खेल्दा घाइते भयो भने हेर्ने राज्य छैनः मन्त्री पुन «

खेल्दा घाइते भयो भने हेर्ने राज्य छैनः मन्त्री पुन

प्रदेश नम्बर ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलाडीहरूको बिमा अनिवार्य रूपमा आवश्यक भएको बताएकी छन् । पूर्वखेलाडी मञ्च नेपालको ९ औं साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री पुनले राष्ट्रको नाममा दिलो ज्यान दिएर खेल्ने खेलाडीहरूको भइपरि आउने घटनाको जोखिमबाट बचाउन पनि खेलाडीहरूलाई बिमा आवश्यक भएको बताएकी हुन् ।
उनले भनिन्, “मैले विस्तारै खेलकुद बुझ्दै छु, खेलाडी खेल्ने क्रममा अचानक घाइते भयो भने त्यसलाई हालसम्म हेर्ने राज्य छैन, त्यसको दिगो व्यवस्थापनका लागि हामीले बिमा पोलिसी ल्याउन चाहेका छौं ।” खेलकुदको महत्व बुझाउन आफूहरूले हरेक स्कुलको पाठ्यक्रममा खेल शिक्षाका रूपमा विकास गर्न खोजेको मन्त्री पुनको भनाइ थियो । उनले भनिन्, “हाम्रो आर्थिक हैसियतअनुसार स्थानीय र केन्द्र सरकारसँग हामीले पहल गरी खेलकुदको विकास हुने काममा केही काम मेरो पालामा हुने गरी देखाउनेछु ।” प्रदेश सरकारले ल्याउन लागेको बजेट, कार्यक्रम तथा नीतिमा खेलकुदलाई समेत केही रकम आउने भएको उनले खुलसा गरिन् ।
प्रदेश नम्बर ४ का सांसद मोहन रेग्मीले खेलाडीहरूले खेल खेलेरै बाँच्न सक्ने आधार तयार पार्नुपर्नेमा जोड दिए । खेल संस्थाहरूलाई सवैको साझा संस्थाका रूपमा स्थापित गर्नेपर्ने उनको भनाइ छ । अर्र्का सांसद इन्द्रधारा विष्टले पोखरालाई खेलकुद पर्यटनको केन्द्रको रूपमा विकास गरी प्रदेशका जिल्लामा सम्भावना हुने खेलको खोजी गर्नुपर्ने बताए ।
उक्त अवसरमा मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट सम्मानित भएका छन् । नेपालको खेल क्षेत्रमा खेलाडी, प्रशिक्षक सहितको महत्वपूर्ण भूमिका खेलेको भन्दै मञ्चले शनिबार ताम्रपत्र, दोसल्लासहित फूलमालाले सम्मान गरेको हो । मन्त्री पुन, सांसद रेग्मी, विष्ट, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले सम्मानित व्यक्ति रानाभाटलाई सम्मान गरेका हुन् । कार्यक्रममा मञ्चका महासचिव खेमबहादुर गुरुङ, सदस्य योगेन्द्रबहादुर बस्नेतलगायतले बोलेको कृष्ण तिमिल्सिनाले बताए । संस्थामा हाल १ सय ७७ जना पूर्वखेलाडीहरू आबद्ध रहेका छन् । पोखरामा गत वर्ष सम्पन्न भएको १२ आंैं सफल पोखरा अन्तर्राष्ट्रिय म्यारथन प्रतियोगिताबाट ४ लाख ६ हजार ७ सय ९८ रुपैयाँ बचत भएको छ । उक्त प्रतियोगिताबाट ११ लाख ३१ ह्जार ८ सय २५ रुपैयाँ आम्दानी भएकोमा ७ लाख २५ हजार २७ रुपैयाँ खर्च हुँदा उक्त रकम बचत भएको कोषाध्यक्ष मन्जुलमान श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसमरा आयोजित स्व.शिव शंकर रन्जित ५ किलोमिटर सञ्चारकर्मी दौड प्रतियोगिताबाट ३० हजार ५० रुपैयाँ घाटा भएको सहकोषाध्यक्ष महेश पौडेलले बताए । उक्त प्रतियोगिताबाट ४८ हजार ७ सय ४० आम्दानी हुँदा ७८ हजार ७ सय ९० रुपैयाँ खर्च भएको मञ्चले जनाएको छ । घाटा रकम मञ्चले आन्तरिक स्रोतबाट खर्च गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्