अब ढोरपाटनमा टेलिकमको जीएसएम सेवा «

अब ढोरपाटनमा टेलिकमको जीएसएम सेवा

नेपाल टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । आइतबारबाट ढोरपाटन नगरपालिका–९ मा स्थापित बीटीएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा आएको हो । बाग्लुङ सदरमुकामदेखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाइमा अवस्थित छ । अब यो सेवाबाट त्यस स्थानका करिब ५ सय जति घरधुरीका बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटकहरू लाभान्वित हुनेछन् । बागलुङ जिल्लामा रहेको सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको सुरक्षाका लागि समेत यो सेवाले सहयोग गर्नेछ ।
त्यसैगरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धोमा भि–स्याट प्रविधि मार्फत जीएसएम मोबाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाउँपालिका धोमा स्थापित बीटीएसबाट त्यस स्थानका करिब २ हजार बासिन्दाहरू तथा यस क्षेत्रमा आउने पर्यटकहरू लाभान्वित हुनेछन् । यो दुनै सदरमुकामदेखि करिब ३ दिनको पैदल दूरीमा अवस्थित छ । स्थानीय बासिन्दाहरूले अब त्यस क्षेत्रमा पनि सहज सञ्चार सुविधाबाट पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्