‘म्यान भर्सेस मेसिन’को लडाइँ

काठमाडौं : सूचना प्रविधिको क्षेत्र (आईटी सेक्टर)मा यस क्षेत्रमा भएका कृत्रिम बौद्धिकता (एआई ) र यन्त्र सिकाइ (मेसिन लर्निङ)ले एकातर्फ मानव समाज विकासको सम्भावनालाई विशाल बनाइरहेको छ भने अर्कोतर्फ यस क्षेत्रमा काम गर्नेहरूको रोजगारीमाथि प्रहार गर्न थालेको देखिएको छ ।
यस क्षेत्रका साना–साना कम्पनीहरू (स्टार्टअप्सहरू) सुक्न थालेका छन् । यस क्षेत्रका ठूला–ठूला व्यापारिक कम्पनीहरूले नयाँ भर्ना गर्ने कामलाई रोक्न थालेका छन् । यस क्षेत्रमा रोजगार गुम्न थालेका छन् ।छिमेकी भारतका सेवा क्षेत्रमा क्रियाशील बहुअर्ब कम्पनीहरूले लागत कटौती गरिरहेका छन् ।
एकातर्फ अमेरिकाको नीतिले असर पारिरहेको छ भने अर्कोतर्फ डिजिटलको दुनियाँमा तीव्र गतिले भइरहेको परिवर्तन प्रभावित गरिरहेको छ । नासकम म्याकिन्सेको यससम्बन्धी प्रतिवेदनले यस्तो संकेत गरिरहेको छ ।
भारतमा आगामी ३ वर्षभित्र आईटी क्षेत्रका ६ लाख रोजगारी गुमाउने भएको प्रतिवेदनले जनाएको छ । यस्तो अवस्था आएमा आईटी क्षेत्रका जनशक्तिका लागि आफ्नो सीपलाई स्तरोन्नति गर्नुपर्ने हुन्छ । भारतका यस्ता कम्पनीहरू अन्तर्राष्ट्रिय बैंकिङ र स्वास्थ्य सेवा प्रदायक कम्पनीहरूसँग सम्बद्ध छन् ।
अमेरिकी नीतिको अनिश्चितताले अमेरिकी कम्पनी र उपभोक्ताले आन्तरिक सक्षमता निर्माण गरिरहेका छन् । अमेरिकी कम्पनीहरूसँग हुने आकर्षक श्रम सम्झौताहरू सुकिरहेका छन् । क्लाउड बेस्ड सर्भिसजस्ता क्षेत्रका नयाँ प्रविधिबाट आफूलाई सुद्दृढ पार्नुपर्ने आवश्यकता आईटी क्षेत्रमा क्रियाशीलहरूका लागि चुनौती बन्न पुगेको छ ।
हाल उनीहरूले सिकेका प्रविधिहरू पुराना भइसकेका छन् । उनीहरूले गरिरहेको प्रविधिसम्बन्धी परियोजनाहरू संक्रमणमा फस्न पुगेको छ ।आफूलाई यसरी स्तरोन्नति गर्न सक्नेले मात्र प्रविधि क्षेत्रमा काम गर्न पाउने गरी रोजगारी सुरक्षित गर्न सक्नेछन् ।
आगामी ५ देखि १० वर्षमा यस क्षेत्रमा क्रियाशीलहरूलाई नयाँ सीप ग्रहण गरिसक्नुपर्ने चुनौती आएको प्रतिवेदनको भनाइ छ । रोबोट, एआई र प्राकृतिक भाषाहरूको प्रक्रियाका सम्बन्धमा भइरहेको नयाँ आयामलाई सिक्नुपर्ने र यसको विकास गर्नुपर्ने आईटी क्षेत्रमा काम गर्नेहरूका लागि आवश्यकता भइ आएको छ ।
यसका लागि अनलाइन लर्निङको माध्यमबाट आफ्नो ज्ञानलाई बलियो पार्न सकिनेछ । उद्योगहरूको क्रियाकलाप पनि परिवर्तन भइरहेको छ । सेवाप्रदायक कम्पनीहरू, वित्तीय क्षेत्रका कम्पनीहरू, उत्पादनमूलक कम्पनी र हार्डवेयर बनाउने कम्पनीहरूको कार्य प्रणालीमा परिवर्तन भइरहेको छ ।
