुवाबाट ब्याम्बोसम्म पुग्न सामान्यतया २ घन्टा लाग्छ । जंगलैभर सानो बाँस (निगालो) मात्र देख्न सकिने भएकैले यस क्षेत्रको नाम पर्यटकका लागि बुझ्न सजिलो होस् भनेरै ब्याम्बो राखिएको स्थानीय बताउँछन् । ब्याम्बोमा खाना खाएर अघि बढ्दा दोभान भन्ने स्थानमा १ घन्टामा पुगिन्छ भने त्यहाँबाट डेढ घन्टामा हिमालय र अर्को २ घन्टामा देउराली पुग्न सकिन्छ । दोस्रो दिनको यात्रा हिमालय वा देउरालीमै टुंग्याउँदा उपयुक्त हुन्छ । भोलिपल्ट सबेरै हिँड्ने हो भने देउरालीबाट एमबिसी २ घन्टामा र एमबिसीबाट २ घन्टामा सामान्य हिँडाइले पनि एबिसी अर्थात् यात्राको गन्तव्य पुग्न सकिन्छ ।

एबिसी अर्थात् स्वर्गको टुक्रा
अन्नपूर्ण आधार शिविरको सुन्दरता साँझमा भन्दा बिहानीपख राम्रो देखिने बताउँछन् स्थानीय । अधिकांश समय माइनसमा हुने तापक्रम तर हँसिला मान्छेहरूको रसिलो व्यवहारले जाडोको अनुभव नै हुँदैन । एबिसीमा रहेको ३ होटलमा सीमित कोठा छन् तर पर्यटकको आतिथ्यतामा होटलका डाइनिङ रुमसम्ममा उनीहरूले व्यवस्थापन गरिरहेकै हुन्छन् । एबिसीमा रात बिताउनेहरू बिहान ३ नबज्दै उठिसकेका हुन्छन् भने एमबिसीमा बस्नेहरू पनि ५ बजे नै एबिसी पुगिसकेका हुन्छन् । हिमालको टुप्पोमा लागेको घाम क्रमशः तल आउँदै गर्दा देखिने दृश्यलाई प्रत्यक्ष देख्नेहरू स्वर्ग पुगेको अनुभव गर्छन् र एउटै दृश्यले तीन दिनको पीडादायी यात्रा बिर्साइदिन्छ । चारैतिर नजिकैबाट देखिने हिमाललाई क्यामेरामा कैद गर्ने, सेल्फी र ग्रुप फोटो खिच्नेमात्र नभई भिडियोमा समेत कैद गर्नेहरूको मेलै लागेको हुन्छ । बिहानै पोखराबाट आइपुग्ने हेलिकप्टरबाट झर्ने पर्यटक त यहाँको सौन्दर्य देखेर अक्क न बक्क हुन्छन् । एबिसीबाट अन्नपूर्ण साउथ, माछापुच्छ«े र हिमचुली नजिकै देखिन्छ भने चारैतिर हिमालले घेरिएको उपत्यकाजस्तै छ एबिसी । जीवनमा तस्बिरमा मात्र अथवा टाढाबाट मात्र हिमाल देखेकाहरूले त पागलजस्तै व्यवहार गर्ने स्थानीय होटल सञ्चालकको अनुभव छ ।

बढ्दै नेपाली पदयात्री
पदयात्रा भन्नेबित्तिकै गोरा छाला भएकाले मात्र गर्ने भन्ने मान्यता विस्थापित हुँदैछ । पछिल्ला वर्षहरूमा नेपाली पदयात्रीको संख्या देखेर स्थानीयमात्र नभई सरकारी अधिकारीहरू पनि चकित छन् । विगतमा नगण्य संख्याका कारण नेपालीको तथ्यांक नराखिए पनि यस वर्ष तीन महिनामा १ हजार ६ सय १७ नेपालीले पदयात्रा सम्पन्न गरिसकेको छोम्रोङस्थित जाँच चौकी तथा सूचना केन्द्रका इञ्चार्ज नेत्र शर्माले बताए । उनका अनुसार नेपाली पदयात्रीसमेत बढेपछि यस क्षेत्रका पूर्वाधारहरू साँघुरिएको महसुस हुन थालेको छ । सरकारले विशेष निर्णय गरेर भए पनि थप पूर्वाधार निर्माण प्रक्रिया खुकुलो बनाउनुपर्ने उनको राय छ । हाल अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र कुनै पनि पूर्वाधार आफूखुसी निर्माण गर्न पाइँदैन । न्यू छोम्रोङ गेष्ट हाउसका सञ्चालक राजकुमार गुरुङ नेपाली पदयात्रीको संख्या बढे पनि विदेशीजस्तो अनुशासित हुन नसकेको गुनासो गर्छन् । “नेपालीको आउने जाने समयको कुनै ठेगान नै हुँदैन,” गुरुङ भन्छन्, “बिहान अबेरसम्म सुत्ने र ढिलो हिँडेर ढिलै गन्तव्यमा पुग्ने उनीहरूको बानीले होटलहरूलाई पनि व्यवस्थापनमा समस्या भइरहेको छ, हामी चाँडै सुत्नुपर्ने मान्छे अबेरसम्म नेपाली पाहुनालाई कुरिरहरनु पर्ने अवस्था छ ।”

प्रतिक्रिया दिनुहोस्