Logo

ई–सेवामार्फत विद्युत् बिल भुक्तानी

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ई–सेवामार्फत विद्युत्को बिल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । केन्द्रले यसै सातवाट मोबाइलको एप्लीकेसनमार्फत विद्युत्को बिल भुक्तानी गर्न सक्ने व्यवस्था सुरु गरेको हो ।
ई–सेवा सुरु भएसँगै बिल तिर्नका लागि घण्टौं समय लगाएर सदरमुकाम आउने र घण्टौंको लाइन बस्नुपर्ने बाध्याताको अन्त्य हुने केन्द्रको विश्वास छ । प्रविधिका बारेमा जानकारी भएका ग्राहकहरूले अब मोबाइलको एप्लीकेसनमार्फत विद्युत्को बिल भुक्तानी गर्न सक्ने व्यवस्था सुरु गरिएको केन्द्रले जनाएको छ । ई–सेवा प्रयोगकर्ता ग्राहकले आफ्नो बिलको आईडी नम्बर राखेर मोबाइलमा रहेको ई–सेवा एप्लीकेसनमार्फत सिधै बिल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको वितरण केन्द्र बागलुङका लेखा अधिकृत गेभेन्द्र लम्सालले जानकारी दिए । “दूरदराजका ग्राहकको हितलाई मध्येनजर गर्दै हामीले विद्युतीय भुक्तानी सेवा सुरु गरेका हौं,” लम्सालले भने, “लामो बाटो हिँडेर बितरण केन्द्र आउनुपर्ने बाध्यताबाट अव ग्राहकहरू मुक्त हुनुभएको छ ।” मोबाइल तथा कम्प्युटरमा ई–सेवा एप्लीकेसन सुरक्षण गर्ने र सोही एप्लीकेसनमार्फत विद्युत्को बिल भुक्तानी गर्न सकिने लम्सालले बताए ।
ई–सेवा सञ्चालनको लागि भने ग्राहकको ई–सेवामा रकम पठाउन मिल्ने बैंकहरूमा खाता खुलेको हुन जरुरी छ । यो सेवाले मोबाइल तथा कम्प्युटरमा एप्लीकेसन चलाउन नजान्ने ग्राहकले समेत आफन्त तथा साथीभाइको सहयोगमा लिन सक्ने लम्सालले बताए । “अहिले बाबुआमा गाउँमा र छोराछोरी पढ्न तथा रोजगारीका लागि सहरमा बस्ने चलन छ,” लम्सालले भने, “गाउँमा भएका बाआमाले बजारमा भएका छोराछोरीलाई ई–सेवाको प्रयोग गरेर भुक्तानी गर्न लगाउन सक्छन् ।” ई–सेवामार्फत बिलको भुक्तानी गर्दा नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरूबाट प्राप्त हुने भुक्तानी रसिद जस्तै रसिद प्राप्त हुने र बिल भुक्तानी भएको निश्चित गर्न सकिने लम्सालले बताए । “हामीले मिटर रिडिङ भएको सात दिनभित्र भुक्तानी गर्न आउने ग्राहकलाई तीन प्रतिशतसम्म छुट दिन पाउने व्यवस्था छ,” उनले भने, “समयको व्यवस्थापन गर्न नसक्दा समयमा बिल तिर्न नभ्याउने ग्राहकलाई समेत यो सेवाले राहत प्रदान गर्ने छ ।” घुम्ती शिविर तथा सिधै कर्यालयमार्फत विद्युत्को बिल भुक्तानी लिँदै आएको कार्यालयले ई–सेवामार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेपछि ग्राहक र प्राधिकरणका कर्मचारी सबैलाई राहत हुने विश्वास लिएको छ ।
ई–सेवामार्फत बिलको रकम सीधा कार्यालयको खातामा जाने भएकाले कर्मचारीलाई कामको लोड कम हुने र पैसाको सुरक्षाको समेत कुने चिन्ता नहुने उनले बताए । ई–सेवाको प्रयोगका लागि इन्टरनेटको सहज पहुँच र ई–सेवा खातामा पैसा हुन आवश्यक छ । ई–सेवामा प्राप्त सञ्चिति भएका ग्राहकहरूले आफ्नो र अन्य ग्राहकरुको समेत भुक्तानी गर्न सक्ने कार्यालयले जनाएको छ । समयको बचत, जोखिम कम र सरल भुक्तानी तथा बिल भुक्तानीकै शिलशिलामा हुने अन्य खर्चहरूसमेत कम भएर जाने कार्यालयले जनाएको छ । वितरण केन्द्रका अनुसार, हाल जिल्लामा २७ हजारभन्दा धेरै नेपाल बिद्युत प्राधिकरणका ग्राहक छन् भने महिनामा १० लाख युनिट प्रतिघण्टा विद्युत् खपत हुने गरेको छ । महिनाको १ करोडभन्दा धेरै राजस्व संकलन हुने कार्यालयमा ई–सेवामार्फत भुक्तानी सुरु हुँदा दैनिक चाप घट्ने बताईएको छ ।
त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्