यस्ता कम्पनीहरूले कम्पनी भित्रका लागि रोजगारमा समृद्ध बनाइरहेका छन् । एआई र मेसिन लर्निङको विकासले दुनियाँलाई नयाँ रूपमा परिवर्तन गर्न गइरहेको छ । यसले मानिसको जीवनलाई पूरै परिवर्तन गर्ने भएको छ । यसबाट उत्पन्न हुने चुनौतीका बारेमा विश्व अर्थतन्त्रका विज्ञहरू निरन्तर उपायको खोजीमा रहेका छन् ।
सन् २००८ देखि वित्तीय क्षेत्रमा देखा परेको चुनौती अहिले पूर्ण रूपमा समाधान नभएको अवस्थामा एआई र मेसिन लर्निङले दुनियाँमा चुनौती थपिदिएको छ ।यो परिवर्तनलाई अन्तर्राष्ट्रिय जगतमा चौथो औद्योगिक क्रान्तिको रूपमा चर्चा गर्न थालिएको छ ।
यो क्रान्तिबाट यस्ता यस्ता मेसिनको निर्माण हुनेछन्, जसले बुद्धिमान मानिसको भन्दा धेरै काम गर्न सक्नेछ । मानिसले गर्ने सबै काम मेसिनले गर्न थाल्ने विश्वास गरिएको छ । विश्व अर्थतन्त्रमा मानिसले गर्ने अधिकांश काम मेसिनले गर्न थाल्नेछ ।
मेसिनले मानिसले जस्तो काम सहज र तीव्र गतिमा काम गर्न थालेपछि ठूला ठूला कम्पनीमा खर्च कम हुने र मुनाफा बढी हुनेछ ।
अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको फ्युचर ह्युम्यानिटी इन्स्टिच्युटमा क्रियाशील विज्ञहरूको समूहले यस चुनौतीको बारेमा धेरै अध्ययन गरेको छ ।
यो समूहले विश्वभरका ३५२ वैज्ञानिकहरूसँग प्रश्नहरूको हल खोज्ने प्रयास गरेको छ । वैज्ञानिकहरूको छलफलबाट सो समूहले एआई र मेसिन लर्निङको परियोजनाबाट भविष्यमा हुने अनुमानहरूको एक अनुमानित समय सीमा निर्धारण गरेको छ । यस्ता मेसिनहरू सार्वजनिक जीवनमा १० वर्षमा आउने अनुमान गरिएको छ ।
आगामी दस वर्षमा ट्रक ड्राइभरहरूको काम मेसिनले गर्न थाल्छ । बढी समय लाग्यो भने २५ वर्षमा ड्राइभरहरूको काम पूर्ण रूपले मेसिनले गर्न थाल्छ । खुद्रा पसलमा विक्रेताहरूको काम पनि आगामी दस वर्षमा मेसिनले गर्न थाल्ने छ ।
यति मात्र होइन, न्यूयोर्क टाइम्सको स्तरमा सर्वाधिक बिक्री हुने उपन्यासहरू लेख्ने काम पनि मेसिनले आगामी २५ देखि ५० वर्षभित्र गर्नेछ । तर यस्तो मेसिन बनाउन यो भन्दा बढी समय पनि लाग्न सक्ने आंशका गरिएको छ ।
शल्यक्रियाको काम पनि मेसिनले २५ देखि ५० वर्षभित्र स्वतन्त्र रूपमा गर्न थाल्ने अपेक्षा गरिएको छ । गणित विषयको अनुसन्धानको काम पनि ५० वर्षभित्र मेसिनलाई जिम्मा लगाउन सकिनेछ । त्यसैगरी कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी अनुसन्धान गर्ने काम आगामी ७५ देखि १०० वर्षमा मेसिनलाई दिन सकिने अनुमान गरिएको छ ।
वैज्ञानिकहरूले गरेको अनुमानका अनुसार आगामी १२५ वर्षभित्र मेसिनले मानिसले गर्ने सबै काम गर्न थाल्नेछ । तर वैज्ञानिहरूले यस्तो हुनेमा ५० प्रतिशत आंशका गरेका छन् । तर, प्रविधिको यो विकासबाट मानिस भयभित भइरहेको छ ।
