नया कम्पनीद्वारा साढे ३ हजार बिमालेखा जारी «

नया कम्पनीद्वारा साढे ३ हजार बिमालेखा जारी

सञ्चालनमा आएका नयाँ पाँच जीवन बिमा कम्पनीहरूले असोज मसान्तसम्ममा ३ हजार ४ सय ३६ बिमा लेख जारी गरेका छन् जसमध्ये कम्पनीहरूले २ हजार ५ सय ३५ वटा वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेका छन् भने ९ सय १ वटा अन्य बिमालेख जारी गरेका छन् ।
तथ्यांकअनुसार सञ्चालनमा आएका पाँच नयाँ जीवन बिमा कम्पनीले ५ करोड ९८ लाख ७७ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गर्न सफल भएका छन् । जसमध्ये कम्पनीहरूले वैदेशिक रोजगार (म्यादी) जीवन बिमाबापत ९८ लाख ५१ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् भने ४ करोड ९९ लाख रुपैयाँ भने अन्य बिमाबाट आम्दानी गरेका छन् । असोजसम्ममा कम्पनीहरूले गरेको व्यवसाय सन्तोषजनक नै रहेको समितिमा उप निर्देशक दिनेशकुमार लालले बताए । केही कम्पनीले विगत दुई महिना देखि कारोबार गरेका छन् भने केही एक महिनादेखि काम गरेका छन् । त्यसैले अहिलेको व्यवसायको आधारमा कम्पनीको अवस्थालाई विश्लेषण गर्न नमिल्ने उनले बताए । “पुस मसान्त पछि कम्पनीको वित्तीय विवरण हेरेर मात्रै कम्पनीको अवस्थालाई विश्लेषण गर्न सकिन्छ,” उनले भने ।
त्यस्तै, नयाँ पाँच कम्पनी आईएमई लाईफ, सन नेपाल, रिलायबल, युनियन र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा हालसम्म २ हजार ३१८ अभिकर्ता नियुक्त भएका छन् जसमध्ये सन नेपालमा मात्रै १ हजार ४७२ अभिकर्ता नियुक्त भएका छन् । ज्योति लाईफमा सबैभन्दा थोरै ४० जना नियुक्त भएका छन् ।
कम्पनीहरूको कार्यालय संख्या ४७ पुगेको छ । असोज मसान्तसम्ममा युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै २० वटा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, कम्पनीहरूमा ३०९ कर्मचारी कार्यरत छन् । युनियन लाइफमा सबैभन्दा बढी १ सय कर्मचारी नियुक्त भएको कम्पनीहरूले समितिमा बुझाएको तथ्यांकले देखाएको छ ।
समितिमा प्राप्त भएको तथ्यांकअनुसार बिमाशुल्क संकलनको आधारमा पाँच कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्स अग्रपंक्तिमा देखिएको छ भने बिमालेख जारी भएको आधारमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएको छ ।
नयाँ कम्पनीहरू पनि वैदेशिक रोजगारी बिमाकै भर
नेपालमा बिमाको पहुँच कम भएको भन्दै बिमा समितिले नयाँ कम्पनीहरूलाई लाइसेन्स वितरण गरेको छ । तर, नयाँ कम्पनीहरू पनि वैदेशिक रोजगार (म्यादी) जीवन बिमातर्फ नै खनिएका छन् । कम्पनीहरूले बिमा समितिमा बुझाएको असोज महिनासम्मको विवरणअनुसार कम्पनीहरूमा कायम रहेको बिमालेखको संख्या ३ हजार ४३६ छ । जसमध्ये कम्पनीहरूले २ हजार ५३५ वटा बिमा वैदेशिक रोजगार (म्यादी) जीवन बिमा नै जारी गरेका छन् । यो संख्या कुल कायम रहेको बिमालेखको करिब ७४ प्रतिशत हो । त्यस्तै, कम्पनीहरूले ९०१ वटा अन्य बिमालेख जारी गरेका छन् ।
आईएमई लाइफ इन्स्योरेन्स
