Logo

धेरै बिक्री हुने १५ कार

अहिले सवारी प्रयोगकर्तालाई कुन वर्गको सवारी मन पराउनुहुन्छ भनेर सोध्ने हो भने अधिकांशको जवाफ हुन्छ– एसयूभी वा क्रसओभर युटिलिटी सवारी । यो वर्गको सवारी विलासीका सथै पारिवारिकसमेत भएकाले विश्वभर युटिलिटी भेइकलको माग तथा बिक्री बढ्दै गइरहेको छ ।
सन् २०१७ मा विश्वभर एसयूभी (स्पोर्टस् युटिलिटी भेइकल) सेगमेन्टका सवारीको बिक्री १२ प्रतिशतले वृद्धि भएको थियो जबकि समग्र सवारीको बिक्री वृद्धि ३ प्रतिशतमात्र रहेको छ । त्यस्तै, परम्परागत कारको बिक्री भने २ प्रतिशतले गिरावट आएको फोब्र्सले उल्लेख गरेको छ । सन् २०१३ यताको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने एसयूभी सेगमेन्टका सवारीको बिक्री ८७ प्रतिशतले बढेको र कारको बिक्री ८ प्रतिशतले गिरावट आएको देखिन्छ ।
यद्यपि विश्वको सर्वाधिक बिक्री हुने कारको सूचीमा २०१७ मा पनि टोयोटाको कोरोला नै रहेको छ । टोयोटा कोरोला कार सदाबाहार सर्वाधिक बिक्री हुने कारको सूचीमा अग्र स्थानमा रहन सफल भएको छ । सन् १९६६ देखि उत्पादन सुरु भएको यो कार २०१७ सम्ममा ४ करोड ३० लाख वटा बिक्री भइसकेको छ । टोयोटाको कोरोला कार विश्वभर रहेका १६ वटा प्लान्टबाट उत्पादन हुँदै आएको छ । फोब्र्सका अनुसार २०१७ मा विश्वभर धेरै बिक्री हुने कार यी हुन् ।


१. टोयोटा कोरोला

जापानी कार उत्पादक कम्पनी टोयोटाको सेडान सेगमेन्टको कार कोरोला २०१७ मा पनि सर्वाधिक बिक्री हुने कारको सूचीमा पहिलो नम्बरमै रहेको छ । उत्पादन भएयता टोयोटा कोरोलाले यो स्थानमा अन्य कारलाई आउन दिएको छैन । २०१७ मा विश्वभर ११ लाख ६० हजार ४ सय ९५ वटा कोरोला बिक्री भएको थियो । टोयोटा कोरोला कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ । विगतमा कार भनेकै कोरोला हो भन्ने मान्यता थियो तर हिजोआज भने कोरोलाको बजार हिस्सा खासै छैन ।

२. होन्डा सिभिक
होन्डाको सिभिक कार विश्वमा दोस्रो धेरै बिक्री हुने कारका रूपमा रह्यो २०१७ मा । जापानी कार निर्माता कम्पनी होन्डाको सिभिक गत वर्ष विश्वभर ८ लाख ३३ हजार १७ वटा बिकेको थियो । यो कार नेपाली बजारमा पनि उपलब्ध रहेको छ ।

३. फक्सवागन गल्फ
जर्मन कार निर्माता कम्पनी फक्सवागनको गल्फ २०१७ मा तेस्रो धेरै बिक्री हुने कार बनेको छ । २०१७ मा फक्सवागन गल्फ विश्वभर ७ लाख ८८ हजार ४४ वटा बिकेको थियो । फक्सवागनका विभिन्न मोडलका कार नेपाली बजारमा उपलब्ध भए पनि गल्फ भने आएको छैन ।

४. टोयोटा -याभफोर
विश्वका धेरै बिक्री धेरै बिक्री हुने १५ कारहरूको सूचीमा पर्ने टोयोटा कम्पनीको दोस्रो गाडीको -याभफोर । यो कार विश्वभर २०१७ मा ७ लाख ८६ हजार ५ सय ८० वटा बिक्री भएको थियो । टोयोटा -याभफोर २०१७ मा अमेरिकामा सबैभन्दा धेरै बिक्री हुने स्पोर्टस् युटिलिटी भेइकल समेत हो । -याभफोर नेपाली बजारमा समेत निक्कै लोकप्रिय रहेको छ ।  

५. होन्डा सीआर–भी
होन्डा सीआर–भी धेरै बिक्री हुने कार सूचीमा पाँचौं स्थानमा रहेको छ । यो सूचीमा पर्ने होन्डा कारमा सीआर–भी दोस्रो कार हो र २०१७ मा होन्डा सीआर–भी विश्वभर ७ लाख ५३ हजार ३ सय ५९ वटा बिक्री भएको थियो । होन्डा सीआर–भी पनि नेपाली बजारमा उपलब्ध रहेको छ ।

