अन्तिम दिनको बैठक रोचक हुँदै «

अन्तिम दिनको बैठक रोचक हुँदै

नेपाली कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक रोचक हुने देखिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि लगातार बसिरहेको बैठकमा मंगलबार सभापति शेरबहादुर देउवादेखि कांग्रेसका चर्चित नेताहरू प्रदीप गिरी, गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो धारणा राख्दैछन् । निर्वाचन समीक्षाभन्दा पनि पराजयका बारेमा सभापति देउवा निकटस्थहरू उनको बचाउमा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विरोधमा देखिएका छन् ।
बैठकमा १४ जनाले बोल्न बाँकी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । “बैठक १४ जनाले बोलिसकेर सोमबार नै समापन हुने सम्भावना छ,” प्रवक्ता शर्माले कारोबारसँग भने, “मंगलबार बैठक सकिएमा बिहिबार बैठकका निर्णयहरू सार्वजनिक हुनेछ ।” सभापति देउवाका कटु आलोचकदेखि अत्यन्त निकटस्थ मानिने प्रभावशाली नेताहरूले धारणा राख्ने भएकाले सोमबारको बैठक रोचक हुने देखिएको हो ।
सभापति देउवाका विश्वास पात्र मानिने विमलेन्द्र निधि, बालकृष्ण खाँण, मोहन बस्नेत, किशोरसिंह राठोर, हृदयराम थानीले बैठकमा आफ्नो धारणा राख्नेछन् । स्रोतका अनुसार उनीहरूले सभापति देउवामाथि लाग्दै आएको आरोपको कडा प्रतिवाद गर्ने तयारी गरेका छन् ।
तर, कृष्ण सिटौला समूहका गगन थापाले भने सभापति देउवाको चर्को आलोचना गर्ने तयारी गरेका छन् । उनले निर्वाचन परिणाम आएलगत्तैदेखि हारको जिम्मा देउवाले लिनुपर्ने धारणा राख्दै आएका छन् । अर्का केन्द्रीय सदस्य प्रदिप गिरीले पनि आज बैठकमा आफ्नो धारणा राख्नेछन् ।
त्यस्तै, मध्यमार्गी देखिएका महामन्त्री शशांक कोइराला, नेता विजयकुमार गच्छदार, प्रवक्ता विश्वप्रकाश शर्माले पनि धारणा राख्न बाँकी छ । उनीहरू सभापति देउवालाई मात्र हारको जिम्मेवारी दिने पक्षमा छैनन् । मध्यमार्गी धारका एक नेताले भने, “सभापतिलाई आरोपित गरेर हामी आफू चोखो हुने पक्षमा छैनौं । साइज अनुसारको जिम्मेवारी हामी सबैले लिनुपर्छ ।”
केन्द्रीय सदस्य महेश आचार्य, सुजाता कोइराला, दिपक गिरी,शंकर भण्डारीले पनि आफ्नो धारणा राख्नेछन् ।

पदाधिकारी प्रस्ताव नहुने
सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा पदाधिकारी मनोनयन प्रस्ताव नगर्ने भएका छन् । सभापति देउवा निकटस्थ एक केन्द्रीय सदस्यले बैठकमा मनोनित गर्न बाँकी पदाधिकारी प्रस्ताव नहुने दाबी गरे । तर, बैठकको निर्णय आउँदा महासमिति बैठकको मिति भने आउने छ । सभापति देउवाका आलोचकहरूले महासमिति बैठकको माग गर्दै आएका छन् । त्यस्तै, विधान मस्यौदा समिति पनि गठन हुनेछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्