रोजगारीमा स्थानीयलाई प्राथमिकता दिन आग्रह «

रोजगारीमा स्थानीयलाई प्राथमिकता दिन आग्रह

प्रदेश सभा सदस्य आशा कोइरालाले आइतबार तनहुँ जलविद्युत् आयोजनाको अवलोकन गरेकी छिन् । सांसद भएपछि पहिलो पटक आयोजनाको अवलोकन गरेकी कोइरालाले आयोजनाको विविध पक्षको बारेमा जानकारी लिएकी थिइन् ।
तनहु जलविद्युत् आयोजना तनहु जिल्लाको लागि गौरवको विषय भएको भन्दै यसलाई समयमै सम्पन्न गर्ने जिम्मेवारी आयोजनाको भएको सांसद कोइरालाको जोड थियो । सो अवसरमा सांसद कोइरालाले रोजगारीमा स्थानीय बासिन्दालाई पहिलो प्राथमिकता दिनसमेत आग्रह गरेकी छिन् । “आयोजनाबाट सबैभन्दा बढी प्रभावित यहाँका बासिन्दा हुने भएकाले रोजगारीमा उनीहरूलाई प्राथमिकता दिनुपर्छ,” उनले भनिन्, “आयोजनाले यसतर्फ ध्यान दिनुपर्छ ।” सो अवसरमा आयोजनाका प्रबन्धक चन्दनानन्दराज वैद्य र साइट इन्चार्ज विदुर अधिकारीले आयोजनाको समग्र पक्षका बारेमा सांसद कोइरालालाई जानकारी गराएका थिए ।
आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले आयोजनाको निर्माण पूर्वका काम भइरहेका छन् । डुबान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिब ९० प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्