त्यस अनुपातमा मेसिनले मानिसका धेरै काम मानिसजस्तो तीव्रगतिमा गर्न नसकेको अनुभव पनि वैज्ञानिकहरूले सुनाएका छन् । ती कामहरूलाई पूरा गर्न मेसिनलाई अनुमान गरे भन्दा पनि धेरै समय लाग्न सक्नेछ ।
वैज्ञानिक अनुसन्धानको सर्वेक्षण अनुसार सन् २०२१ सम्म लुगा धोएर सुकाउने काम मेसिनले गर्न सक्छ । लुगा धुने काममा लगाइएको रोजगारी गुम्न सक्छ । विज्ञानको यो तीव्र प्रगति देख्दादेख्दै बर्मिंघम विश्वविद्यालयका जेरेमी ब्याटले मेसिनका बारेमा यस्ता अनुमानबारे धेरै विश्वास गर्न नसकिने मत व्यक्त गरेका छन् ।
उनी भन्छन्, “प्रयोगशालामा मेसिनले गर्ने काम र वास्तविक जीवनमा गर्ने व्यवहारिक काम दुवै फरक विषय हुन् । मेसिनका लागि मानिसजस्तो काम गर्न धेरै जटिल हुन सक्छ ।”पसलमा सामानहरूलाई ग्राहक समक्ष राखेर ग्राहकहरूको रूचीअनुसार सामान बेच्ने काम मेसिनका लागि कठिन हुन सक्ने छ ।
लुगा लगाएपछि तपाईं कस्तो देखिनु भएको छ भन्ने बारेको प्रतिक्रिया दिन मेसिनलाई कम्तीमा अझ २० वर्षभन्दा बढी समय लाग्ने देखिएको उनको बुझाइ छ । मानिसले आफ्नो कामको स्तरोन्नति अनुभवको आधारमा गरिरहेको हुन्छ, यो काम मेसिनलाई गर्न गाह्रो हुन सक्छ ।
विभिन्न परिस्थितिमा मानिसले अनुभवका आधारमा लिन सक्ने काम मेसिनबाट हुन गाह्रो हुन्छ । बेन्जामिन नामको एक रोबोटले सानो साइन्स फिक्सनको फिल्म स्क्रिप्ट तयार पार्न सक्ने देखिएको छ । उपन्यास र समाचार लेखनका काममा यस्ता रोबोटको तालिम दिने काम सुरू गरिसकिएको छ ।
अटोमेटेड इनसाइट्सका प्रमुख कार्यकारी एडम स्मिथ मेसिनको काम मानिसलाई उसको काममा सहयोग गर्नु हो मानिसलाई विस्थापित गर्न भने नसक्ने दाबी गर्छन् । अहिले मेसिनले आँकडाका आधारमा लिएको जानकारीका आधारमा सूत्रबद्ध संचनामा समाचार बनाउने काम मात्र गरिरहेको छ । अर्कोतर्फ मेसिनले तयार पारेको साहित्य मानिसहरूको रूचीलाई तान्न सक्नेमा जेरेमी आंशका व्यक्त गर्छन् ।
यसबीच गुगलले समाचार लेख्ने रोबोट बनाउन लागेको समाचार पनि आइरहेका छन् । अटोमेटिक कारका कुरा पनि नयाँ होइनन् । यसको अर्थ मानिसले स्मार्ट मेसिन बनाएर आफ्नो काम घटाउन खोजिरहेको छ । तर, कतै यही उपलब्धी पछि समस्याको कारण त बन्दैन भन्ने बहस पनि नचलेको होइन ।
जेसुकै भएपनि एउटो कुरा पक्का छ, त्यो के भने एआई र मेसिन लर्निङको विकासले मानिसको जीवनको क्रान्तिकारी परिवर्तन भने गर्नेछ । मेसिनको अधिकांश वर्चस्व भएको विश्वमा मानव जीवनका चुनौतीहरू कसरी समाप्त हुन्छन् ? राजनीतिक आर्थिक संरचना कसरी स्थापित हुन्छन् ? गरिबी समाप्त हुन्छ कि गरिब ? यस्ता धेरै प्रश्नको जवाफ भविष्यले नै बताउने छ ।