Logo

राजविराज विमानस्थलमा चाँडै टेस्ट फ्लाइट गरिने

राजविराज विमानस्थलको रनवे कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । रनवे कालोपत्रे नभएकै कारण विमानस्थल विगतमा पटक–पटक बन्द हुँदै आएको थियो । उद्घाटन भएको झन्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा विमानस्थल तयारी भएको हो ।
विमानस्थलको स्तरोन्नतिपछि विमान सेवा पुनः सुचारु हुने खबरले स्थानीयवासी र जग्गादाता खुसी भएका छन् । विमानस्थलका लागि करोड मूल्य पर्ने आफ्नो ४८ बिघा जग्गा निःशुल्क दान गरेका स्थानीयवासी स्व. रुद्र नारायण सिंहका छोरा महमाया सिंहले सप्तरीवासीले देखेको सपना अब साकार हुने भन्दै सरकारलाई धन्यावादसमेत दिए ।
यता झन्डै १६ महिनापश्चात् विमानस्थलको रनवे कालोपत्रे सम्पन्नपश्चात् बाँकी रहेको कम्पाउन्ड घेरबार, कार्यालय मर्मत, रंगरोहनलगायतका कामसमेत अन्तिम चरणमा पुगेको छ । यी कामहरू सम्पन्नपश्चात् नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुगमन गरेपछि वैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी भइरहेको प्राधिकरणका प्रोजेक्ट इन्जिनियर रामएकवाल महतोले जानकारी दिएका छन् । तत्कालीन जिल्ला विकास समिति सप्तरीको कार्यालयमार्फत २ करोडको लागतमा काँडे तारबाट विमानस्थल क्षेत्रको घेरवारको कार्यसमेत सम्पन्न भइसकेको छ । हाल विमानस्थलमा रहेको विभिन्न सानातिना पानी निकासीका लागि कल्भर्ट, मूल ढोका अगाडि कालोपत्रे, रंगरोहन तथा मर्मतका कामहरूसमेत अन्तिम चरणमा पुगेको हो । नेपाल नागरिक उड्ड्यन प्राधिकरणमार्फत रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमानस्थलको रनवे निर्माण गर्ने काम पाएको थियो । उक्त कन्स्ट्रक्सनले विमानस्थलको १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्गको कालोपत्रेका लागि ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुँपैया ३४ पैसामा सम्झौता गरेको थियो । सम्झौता भएबमोजिम ०७४ साल मंसिर मसान्तसम्ममा रनवेको सम्पूर्ण कार्य पूरा गरिसक्नु पर्नेमा उक्त कन्स्ट्रक्सनले ४ महिना ढिलो काम सम्पन्न गरेको छ ।
 राजविराज नगरपालिकाबाट ४ किलोमिटर दक्षिणमा पर्ने विष्णुपुर गाउँपालिकामा अवस्थित ५५ बिघा क्षेत्र ओगटेको राजविराज विमानस्थल धावनमार्ग कै कारण वर्षायाममा पटक–पटक बन्द हृुँदै आएको थियो । वि.सं.२०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यस विमानस्थलबाट ०५२ साल वैशाखबाट विमान उडान सेवा रद्द गरिएको थियो । विमानस्थल कालोपत्रे नहुनाले विगत २१ वर्षमा पटक–पटक विमान सेवा सञ्चालन र रद्द हुँदै आएको हो ।  अन्तिम पटक वि.सं. २०६५ सालमा परीक्षणकालका लागि तारा एयरले केही दिन विमान सञ्चालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायुसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडौँ र एक पटक आइतबार लामीडाँढा उडान गर्दै आएको थियो ।
  प्रदेश नं. २ मा जनकपुर, सिमरा र राजविराज गरि तीन विमानस्थल रहेकोमा राजविराज विमानस्थलबाट नियमित उडान सञ्चालनमा आएपछि सप्तरीसहित प्रदेश नं. १ का पहाडी जिल्लाका बासिन्दाका लागि विमान चढ्न सहज हुने तथा प्रदेश नं. २ को चौतर्फी विकासमा टेवा पुग्ने स्थानीयवासीको विश्वास छ ।
एमके यादव

प्रतिक्रिया दिनुहोस्