ढुंगानाले सम्मान र इज्जतमात्र पाउनुहुन्छ

महेश बस्नेत
प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार, भक्तपुर–२
नेकपा एमालेका युवा नेता महेश बस्नेतले भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । पूर्वमन्त्रीसमेत रहेका बस्नेत आफूले गरेका काम र वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । लामो समयपछि सक्रिय राजनीतिमा फर्किएका पूर्वसभामुख दमननाथ ढुंगाना उनका प्रतिस्पर्धी छन् । ढुंगानाले भक्तपुरबाट सम्मान र इज्जत पाए पनि मत भने नपाउने बस्नेतको दाबी छ । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा तेस्रो भएका बस्नेत यो पटक २०४६ सालदेखिको कांग्रेसको गढ तोड्ने दाबी गर्छन् । उनै बस्नेतसँग चुनावी तयारी, रणनीति र एजेन्डाका बारेमा कारोबारकर्मी तीर्थराज बस्नेतले गरेको कुराकानीको सार:
चुनावी तयारी कस्तो भइरहेको छ ?
घरदैलो कार्यक्रम भइरहेको छ । व्यापक रूपमा हाम्रा कमिटीका बैठकहरूबाट सबै वामपन्थी साथीसँग मिलेर प्रचार गरिरहेका छौं । निर्वाचन परिचालन कमिटीहरू बनाएका छौं । पार्टी प्रवेशका कार्यक्रमहरू पनि चलिरहेको छ । सभाहरू पनि गरिरहेका छौं । सांस्कृतिक कार्यक्रमहरू पनि गरिरहेका छौं । भक्तपुरमा चुनावी माहौल अहिले निकै तातेको छ ।
यो निर्वाचनमा भक्तपुरवासीले तपाईंलाई किन मत दिने ?
संविधान कार्यान्वयन, विकास र समृद्धि अहिलेका मुख्य एजेन्डा हुन् । अहिले हामीले मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश ग¥यो भन्ने निष्कर्ष निकालेका छौं । त्यो भनेको जनताले राजनीतिसँग सरोकारका विषय जस्तै: खान पाउने अधिकार, बस्न पाउने अधिकार, पढ्न पाउने अधिकार, रोजगारीको अधिकार तथा स्वास्थोपचारको अधिकार जोडिनुपर्छ भन्ने हो । यीबाहेक विकास र समृद्धिका अधिकारहरू— व्यवस्थित सहरमा बस्न पाउने अधिकार, सफा खानेपानी खान पाउने, कृषि र उद्योगमा आधारित अर्थतन्त्रका रूपमा विकास गर्दै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रको विकास गर्ने कुरा, आर्थिक–सामाजिक रूपान्तरण गर्ने— यी तमाम विषयचाहिँ आजको राजनीतिका एजेन्डाहरू हुन् । हामीले केन्द्रको घोषणापत्र र जिल्लाका प्रतिबद्धतापत्रहरूमार्फत पनि यी विषयमा बोलेका छौं । भोलि एमाले नेतृत्वको वाम गठबन्धनले स्थायी सरकार दिनेछ । ०७ सालदेखि अस्थिर राजनीतिका कारण स्थिर सरकार बनेन, जुन समृद्धिको बाधक हो, जसका कारण भ्रष्टाचार बढ्यो, राजस्व राम्रोसँग संकलन हुन सकेन, विकास भएन, भएका काम पनि गुणस्तरहीन भए, नयाँ परियोजना सुरु गर्न सकिएन । अब स्थायी सरकार दिने, भ्रष्टाचार अन्त्य गर्ने, राजस्व संकलन गर्ने, ठूला खानी, रेल सञ्चालनलगायतका विषय घोषणापत्रमा समावेश छन् । यी विषय कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता छ । हामी जत्तिको युवा क्रियाशीलता, पहलकदमी र पहुँचका हिसाबले जे भूमिका खेल्न सक्छौं, हामी समग्र भक्तपुरको हितका निम्ति लगाउँछौं । हिजो १३ किलोमिटर नजिक रहेको भक्तपुरलाई सिंहदरबारले देखेन । अब हामी सिंहदरबारलाई भक्तपुरमा ल्याउन बाध्य बनाउँछौं । हिजो केपी ओली सरकारमा हुँदा वा मन्त्री हुँदा हामीले गरेका कतिपय काम छन्, त्यसलाई निरन्तरता दिने कुरा पनि यसपटक मतदातसम्म हामीले लाँदै छौं ।
तपार्इंको जितका आधारहरू के–के हुन् ?
