माओवादी अध्यक्ष दाहाललाई पुत्र शोक «

माओवादी अध्यक्ष दाहाललाई पुत्र शोक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुत्र शोक परेको छ । दाहालका एक्ला छोरा प्रकाश दाहालको अल्पायुमै आइतबार बिहान निधन भएको हो ।
लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा भेटिएपछि उनलाई नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनुअघि नै उनको निधन भइसकेको अस्पतालले जनाएको छ । बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पु¥याइए पनि परीक्षण गर्दा मृत पाइएको भन्दै त्यसको ९ मिनेटपछि अर्थात् बिहान ५ बजेर ५९ मिनेटमा उनको निधन भएको घोषणा गरिएको थियो । ।
दाहालले आफ्ना छोरा प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिए । छोराको अन्तिम विदाइमा दाहाल निकै भावुक देखिएका थिए । श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । आफ्ना बुबाको नेतृत्वमा सुरु भएको माओवादी युद्धमा प्रकाश पनि सहभागी थिए । उनले पछिल्लो समय दाहालको सचिवालय सम्हालिरहेका थिए । प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिन माओवादी, कांग्रेस, एमाले, नयाँ शक्तिलगायतका विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधारण पशुपति आर्यघाट पुगेका थिए । प्रकाशको निधनमा राष्ट्रपति, विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
नर्भिक अस्पतालले दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका मृटुरोग विशेषज्ञ डा. जेपी जैसवालल अचेत अवस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उनको मृत्यु भएकोे जानकारी दिए ।
उनले भने, “अस्पताल ल्याउँदा नै उहाँको हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको नौ मिनेटमै हामीले उहाँको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौँ । अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उनी पूर्णतया बेहोश, हातखुट्टा पूरै नीलो र कडा, श्वासप्रश्वास पूर्णतया बन्द, शरीर पूरै चिसो, इसिजी गर्दा मुटुले गतिविधि नगरेको हुँदा बिहान ५ बजेर ५९ मिनेटमा मृत घोषणा गरिएको थियो ।”
उनको उपचारमा डा. जैसवाल, डा. यादव भट्टसहित, डा. रवीन्द्रप्रसाद यादव, डा. विमलेश श्रेष्ठ र डा. महेश यादवलगायत संलग्न थिए ।
पुत्रको निधन खबर पाएपछि चुनावी अभियानमा झापामा रहेका अध्यक्ष दाहाल हेलिकप्टरमार्फत काठमाडौँ आएका थिए ।
छोराको मृत्युपछि शोकमा डुबेकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा. यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको थियो ।
श्रीमान्को मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुगेकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत भएपछि उनको पनि नर्भिककै आकस्मिक कक्षमा स्लाइन दिई उपचार भइरहेको अस्पतालले जनाएको छ ।
नेता दाहाल काठमाडौं पुगी निवास लाजिम्पाट पुगेर बिहान ११ बजेर ३० मिनेटमा अस्पताल आएका थिए । उनीसँगै पुत्री तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल पनि सँगै अस्पताल पुगेकी थिइन् ।
वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेकी प्रकाशकी पत्नी विना मगर पनि शोकाकुल अवस्थामा अस्पताल पुगेकी थिइन् ।
शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका प्रकाश चुनावी अभियानका क्रममा चितवनबाट शनिबार काठमाडौँ आएको बताइएको छ ।
डा. जैसवालले भने, “उहाँलाई आकस्मिक हृदयाघात भएको हो, किनकि उहाँको शरीर हेर्दा राम्रो छ, केही सेवन गरेको देखिएन, धेरैजसो युवामा आकस्मिक हृदयाघात देखिन्छ । वंशाणुगत पनि हुन्छ, ९९ प्रतिशत यही कारण मृत्यु भएको हुनसक्छ ।”
अन्य एक प्रतिशतमा मस्तिष्क आघातको कारण हुन सक्ने चिकित्सकले बताएका छन् । आकस्मिक हृदयाघातका कारण हिँड्दाहिँड्दै छाती दुख्ने र तुरुन्त ज्यान जान सक्ने डा. जैसवालले बताए ।

प्रतिक्रिया दिनुहोस्