६. फोर्ड एफ–सिरिज लाइट–ड्युटी
अमेरिकी कार उत्पादन कम्पनी फोर्डको एफ–सिरिज लाइट–ड्यूटी २०१७ को धेरै बिक्री हुने कारको सूचीमा छैटौं स्थानमा रहेको छ । पिकअप सेगमेन्टको यो गाडी गत वर्ष विश्वभर ७ लाख ३० हजार ५ सय ९६ वटा बिक्री भएको थियो । फोर्डको यो पिकअप नेपाली बजारमा भने आएको छैन ।

७. फोर्ड फोकस
अमेरिकी कार उत्पादक फोर्डकै कार सर्वाधिक बिक्री हुने १० कारको सूचीमा सातौं स्थानमा समेत आएको छ । फोर्डको फोकस २०१७ मा सातौं धेरै बिक्री हुने कार बन्न सफल भएको छ । यो कार गत वर्ष ६ लाख ५६ हजार ७१ वटा बिक्री भएको थियो । फोर्डको फोकस पनि नेपाली बजारमा आएको छैन ।

८. फोर्ड स्केप
फोर्ड कम्पनीकै स्केप धेरै बिक्री हुने १० कारको सूचीमा आठौं स्थानमा रहेको छ । यो गाडी २०१७ मा विश्वभर ६ लाख ३२ हजार ५ सय २९ वटा बिक्री भएको थियो । फोर्डको स्केप पनि नेपालमा आएको छैन ।

९. फक्सवागन पोलो
जर्मन कार निर्माता कम्पनी फक्सवागनको पोलो धेरै बिक्री हुने कारको सूचीमा नवौं स्थानमा रहेको छ । फक्सवागनको पोलो २०१७ मा विश्वभर ६ लाख १४ हजार ८ सय २७ वटा बिक्री भएको थियो । यो कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ ।

१०. टोयोटा क्याम्री
धेरै बिक्री हुने कारको सूचीमा टोयोटोको अर्को कार क्याम्री पनि रहेको छ । २०१७ मा विश्वभर ५ लाख ६९ हजार ७ सय ६० वटा क्याम्री बिक्री भएको थियो । टोयोटाको क्याम्री नेपाली बजारमा भने उपलब्ध छैन ।

११. यूलिङ हाङ गुआङ
चिनियाँ कार पनि विश्वको सर्वाधिक बिक्री हुने कारको सूचीमा एघारौं स्थामा रहेको छ । यूलिङ कम्पनीको हाङ गुआङका २०१७ मा विश्वभर ५ लाख ३४ हजार २ सय ५१ वटा बिक्री भएको छ । यो गाडी भने नेपाली बजारमा उपलब्ध छैन ।

१२. निसान क्वासकइ
जापानी कार निर्माता कम्पनी निसानको क्वासकइ पनि धेरे बिक्री हुने कारको सूचीमा १२औं नंबरमा रहेको छ । २०१७ मा निसानको यो गाडी ५ लाख २६ हजार ९ सय ७० वटा बिक्री भएको छ । निसानको यो कार पनि नेपाली बजारमा आएको छैन ।

१३. होन्डा एकर्ड
जापानी कार कम्पनी होन्डाको एकर्ड पनि धेरै बिक्री हुने कारको सूचीमा १३औं स्थानमा रहेको छ । होन्डाको एकर्ड २०१७ मा विश्वभर ५ लाख २४ हजार ९ सय १४ वटा बिकेको थियो । होन्डाको एकर्ड सिमित संख्यामा नेपालमा भित्रिएको छ ।

१४. टोयोटा यारिस ह्याचब्याक
टोयोटाको यारिस ह्याचब्याक कार पनि धेरै बिक्री हुने कारको सूचीमा १४औं स्थानमा पर्ने सफल भएको छ । टोयोटा यारिस सोडान तथा ह्याचब्याक दुवै सेगमेन्टमा उपलब्ध रहेको छ । यारिस ह्याचब्याक भने २०१७ मा विश्वभर ५ लाख १८ हजार ७ सय ३६ वटा बिकेको थियो । टोयोटा यारिस सेडान नेपालमा आएको भएपनि ह्याचब्याक सेगमेन्टमा भने उपलब्ध छैन ।

१५. फक्सवागन लाभिदा
फक्सवागनको लाभिदा कार २०१७ मा विश्वभर ५ लाख १४ हजार ५ सय ८९ वटा बिक्री भएको थियो । यो कार धेरै बिक्री हुने सूचीमा १५ औं स्थानमा रहेको छ । फक्सवागन लाभिदा नेपाली बजारमा भने उपलब्ध भएको छैन ।

प्रतिक्रिया दिनुहोस्