२ नम्बर क्षेत्रमा मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ । यी दुई नगरपालिकामा स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको छ । वाम गठबन्धनमार्फत माओवादीको झन्डै ४ हजार मत हामीले थपेका छौं । उम्मेदवारीका सन्दर्भमा पनि कांग्रेसमा असन्तुष्टि र विद्रोहको स्थिति देखिएको छ । धेरै कांग्रेसका साथीहरूले मलाई भोट हाल्ने स्थिति छ । भूकम्पपछि मैले जुन योगदान गरे; जस्तो: भूकम्पमा ज्यान गुमाएकाका ३ सय ८२ जनाका परिवारलाई ७ हजारका दरले सहयोग गर्नेदेखि लिएर टहरा निर्माण गर्ने, २ हजारभन्दा बढी बन्डल जस्तापाता वितरण, राहत सामग्री वितरणको काम पनि हामीले ग¥यौं । अहिले पनि भूकम्पपीडित ३ सय २० बालबालिकालाई पढाइरहेका छौं । २ सय ५० भन्दा बढी दिदीबहिनीहरूलाई सीपमूलक तामिल दिएर आयमूलक काममा लगाएका छौं । म मन्त्री हुँदा हनुमन्ते करिडोर, मनहरा करिडोर, मेलम्ची खानेपानीलाई पहिलो चरणमा भक्तपुरमा ल्याएर कटुन्जेमा ६ हजार घनमिटरको ट्यांकी बनाउने कुरा, बालकोटदेखि गुन्डु, कटुन्जेसम्मको क्षेत्रलाई स्याटेलाइट सिटी बनाउने कुरा, मनहराको दायाँबायाँ स्याटेलाइट सिटी बनाउने कुरा, वीर अस्पताललाई भक्तपुरमा ल्याउने कुरा, ४८ वटा सडक विस्तार गर्न बजेट पार्ने कुरा, हनुमन्ते खोलामा पाँचवटा पुल निर्माण गर्ने लगायतका काम भएका छन् । भौतिक पूर्वधार विकासका कामहरू पनि हाम्रो पहलमा भएको छ । जबकि भक्तपुरको संसदीय चुनावमा २८ वर्षयता एकपटक पनि विजय हासिल गरेका छैनौं । यी सबै कारणले यो पटक हामीले राम्रो मत ल्याएर विजय हासिल गर्दै छौं ।
सभामुखसमेत भइसक्नुभएका र लामो समयपछि सक्रिय राजनीतिमा फर्कनुभएका दमननाथ ढुंगाना तपाईंका प्रतिस्पर्धी हुनुहुन्छ । उहाँ आइसकेपछि तपाईंलाई जित्न सहज छैन भन्नेहरू पनि त छन् नि ?
०७० सालको परिणाम हेरेर उहाँ यहाँ आउनुभएको हो, तर ०७० सालदेखि ०७४ सालसम्म भक्तपुरको हनुमन्ते र मनहरामा कति पानी बगिसक्यो भन्ने कुरा उहाँलाई थाहा भएन । अघिल्लो निर्वाचनलाई नै आधार बनाउने हो भने त हामीले ०५१ सालमा जसरी विजय हासिल गरेका थियौं । त्यसलाई आधार बनाएर ०५६ मा पनि बहुमत ल्याउँछौं भन्यौं, तर फेल खायौं । ०५६ मा कांग्रेसले बहुमत ल्याएको थियो, ०६४ मा त्यो आधार बनाएर फेरि बलियो हुन्छु भन्यो, ऊ फेल खायो । ०६४ को परिणामलाई आधार बनाएर ०७० मा जसरी माओवादी चुनावमा गयो, ऊ पनि पछारियो । ०७० को परिणाम हेरेर ०७४ मा दमननाथ ढुंगाना आउनुभएको छ, उहाँ फेल खानुहुन्छ । भक्तपुर राम्रो संस्कार भएको जिल्ला भएको र हामी प्रतिपक्ष पनि संवेदनशील भएको हुनाले उहाँले यहाँबाट सम्मान र इज्जत पाउनुहुन्छ, तर मतचाहिँ पाउनुहुन्न ।
अबको पाँच वर्षमा भक्तपुर क्षेत्र नम्बर २ लाई कस्तो बनाउने ? तपाईंका योजना के छन् ?
