पर्यटन पूर्वाधारका लागि महायज्ञ «

पर्यटन पूर्वाधारका लागि महायज्ञ

पोखरा-कास्कीको पर्यटकीयस्थल सराङकोटमा धार्मिक पर्यटकीय पूर्वाधार निमार्ण गर्ने उद्देश्यले हालै आयोजना गरिएको महायज्ञबाट ६ करोड ६ लाख ५४ हजार रुपैयाँ बचत भएको छ । गत माघ २२ गतेदेखि फागुन २ गतेसम्म पोखरा लेखनाथ महानगरपालिका १८ स्थित सराङकोट डाँडामा आयोजना भएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सम्पन्न गर्न ३२ लाख ९३ हजार ३ सय ९८ रुपैयाँ खर्च भई उक्त रकम बचत भएको बताइएको छ ।
महायज्ञमा ६ करोड ३९ लाख ४७ हजार ८ सय ५ रुपैयाँ आम्दानी भएको महायज्ञका कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताए । महायज्ञमा ङवाङ विष्टले १५ करोड मूल्यबराबरको बुद्धको मूर्ति बनाउने आश्वाशन दिएको कोषाध्यक्ष तिमिल्सिनाले बताए । उनका अनुसार विष्टले थप एक करोड १० लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । सराङकोटमा नयाँ पर्यटकीय गन्तव्य अन्नपूर्ण केवलकार सञ्चालनको तयारी गरिरहँदा उक्त केवलकारले महायज्ञमा एक करोड ७५ लाख आर्थिक सहयोग गरेको छ । त्यसैगरी महायज्ञमा ४ जना व्यक्तिबाट ८ रोपनी जग्गा प्राप्त भएको सचिव थापाले जनाए ।
सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक प्रेमबहादुर जिसीले महायज्ञमा आफूहरुले अपेक्षा गरेभन्दा बढी रकम संकलन भएकोले करिब १३ वर्षदेखिको सपना अब पूरा हुने बताए । यसअघि समितिले ४ वटा महायज्ञबाट संकलन भएको करिब ९७ लाखको लागतबाट साढे दुई तले शिव मन्दिर (पक्की भवन) निर्माण गरेको थियो ।
महायज्ञका प्रमुख वाचक भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले सराङकोट आफैमा एक पर्यटकीय गन्तव्य भएकाले थप पर्यटकको आकर्षण र धार्मिक पर्यटकहरुको आकर्षण बनाउने अभियानमा स्थानीय तथा दाताहरुको उत्साहको सराहना गरे । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले सराङकोट क्षेत्रको पर्यटन प्रवद्र्धन हुने गरी निर्माण हुन लागेको विभिन्न पूर्वाधार निमार्णमा वडाको समेत सहयोग हुने बताए । अन्नपूर्ण केबुलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीले सराङकोटको पर्यटन प्रबद्र्धन गर्न आफूहरुले सक्दो सहयोग गरेको बताए ।
समुद्री सतहदेखि १ हजार ५ सय ९२ मिटरको उचाईमा रहेको सराङकोट विशेषगरी दृश्यावलोकन र साहासिक खेल गतिविधिको केन्द्र नै भएको छ । प्याराग्लाइडिङ, जिप फ्ल्याएर सञ्चालन भएको छ भने केवलकार निर्माण हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्