दूध बिक्रीबाटै जीविकोपार्जन «

दूध बिक्रीबाटै जीविकोपार्जन

सन्धिखर्क-अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बागीका एक किसानले गाउँमा दूध संकलन गरेर बिक्री गर्दै राम्रो आम्दानी गर्न थालेका छन् । गाउँका किसानले उत्पादन गरेको दूध संकलन गरेर बजारमा पुर्याइ बिक्री गरेर पुरानाराम भुसालले राम्रो आम्दानी गरेका हुन् ।
किसान भुसालले दूध बिक्रीसँगै तरकारी खेतीसमेत गरेका छन् । उनी बिहान उठेदेखि नै घरघरमा पुगेर दूध संकलन गरी बजारमा पुर्याएर बिक्री गर्ने गर्छन् । दूधसँगै आफूले उत्पादन गरेको तरकारीसमेत उनले बिक्री गर्ने गरेका छन् । दैनिक १ सय ५० लिटर दूध संकलन गरेर सदरमुकाम सन्धिखर्कमा बिक्री गर्ने गरेको उनले बताए ।
लालीगुराँस भैंसीपालन फर्मसमेत सञ्चालन गरेका भुसालले बेमौसमी आलु, गोभी, बन्दा, धनियाँ, सागलगायतका तरकारी घरघरमै पुगेर बिक्री गर्ने गर्छन् । स्थानीय बासिन्दा पनि उनले बिक्री गर्न ल्याएको तरकारी निकै स्वस्थ हुने बताउँछन् । यसबाटै उनले मासिक ३० हजार रुपैयाँसम्म आम्दान गर्ने गरेका छन् ।
घरको आर्थिक अवस्था कमजोर हुँदा २६ वर्षसम्म भारतमा बसेर आएका भुसालले अब गाउँमै कृषिकर्म गर्ने उद्देश्यसहित दूध बिक्री र तरकारी उत्पादन सुरु गरेका हुन् । आफूले गरेको मेहनतअनुसारको आम्दानी हात लागेपछि उनी अहिले निकै खुसी भएका छन् । उनले गाउँमा पशुपालन तथा तरकारी खेती गर्न युवाहरूलाई सुझावसमेत दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्