समितिबाट कारोबार सञ्चालनको अनुमति लिएर कम्पनीले गत भदौ १ गतेदेखि औपचारिक सुरुवात गरेको हो । नयाँ कम्पनीहरूमध्ये औपचारिक रूपमा नै सञ्चालन आउने कम्पनीमध्ये आईएमई लाइफ पहिलो हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड कायम भएको छ । कम्पनीले १ अर्ब ३९ करोड लगानी गरेको छ । असोज मसान्तसम्ममा कम्पनीले ४२ लाख ६० हजार रुपैयाँ बिमाशुल्क संकलन गर्न सफल भएको छ । जसमध्ये वैदेशिक रोजगार (म्यादी) जीवन बिमाबापत ३० लाख र अन्य बिमाबापत कम्पनीले ११ लाख ७३ हजार रुपैयाँ संकलन गरेको हो । कम्पनीले चार प्रकारका बिमा योजना सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, सो अवधिमा कम्पनीमा ७२१ बिमालेख कायम छ । जसमध्ये वैदेशिक रोजगार (म्यादी) को संख्या ६६४ छ भने अन्य ५७ वटा छन् । कम्पनीमा ८० जना अभिकर्ता नियुक्त भएका छन् । कम्पनीले असोजसम्ममा ६ वटा कार्यलय सञ्चालनमा ल्याएको छ भने ५० जना कर्मचारी नियुक्त गरेको छ ।
सन् नेपाल इन्स्योरेन्स
सन् नेपाल इन्स्योरेन्स गत असोज ६ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड कायम छ । कम्पनीले १ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । असोजसम्ममा कम्पनीले २ करोड २८ लाख रुपैयाँ बिमाशुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले हालसम्म ४ प्रकारका बिमा योजना सञ्चालनमा ल्याएको छ ।
कम्पनीका कायम रहेको बिमालेखको संख्या ५८८ छ । तथ्यांकअनुसार कम्पनीले वैदेशिक रोजगार बिमालेख जारी गरेको छैन । कम्पनीमा १ हजार ४७२ अभिकर्ता नियुक्त भएका छन् । ७ वटा कार्यालय सञ्चालनमा ल्याएको छ भने ७६ कर्मचारी नियुक्त गरेको छ ।
युनियन लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स पनि गत असोज ६ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । कम्पनीको पुँजी १ अर्ब ५० करोड कायम भएको छ । कम्पनीले असोजसम्ममा २ करोड ३० लाख संकलन गरेको छ । जसमध्ये वैदेशिक रोजगार बिमाबापत १७ लाख र अन्य बिमाबापत २ करोड १३ लाख संकलन गरेको छ ।
असोजसम्ममा कम्पनीमा ५६३ वटा बिमालेख कायम छ । जसमध्ये बैदेशिक रोजगार बिमाको संख्या ३८४ छ भने अन्य बिमाको संख्या १७९ छ । कम्पनीका ५५० अभिकर्ता आबद्ध भएका छन् । कार्यालय २० वटा सञ्चालनमा ल्याएको छ भने १ सय कर्मचारी नियुक्त गरेको छ ।
ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी गत असोज ८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । कम्पनीको पुँजी १ अर्ब ५४ करोड कायम छ भने १ अर्ब ५३ करोड लगानी गरेको छ । कम्पनीले असोजसम्ममा २३ लाख ६० हजार बिमाशुल्क आम्दानी गरेको छ । हालसम्म कम्पनीले ५ प्रकारका बिमा योजना सञ्चालनमा ल्याएको छ ।
कम्पनीका कायम रहेको बिमालेखको संख्या ७७ छ । तथ्यांकअनुसार कम्पनीले वैदेशिक रोजगार बिमा जारी गरेको छैन । कम्पनीका ४० जना अभिकर्ता आबद्ध छन् । कम्पनीको ११ वटा कार्यालयमा सञ्चालनमा आएको छ भने ४९ कर्मचारी कार्यरत छन् ।
रिलायबल लाइफ इन्स्योरेन्स
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी गत असोज २९ देखि सञ्चालनमा आएको हो । कम्पनी पुँजी १ अर्ब ४० करोड कायम छ भने कम्पनीले असोजसम्ममा १ अर्ब ३८ करोड लगानी गरेको छ । त्यस्तै, सो अवधिमा कम्पनीले ७३ लाख रुपैयाँ बिमाशुल्क संकलन गर्न सफल भएको छ । जसमध्ये ५१ लाख वैदेशिक रोजगार बिमाबापत संकलन भएको छ भने २२ लाख संकलन गरेको छ । कम्पनीले ७ प्रकारका बिमालेख सञ्चालनमा ल्याएको छ ।
असोजसम्ममा कम्पनीमा १ हजार ४८७ बिमा कायम छ । १७६ अभिकर्ता छन् । तीनवटा कार्यलय सञ्चालन गरेको छ भने ३४ कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्