मकवानपुरमा साना हतियारको चुनौती «

मकवानपुरमा साना हतियारको चुनौती

हेटौंडा-मकवानपुरमा अवैध हातहतियार र विस्फोटक पदार्थ बरामद हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्मका विभिन्न समयमा प्रहरीले अवैध हातहतियार र विस्फोटक पदार्थसहित आठजनालाई पक्राउ गरिसकेको छ ।
अवैध लागूऔषध गाँजा र अफिम उत्पादन तथा ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा रहेको मकवानपुरमा पछिल्लो समय अवैध हातहतियार र विस्फोटक पदार्थ समेत सुरक्षा चुनौतीको रुपमा थपिएको छ । “हेटौंडा प्रदेशको राजधानी भइसकेको छ । अब सुरक्षा चुनौती बढ्न सक्छ । तर, हामी चनाखो भएर सुरक्षा रणनीति बनाएर अगाडि बढिरहेका छौं,” जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उरीक्षक तथा प्रवक्ता दिलिपकुमार झाले भने । मकवानपुरमा पछिल्ला महिनाहरुमा हातहतियार तथा विस्फोटक पदार्थसहित युवा पक्राउ पर्नाले सुरक्षा चुनौती थपिएको महसुस गरिएको उनको भनाइ छ ।
प्रहरीले साउनमा हेटौंडाको पदमपोखरीबाट अशोक तामाङ, बीरबहादुर तामाङ र अक्कल तामाङलाई हतियारसहित पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले एकथान युएसए पेस्तोल, छ राउण्ड गोली, हात्तिको दारा र टर्च बरामद गरेको थियो । मंसिरमा भरुवा बन्दुकसहित बकैया गाउँपालिका–९ का सेतोबहादुर घलान र धनबहादुर घलान, दशरथ घलानलाई प्रहरीले पक्राउ गरेको थियो ।
पुस महिनामा प्रहरीले गढीगाउँपालिका–४ का रामबहादुर गोलेलाई एकनाल भरुवा बन्दुक र ३० ग्राम बारु तथा वैशाख महिनामा हेटौंडा–३ स्थित लेवटबाट सोही स्थानका ३७ वर्षीय अनिल भनिने जोकर मोक्तानलाई कटुवा पेस्तोल ३ थान, नलकटुवा पेस्तोलमा फिट हुने गोली ११ थान, ३०३ राईफलको गोली १ थान, सुतली बम १ थान, नेपाल प्रहरीको चुस्ता १ सहित पक्राउ गरेको थियो ।
पक्राउ परेको अवस्था र प्रहरीको अनुसन्धान अनुसार हातहतियार प्रायः लागूऔषध गाँजा तस्करी र जंगली जनावर मार्नका लागि प्रयोग हुने गरेको देखिन्छ । “कसैको आग्रह अनुसार पु¥याइदिने क्रममा समेत प्रहरीले हतियारसहित मानिस पक्राउ गरेको छ । अब हामी लागूऔषधसहित हातहतियार र विस्फोटक पदार्थको अनुगमनलाई तीब्रता दिँदैछौं,” प्रहरी नायब उपरीक्षक झाले भने ।

प्रतिक्रिया दिनुहोस्