‘निजगढ विमानस्थल पीपीपी मोडलमा’ «

‘निजगढ विमानस्थल पीपीपी मोडलमा’

प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको हवाई सुरक्षा महाशाखाले मन्त्री रवीन्द्र अधिकारी तथा सचिव कृष्णप्रसाद देवकोटालाई पीपीपीबाहेक अन्य मोडलमा निजगढ विमानस्थल निर्माण गर्न नसकिने निष्कर्षसहितको सुझाव बुझाएको छ ।
गत माघमा अर्थमन्त्रालयले निजी साझेदारी (पीपीपी) मोडल र इन्जियिरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन फाइनान्सिङ (इपीसीएफ) मोडलमध्ये एकमा जान उपयुक्त हुने सुझाव दिएको छ । विगत लामो समयदेखि चर्चामा रहे पनि हालसम्म कुन मोडलमा बनाउने भन्ने विषय समेत टुंगिएको छैन ।
मन्त्री अधिकारीले १ सय दिनभित्र मोडल टुंगो लगाउने घोषणा गरेका थिए । जसमा विभिन्न निकायले मन्त्री अधिकारीलाई सुझाव दिइरहेका छन् । जसमध्ये सबैभन्दा बढी सुझाव पीपीपी मोडलका लागि प्राप्त भएका छन् । यससँगै निजगढ विमानस्थलको मोडल टुंगिने संकेत देखिएको छ ।
“अहिले विश्वभर नै पीपीपी मोडलबाट विमानस्थल निर्माण भइरहेकोले निजगढ विमानस्थल निर्माणका लागि सोही मोडलमा जानुको विकल्प देखेका छैनौं,” मन्त्रालयका हवाई सुरक्षा महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले भने । भारतमा आधा दर्जन विमानस्थल अहिले पीपीपी मोडलमा निर्माण भएका छन् । “नेपालले पनि सोही मोडलमा जादाँ उपयुक्त हुन्छ भन्ने हाम्रो सुझाव हो,” लामिछानेले भने ।

२०६४ मा मन्त्रिपरिषद् बैठकले विमानस्थल स्वामित्व, निर्माण र हस्तान्तरण (बुट) मोडलमा बनाउने निर्णय गर्दै विस्तृत परियोजना अध्ययन प्रतिवेदन दिनको लागि कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्ल्लू)लाई जिम्मा दिएको थियो ।
कम्पनीले सन् २०६५ मा अध्ययन प्रतिवेदन बुझाउँदै बुट मोडलमा बनाउन उपयुक्त हुने निष्कर्षसहित पहिलो चरणको काम २०७० सम्ममा सम्पन्न गर्ने लक्ष्य दिएको थियो । तर उक्त प्रतिवेदन थन्क्याउने काम त्यसयताका सरकारले गर्दै आएका छन् । केही साता अघिमात्रै नेपाल सरकारले कोरियाली कम्पनीको विस्तृत अध्ययन प्रतिवेदन खरिद गर्ने निर्णय गरेको छ ।
दुई वर्षअघि प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको मन्त्रीपरिषद्ले स्वदेशी लगानीमा बनाउने निर्णय गर्दै उल्टाएपछि यो समय पनि त्यत्तिकै खेर गएको थियो । अहिले पनि ओली नै प्रधानमन्त्री भएकोले फेरी स्वदेशी लगानीमा बनाउने निर्णय गरिने त हैन भन्ने दवावमा मन्त्री अधिकारी छन् । तर, लामिछाने भने पीपीपीमा जानु राम्रो हुने तर्क गर्दछन् ।
पहिले एलएमडवल्लूलाई जिम्मा दिनेगरी बुट मोडल तयार पार्दै ३० वर्षपछि नेपाललाई हस्तान्तरण गर्नेगरी प्रस्ताव गरेको थियो । यसपटक प्रतिवेदनमा पनि मन्त्रिपरिषद्ले कुन देशको कुन कम्पनीलाई दिन सक्ने निर्णय पनि लिनसक्ने उल्लेख छ भने ग्लोबल टेन्डर गरेर कम्पनीको छनोट समेत गर्न सकिने व्यवस्था समेत रहेको छ । पोखरामा निर्माण सुरु भएको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल इन्जियिरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन इपीसी मोडलमा निर्माण हुन लागेको हो ।
भारतमा ६ वटा अन्तर्राष्ट्रियस्तरका विमानस्थलहरू बुट मोडलमा निर्माण भएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धीसहित बैंग्लोर, मुम्बई, गोवालगायत विमानस्थल पीपीपी मोडलमा निर्माण भएका हुन् । हाल निर्माणमा चरणमा रहेका अन्य विमानस्थलहरू पनि पीपीपी मोडलमानै निर्माण भइरहेका छन् । भारतले अन्तर्राष्ट्रिय हवाई संगठन (आइकाओ)को बैठकमै विश्वभरका विमानस्थल पीपीपी मोडलमा निर्माण गर्नुपर्ने प्रस्ताव नै राखेको थियो । मन्त्री अधिकारीले अब मोडलको छनोट गरेर एकमहिना भित्रै मोडलको टुंगो मन्त्रिपरिषद्बाट टुंग्याउनेगरी प्रस्ताव तयार परिरहेका छन् । मन्त्रिपरिषद्ले निर्णय गरेपश्चात मोडलको टुंगो लाग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्