बोनस र हकप्रद सेयरको लाभकर विवाद «

बोनस र हकप्रद सेयरको लाभकर विवाद

वैशाख २०७५ को अंकमा मुद्रित महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको अंशप्रति मेरो विचार निम्न छ :
महालेखा परीक्षकले सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदन २०७४ ले सेयर कारोबारमा पुँजीगत लाभकर वास्तविक लागतका आधारमा नभएको टिप्पणीले वास्तविक लागत र पुँजीगत लाभकरको विषयलाई फेरि एकपटक बहसमा ल्याएको छ । पटक–पटक एउटै विषय उठान भए तापनि त्यसलाई अर्थ मन्त्रालय, धितोपत्र बोर्ड वा नेपाल स्टक एक्सचेन्जले समाधान नगरेकाले पनि होला, महालेखा परीक्षकले पनि यो विषय उठाउन छोडेको छैन । तर, यस विषयलाई बढी लम्ब्याउनुभन्दा यसलाई एकपटक सम्बोधन गर्न आवश्यक भइसकेको छ । अन्यथा यसले बजारमा जहिले पनि नकारात्मक प्रभाव पार्न वा बजारलाई तलमाथि पार्न चाहने खेलाडीलाई यही मुद्दा उठाएर खेल्न सजिलो भइरहन्छ ।
मेरो विचारमा यस विषयलाई अब अर्थ मन्त्रालय, धितोपत्र बोर्ड वा नेपाल स्टक एक्सचेन्जले सम्बोधन गर्न ढिलाइ गर्नु हँुदैन । नत्र फेरि धेरै लगानीकर्ताहरू अन्योलमा रहिरहने हुन्छ । यस विषयलाई एकपल्ट यसरी पनि हेरौं कि ः
बोनस सेयर वा हकप्रद सेयर नेप्सेमा सूचीकृत भएपछि सेयरहोल्डरको डिम्याट खातामा एकढिक्का भई जम्मा भएको हुन्छ । बिक्री गर्दा खरिद गरेको सेयर बिक्री भएको हो कि बोनस सेयर वा हकप्रद सेयर बिक्री भएको हो, छुट्ट्याउन सकिँदैन । सेयरको आधार मूल्य औसत मूल्य मालिने कुरा विश्वका सबै लेखामानहरूले प्राथमिकताका साथ मान्यता दिएका छन् । यस्तो अवस्थामा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उठाइएको झन्डै रु. ७८ करोडको बेरुजुले लेखासम्बन्धी सबै मूल्य र मान्यतालाई अमान्य गरिदिएको छ ।
एउटा उदाहरण लिऊँ, खरिद भएको २ सय कित्ता सेयर प्रतिकित्ता रु. ३ सयका दरले २ः१ को अनुपातमा बोनस प्राप्त भयो । जम्मा सेयर भयो ३ सय कित्ता र औसत मूल्य भयो रु. २ सय । सो ३ सय कित्ता सेयर रु. ३ सय प्रतिसेयरका दरले बिक्री गर्दा उसलाई रु. ३० हजार लाभ हुन जान्छ । तिरेको लागतलाई आधार मान्दा २ सय कित्ता सेयरमा कुनै लाभ भएन, किनभने खरिद मोल र बिक्री मोल रु. ३ सय नै छ र बोनस सेयरमा प्रतिसेयर रु. ३ सयको लाभ भएकाले रु. ३० हजार नै जम्मा लाभ भएको छ ।
दुवै तरिकाले लाभ त उत्तिकै हुने हो । कुनै प्रकारको बेरुजु हुनुपर्ने अवस्था नै रहँदैन । हकप्रद सेयरमा पनि यसै गरी औसत मोल निकालिन्छ र सो समायोजित मोललाई नै आधार मोलका रूपमा लिइन्छ ।
बरु, बोनस सेयरको मूल्य समायोजन गर्दा शून्य दर मानी समायोजन गर्नु दोहोरो कर असुल गर्नु हो, किनभने बोनस सेयर जारी गर्दा सो कम्पनीले सोको मूल्य रु. १ सय मानी लाभ कर असुलउपर गर्ने गरेको छ । एकचोटि लाभकर असूल भइसकेपछि समायोजन गर्दा रु. १ सय मानेर नै मूल्य समायोजन गर्नुपर्नेमा शून्य मूल्यमा समायोजन भई दाहोरो कर असुलउपर भइरहेको छ, जुन कि नेपालको संविधानकै विरुद्धमा छ ।
जगदीश अग्रवाल
चार्टर्ड एकाउन्टेन्ट

प्रतिक्रिया दिनुहोस्