प्रदेश–३ मा लगानीको सम्भाव्यता खोजी «

प्रदेश–३ मा लगानीको सम्भाव्यता खोजी

हेटौंडा-समृद्ध प्रदेश निर्माणका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरी लगानी भित्र्याउन पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । प्रदेशस्तरमै लगानी बोर्ड स्थापना गरी परियोजना पहिचान तथा लगानीकर्ताको खोजी गरिनुपर्ने उनीहरूको सुझाव छ ।
लगानी बोर्डले आइतबार हेटौंडामा गरेको तीन नम्बर प्रदेश सरकारसँगको लगानीसम्बन्धी अन्तक्र्रियामा स्वदेशी तथा विदेशी लगानीको वातावरण तयार गर्न लाग्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डका गतिविधिका साथै प्रदेश सरकारलाई सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिसहितको अन्तक्र्रियामा अधिकारीले तीन नम्बर प्रदेशले लगानी बोर्डमार्फत गर्नसक्ने परियोजनाका बारेमा जानकारी गराएका थिए ।
उनले हेटौंडा–काठमाडौं सुरुङमार्ग, केरुङ–काठमाडौं रेलमार्ग, केरुङ–बैरेनी–धादिङ रेलमार्ग, लुम्बिनी–कुरिनटार रेलवे, बूढीगण्डकी हाइड्रोपावर, सुनकोशी–२ र ३ हाइड्रोपावरलगायतका परियोजना लगानी बोर्डमार्फत गर्न सकिने जानकारी गराएका थिए । त्यस्तै औद्योगिक क्षेत्र विस्तार, गोसाइकुण्ड केवलकार, वीरगन्ज–काठमाडौं रोपवे सेवा जस्ता परियोजनाको सम्भावना रहेको उनले बताए । पूर्वाधार विकास बैंक स्थापनामा पनि अधिकारीको जोड थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदा प्रदेश लगानी बोर्ड स्थापना, लगानी प्रवद्र्धन प्याकेज र परियोजनाहरूको पहिचान जरुरी रहेको उनको सुझाव थियो ।
कार्यक्रममा लगानी बोर्डको गतिविधिको बारेमा जानकारी दिँदै अधिकारीले हाल बोर्डमार्फत १३ वटा परियोजना सञ्चालनमा रहेको बताए । अरुण तेस्रो, अपर कर्णाली, पश्चिम सेती हाइड्रोपावर, तामाकोशी तेस्रो हाइड्रोपावर, अपर मस्र्याङ्दी–२, काठमाडौं मोनोरेल, होङ्सी शिवम् सिमेन्ट जस्ता १० अर्ब रुपैयाँभन्दा माथिका परियोजना लगानी बोर्डमार्फत निर्माणको काम भइरहेको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताको योजनाको सुरक्षा मुख्य चुनौती रहेको औंल्याइएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका तीन नम्बर प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर काम गरिसकेपछि नाफा र घाटा दुवैको भागिदार हुनुपर्ने बताए । नेपाल औद्योगिक क्षेत्र महासंघका अध्यक्ष माधव अधिकारीले औद्योगिक क्षेत्रलाई प्रात्साहित गर्ने नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए । औद्योगिक क्षेत्रमा गरिने जग्गा सम्झौताको अवधि लम्ब्याउनुपर्ने पनि उनको भनाइ थियो ।

लगानीको सुरक्षा दिन्छौं : मुख्यमन्त्री
कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशमा अब राजनीतिक स्थिरता आएको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्ताको लगानी सुरक्षाको ग्यारेन्टी गरिने बताए । निजी क्षेत्रसँगको सहकार्यबिना समृद्धि सम्भव नभएको भन्दै उनले भने, “अब बोल्ने हैन, गर्ने हो, विश्वास, संकल्प र इच्छाशक्ति राखेमात्र हामीले सोचेको समृद्धि प्राप्त हुन्छ ।” आफूहरू प्रदेश कानुन निर्माणको चरणमा रहेको भन्दै उनले लगानीमैत्री कानुन बनाउन ध्यान केन्द्रित गरेकोसमेत जानकारी दिए । स्वदेशमै भएका स्रोत साधनबाट पर्याप्त विकास गर्न सकिने बताउँदै पौडेलले त्यसको लागि गतिलो नीति आवश्यक भएको बताए । लगानीको क्षेत्र पहिचान गरी उत्पादनमुखी, परिणाममुखी काममा प्रदेश सरकार प्रतिबद्ध रहेको पौडेलको भनाइ छ । प्रदेशको कानुन र नीति बनाउँदा उद्योगी व्यवसायीसँग प्रशस्त सुझाव लिइनेसमेत उनले बताए । औद्योगिक क्षेत्रमा भएका हजारौं बिगाहा जमिन कब्जा गरेर बेच्ने परिपाटी रहेको भन्दै उद्योगी व्यवसायीले पनि आफ्ना कमजोरीलाई सच्याउनुपर्नेमा पोडेलको जोड थियो ।
प्रदेश नम्बर ३ का प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले देशमा राजनीतिक स्थिरतासँगै राजनीतिक प्रतिबद्धता पनि भए प्रशस्त लगानी भित्र्याउन सकिने बताए । सरकारले लगानीको सुरक्षाको प्रत्याभूतिसँगै करलाई जनमैत्री बनाउनुपर्ने उनको भनाइ छ । “अब रगत बगाउने दिन गए, पसिना बगाउनुपर्ने समय आएको छ,” बानियाँले भने, “प्रदेशभित्रका सम्भावनालाई खोजेर स्वदेशी तथा विदेशी लगानी लगाएर विकास गर्नुपर्छ ।”

 

प्रतिक्रिया दिनुहोस्