Logo

ओली–दाहाल भेट निष्कर्षविहिन

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता निष्कर्षविहिन बनेको छ । शनिवार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल विनानिष्कर्ष टुंगिएको हो । ४ गते बसेको पार्टी एकता संयोजन समितिले विवादित विषयमा सहमति जुटाउने जिम्मा ओली र दाहाललाई दिएको थियो । विवादित विषयमा हल खोज्न जुटेका दुई अध्यक्षबीचको दुई घण्टा लामो छलफल चले पनि कुनै निचोड भने निस्कन नसकेको दाहालको सचिवालयले जनाएको छ । असोजदेखि पार्टी एकता गर्ने तयारीमा लागेका दुई दलबीच वैशाख ९ (आज) एकता घोषणा गर्ने तयारी भएको भएपनि केही विषयमा सहमति जुट्न नसक्दा तत्काललाई एकता टरेको छ । विवादित विषयमा सहमति जुटाएर एकता घोषणाको मिति सार्वजनिक गर्ने तयारीमा भइरहेको बताइन्छ ।
दुई पार्टीबीच केन्द्रीय तहदेखि स्थानिय तहसम्म सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्दबारे सहमति जुट्न सकेको छैन । माओवादीले समानताका आधारमा (५०–५०) प्रतिशत हैसियतमा मात्र एकता गर्न सकिने प्रस्ताव अघि सारेको छ । तर एमाले माओवादीको प्रस्ताव मान्न तयार देखिएको छैन । एमाले चुनावी आँकडाका आधारमा अनुपात मिलाउने पक्षमा छ ।
एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ । प्रस्ताव अनुसार नेता व्यवस्थापन गर्न चुनौति रहेको बताइन्छ ।
त्यसैगरी नयाँ पार्टीको चुनाव चिन्हमा पनि सहमति जुट्न सकेको छैन । एमालेले सूर्यलाई यथावत राख्न भनेको छ भने माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने बताउँदै आएको छ । माओवादी केन्द्रले १० वर्षे माओवादी ‘जनयुद्ध’ लाई पार्टीको कार्यदिशामा उपलब्धि मान्नुपर्ने बताउँदै आएको छ । जुन एमाले मान्न तयार देखिएको छैन ।

स्थापना दिवसमा संयुक्त कार्यक्रम आज
औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए पनि केही विषय टुंगो लगाउन बाँकी रहेको भन्दै औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट उक्त सन्देश दिन जुटेका हुन् । पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा मध्यान्ह १२ बजे हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् । “एकता टरेको होइन, यो कसैले टार्न सक्दैन, तयारी नपुगेर केही समयपछि सरेको मात्र हो ।” यो सन्देश दुबै अध्यक्षले सो सभामा दिनुहुनेछ ।” एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने ।
दुई दलबीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिमरुप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो ।
ओली र दाहालले मिल्न बाँकी विषय मिलाएर समितिको बैठकमा पेश गरेपछि एकता घोषणाको मिति तय हुने भएकाले उहाँहरुले दैनिकजसो गम्भीर छलफल र वार्तामा व्यस्त हुनुभएको छ । सकेसम्म यही वैशाख १८ गते विश्व मजदुर दिवसका दिन एकता घोषणा गर्न पनि नेतृत्वलाई सुझाव दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्