पाँच वर्षमा हामी व्यवस्थित र आधुनिक सहर बनाउँछौं । व्यवस्थित आवास, आत्मनिर्भर घरको कन्सेप्ट ल्याएका छौं । आत्मनिर्भर घर, व्यवस्थित सहर भनेका छौं । लोडसेडिङमा पनि बत्ती बल्ने छतमा सोलार प्यानल भएको, छत र कौसीमा करेसाबारी भएको, आकाशे पानी संकलन गर्ने ट्यांकी भएको, आफ्नो घरमा भएको मलमूत्रबाट गोबर ग्यास प्लान्ट चलाउने सोच भएको ‘आत्मनिर्भर र आधुनिक घर’को सुरुवात गर्नेछौं । भक्तपुरलाई ९० डिग्रीमा बाटो र चार कुना मिलेको घडेरी भएको व्यवस्थित सहर बनाउने हाम्रो परिकल्पना छ । दुईवटा स्याटेलाइट सिटी बनेको छ । त्योबाहेक पुराना क्षेत्रमा पनि व्यवस्थित आवास बनाउने पहल गर्छौं । हाम्रो परम्परागत जीवित कला, संस्कृति र सम्पदाको सहर भक्तपुर र मध्यपुरलाई संस्कृति र सम्पदाको संरक्षण गर्दै आधुनिक सहर बनाउँछां ।
तपार्इंले आफ्नो जितको आधार वाम गठबन्धन बनाइरहँदा कतिपयले गठबन्धनमाथि नै आशंका पनि गरिरहेका छन् नि । अझ कांग्रेसले त गठबन्धनका माध्यमबाट साम्यवाद ल्याउने तयारी भइरहेको अरोप पनि लगाइरहेको छ ?
कम्युनिस्ट शासन आयो भने मुलुकमा समृद्धि हुन्छ । मुलुक समाजवादमा जान्छ, साम्यवादमा जान्छ । कांग्रेस बलियो भए लोकतन्त्र बलियो हुन्छ, कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ भन्ने साथीहरूलाई आज युवाहरूले सामाजिक सञ्जालमार्फत जवाफ दिइरहेका छन् । ०१५ सालमा दुईतिहाई कांग्रेस आउँदा पञ्चायती व्यवस्था सुरु भयो । राजा महेन्द्रले हस्तक्षेप गरे । ०४६ सालमा कांग्रेस आउँदा बेथिति बेहोर्नुप¥यो । ०५६ सालमा कांग्रेसले बहुमत ल्याउँदा राजा ज्ञानेन्द्रले हस्तक्षेप गरे । कांग्रेस बलियो हुँदा उसमा घमन्ड, आत्मरति, दम्भ बढ्ने, प्रतिपक्षीहरूलाई दमन गर्ने र लोकतन्त्र समाप्त हुने देखिएको छ । पछिल्लो समयमा कम्युनिस्टहरूले सामाजिक न्यायको कुरा गरिरहँदा, क्रान्तिको कुरा गरिरहँदा, समाज रूपान्तरणको कुरा गरिरहँदा त्यो लोकतन्त्रसहितको कुरा हो । प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गर्ने कार्यनीति बोकेको पार्टी एमाले अगुवाइमा भएको वाम गठबन्धनले फरक विचार राख्ने जनताका भावनालाई कहिले पनि हस्तक्षेप गर्दैन । सबैको सम्मान गरेर जान्छ ।