‘मेक नेपाल ग्रीन’ सम्मेलन हुने «

‘मेक नेपाल ग्रीन’ सम्मेलन हुने

नेपालमा प्राङ्गारिक खेती प्रवद्र्धन गर्न दुई दिने मेक नेपाल ग्रीन (नेपाललाई हरियाली बनाउ) सम्मेलन हुने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा हुने सम्मेलनमा नेपालका कृषि तथा प्राङ्गारिक (अग्र्यानिक) कृषिसँग सम्बन्धित विज्ञ तथा सरोकारवालाको सहभागिता हुनेछ ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउन ‘हरियो नेपाल, समृद्ध नेपाल’ मूल नाराका साथ सम्मेलनको आयोजना हुन लागेको आयोजकले जनाएका छन् । “जैविक खेती प्रणाली, नवीकरणीय ऊर्जाको उत्पादन, आधुनिक सञ्चार तथा सूचना प्रविधिको उपयोग र पर्यावरणीय पर्यटन प्रवद्र्धनबाट मात्र नेपालको समृद्धि सम्भव छ,” आइतबार कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले भने, “जैविक खेती प्रणालीलाई प्रवद्र्धन गर्न राष्ट्रिय नेटवर्क विस्तार गर्ने उद्देश्यले गोष्ठीको आयोजना गर्न लागेका हौं ।” उनले जैविक प्रविधिलाई प्रवद्र्धन गर्न राष्ट्रिय फन्ड बनाएर अगाडि बढ्ने लगायतका विषयमा गोष्ठीमा छलफल हुने उनले बताए ।
नेपालको सन्दर्भ जैविक खेतीलाई प्रवद्र्धन गरी कृषि पर्यटन, पर्यावरणीय पर्यटन, नवीकरणीय ऊर्जा, आधुनिक प्रविधिको विस्तार तथा उपयोगले दीगो विकासका सघाउनेलगायतका विषयमा सम्मेलनमा गहन छलफल हुने बताइएको छ । स्वदेश तथा विदेशी कृषि तथा प्राङ्गारिक विज्ञ, पर्माकल्चर समूह, कृषक समूह, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिलगायतका कृषिसँग सरोकार राख्ने करिब १ सय ५० को सहभागिता रहने आयोजकले जनाएका छन् । सम्मेलनबाट आएको निचोडका आधारमा सरकारको नीति निर्माण तहमा दिगो कृषि विकासका लागि पहल गरिने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा साना किसान बैंक, साना किसान सहकारी संघलगायत सरोकारवालाले सहकार्य गरेका छन् । “मेक नेपाल ग्रीन अभियान आफैंमा कृषि र साना किसानमुखी अभियान हो, हामी (बैंक) पनि यो अभियानमा जोडिइसकेका छौं,” साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले भने । साना किसानको आयआर्जन वृद्धिका लागि प्राङ्गारिक कृषिका लागि बैंक तथा साना किसान सहकारीले सघाउँदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्