Logo

स्थानीय तहमा पेस्की तथा बेरुजु बढ्दो

बर्दिया-बर्दियाका स्थानीय तहमा पेस्की तथा बेरुजु बढ्दै गएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखाले गत चैत अन्तिममा सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनअनुसार जिल्लाका आठवटै स्थानीय तह र साविकका गाविसका नाममा पेस्की तथा बेरुजु बढ्दै गए पनि फछ्र्यौटतर्फ ध्यान दिइएको छैन ।
स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम ७७ (३) मा पेस्कीसम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार गुलरिया नगरपालिकाले विभिन्न व्यक्ति तथा संस्थालाई यसवर्ष २ करोड ६४ लाख २९ हजार ६ सय पेस्की दिएकोमा फछ्र्यौट भएको छैन भने गतवर्ष दिएको २४ लाख २८ हजार ५ सय १० समेत कुल २ करोड ८८ लाख ५८ हजार १ सय १० फछ्र्यौट हुन बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विगत वर्षदेखि नै कर्मचारीले विभिन्न बहनामा पेस्की रकम लिने तर फछ्र्यौट नगर्ने गरे पनि नगरपालिकाले कुनै कारबाही गरेको छैन ।
त्यस्तै गत असारमा सामाजिक सुरक्षा भक्ताको १ करोड २० लाख रुपैयाँ बैंक खातामा जम्मा नगरी पेस्की दिएको छ । सो रकम तत्कालै फछ्र्यौट गर्न महालेखाले सुझाव दिएको छ ।
त्यस्तै यो वर्ष नगरपालिकाको लेखापरीक्षणबाट १ करोड ७६ लाख ४ हजार रुपैयाँ बेरुजु देखिएको छ । उता बाँसगढी नगरपालिकाको गत माघ २६ गतेसम्म २ करोड ४४ लाख ३३ हजार १९८ पेस्की फछ्यौट भएको छैन भने २ करोड ८३ लाख ९२ हजार बेरुजू देखिएकाले महालेखाले पेस्की फछ्र्यौट तथा बेरुजू सम्परीक्षण गर्न सुझाव दिएको छ ।
त्यसैगरी राजापुर नगरपालिकाको लेखापरीक्षणबाट ७२ लाख २ हजार बेरुजु देखिएको छ । प्रारम्भिक प्रतिवेदनका क्रममा ३ लाख ४७ हजार बेरुजू फछ्र्यौट भए पनि ६८ लाख ५५ हजार फछ्र्यौट गर्न बाँकी रहेको छ भने साविकको खैरीचन्दनपुर गाविसले विभिन्न व्यक्ति तथा संस्थालाई २६ लाख ९२ हजार पेस्की दिएकोमा राजश्व दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाको ठाकुरबाबा नगरपालिकाको २५ लाख ६४ हजार बेरुजू देखिएको छ भने विभिन्न व्यक्ति तथा संस्थालाई दिएको २४ लाख ३९ हजार पेस्की फछ्र्यौट गर्न बाँकी रहेको छ । त्यस्तै मधुवन नगरपालिकामा १४ लाख ४२ हजार बेरुजु रहेको महालेखाले जनाएको छ ।
महालेखाका अनुसार बढैयाताल गाउँपालिकाको लेखापरीक्षणबाट ४४ लाख ९८ हजार बेरुजू देखिएको छ भने पेस्की बाँकी ६ लाख ७५ हजार रहेको छ । त्यसैगरी बारबर्दिया नगरपालिकाको २८ लाख ३३ हजार बेरुजू देखिएको छ ।
प्रतिवेदन अनुसार गेरुवा गाउँपालिकाको ६६ लाख २८ हजार बेरुजु देखिएको छ भने पेस्की १३ लाख ४२ हजार ५ सय ६४ रहेको छ । सो मध्य भागिराम चौधरीले ७ लाख ५५ हजार ८८ रुपैयाा सामाजिक सुरक्षाभत्ता वितरण गर्न लिएको पेस्की सम्बन्धित व्यक्तिलाई पनि नबुझाएकोमा महालेखाको प्रारम्भिक प्रतिवेदनपछि भर्खरै सो रकम असुलउपर गरिएको गाउँपालिकाले जनाएको छ ।

लक्ष्मण ढुंगाना

प्रतिक्रिया दिनुहोस्