सेलुलर मोबाइल : सम्भावनाको साँचाे «

सेलुलर मोबाइल : सम्भावनाको साँचाे

सेलुलर मोबाइलको आविष्कार लामो खोज, अनुसन्धान र प्रयोगपश्चात् सन् १९७३ मा अमेरिकी नागरिक डा. मार्टिन कोपरबाट भएको थियो । तथापि व्यावसायिक सुरुवात भने सन् १९८० को दशकबाट भएको पाइन्छ । सेलुलर मोबाइल प्रविधिमा निहित गतिशीलताका कारण अल्पसमयमै आममानिसको मनमा राज गर्न र आधारभूत आवश्यकता बन्न सफल भइसकेको छ । चाखलाग्दो कुराचाहिँ एन्ड्रोइड मोबाइलको प्रयोग अहिले युरोप, अमेरिकाजस्ता विकसित मुलुकमा मात्र नभई एसिया, ल्याटिन अमेरिका र सबसाहरा अफ्रिकन मुलुकमा समेत बढ्दो छ, जसका कारण विभिन्न ब्रान्डका ग्याजेटबीच बजार प्रतिस्पर्धा चर्को छ । सन् १९९० को दशकमा विश्वव्यापी मोबाइल पेनिटेरेसन दर ०.२११ प्रतिशत रहेकोमा सन् १९९५ मा १.५८ प्रतिशत, सन् २००० मा १२.०७ प्रतिशत, सन् २००५ मा ३३.९१ प्रतिशत, सन् २०१० मा ७६.५१ प्रतिशत हुँदै सन् २०१७ मा १०३.५ प्रतिशत पुगेको छ । यो कुनै चानचुने वृद्धि होइन । स्मरण रहोस्, ग्लोेबल ट्याक्स रिभ्यु रिपोर्ट २००६/७ ले १० प्रतिशत मोबाइल घनत्व वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादन १.२ वृद्धि हुने देखाएको छ ।
विश्व अर्थतन्त्र चलायमान बनाउन दूरसञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । त्यसमाथि दूरसञ्चार क्षेत्रको कुल राजस्वमा मोबाइल सेवाको योगदान ५० प्रतिशत अधिक छ, जहाँ सेवाप्रदायकहरू वानजी, टुजीभन्दा थ्रिजी र फोरजीप्रति आकृष्ट छन् । सन् २००१ मा ७१ करोड ९० लाख मानिसले मोबाइल सेवा लिएकोमा सन् २०१७ मा यो संख्या ७ अर्ब ७४ करोड पुगेको छ, जसमा विकसित मुलुकका १ अर्ब ६० करोड र विकासोन्मुख मुलुकका ६ अर्ब १३ करोड छन् । सोअनुरूप पेनिटेरेसन दर पनि उकालो लागेको छ । सन् २००१ मा १५.५० प्रतिशत रहेको पेनिटेरेसन दर सन् २०१७ मा १०३.५ प्रतिशत पुगेको छ, जसमा विकसित मुलुकमा १२७.३ प्रतिशत र विकासोन्मुख मुलुकमा ९८.७ प्रतिशत छ ।
वितरित सेलुलर मोबाइलमध्ये आधाआधी मात्र एक्टिभ अवस्थामा छन् । २००१ मा मोबाइल ब्रोडब्यान्डका एक्टिभ सब्सक्राइबर ४ प्रतिशत रहेकोमा सन् २०१७ मा ५६.४ प्रतिशत पुगेको छ, जसमा विकसित मुुलुकमा ९७.१ प्रतिशत हुँदा अतिकम विकसित मुलुकमा २२.३ प्रतिशत छ । क्षेत्रीय रूपमा मोबाइल डेन्सिटीमा ठूलो विभेद छ । सन् २०१७ मा अफ्रिकामा ७७.८ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा १०१.१ प्रतिशत, अरब स्टेटमा १०६.४ प्रतिशत, अमेरिकामा ११४ प्रतिशत, युरोपमा ११८.२ प्रतिशत र कमन वल्थ अफ इन्डिपेन्डेन्ड स्टेटमा १४१.१ प्रतिशत मोबाइल डेन्सिटी रहेको छ । स्मरण रहोस्, सन् २०१७ को अन्त्यमा विश्वको जनसंख्या ७ अर्ब ५९ करोड पुगेको छ ।
२००८ मा प्रारम्भ भएको चौथो पुस्ताको मोबाइल इन्टरनेट अहिलेसम्मकै दु्रतगतिको इन्टरनेट सेवा मानिन्छ । चौथो पुस्ताको मोबाइल इन्टरनेटको गति १० देखि ५० मेगाबिट प्रतिसेकेन्ड निर्धारण भएको छ । २०१७ सम्ममा ७८ वटा मुलुकमा फोरजी विस्तार भएकोमा दक्षिण कोरियामा ९६ प्रतिशत, जापानमा ९३, अमेरिकामा ८७, हङकङमा ८६, भारतमा ८२ र नेपालमा ४० प्रतिशत क्षेत्रमा फोरजी कभरेज पुगेको छ । आईपिटेलिफोनी, रोमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टेलिभिजन, भिडियो कन्फ्रेन्सिङ, थ्रिडी टेलिभिजन, क्लाउड कम्प्युटरिङजस्ता सुविधा उपलब्ध हुँदा फोरजीप्रति उपभोक्ता आकर्षित भएका हुन् । फाइभजी टेक्नोलोजी अबको प्रतीक्षा हो र पदार्पणको सँघारमा छ । फोरजीभन्दा फाइभजीको डाटा स्पिड ६६ गुना बढी हुने, फोरजीभन्दा १ हजारवटा बढी डिभाइस चलाउन सकिने र थ्रिजी तथा फोरजीको तुलनामा अत्यन्त न्यून ऊर्जा खपत गर्ने गरी पस्कन आईटी वैज्ञानिकहरू लागिपरेका छन् ।
सन् २०१४ मा विभिन्न किसिमका मोबाइल एपका लागि चीनले ३.८ अर्ब डलर खर्चिएको छ । अर्को छिमेकी भारतमा सन् २०१६ मा १ अर्ब ७ करोड मानिसले दूरसञ्चार सेवा उपभोग गरिरहँदा मोबाइल सेवाको डेन्सिटी ८४.३४ पुगेको छ । सेलुलर मोबाइलका उपभोक्ता आगामी ३ वर्षमा ३० करोड थप हुने बताइन्छ, तथापि सन् २०१७ मा भारतको दूरसञ्चार क्षेत्र संकट झेल्न पुगेको छ । विगतमा १२ वटा कम्पनी रहेकोमा हाल ६ वटा मात्र छन् । भारतबाट ग्लोबल कम्पनीहरू बाहिरिएका छन् भने कतिपय मर्जर भएका छन् ।
सूचना–प्रविधि एवं दूरसञ्चार क्षेत्रको विकासमा राम्रै पकड जमाइरहेको नेपालमा मोबाइल सेवाको इतिहास त्यति लामो छैन । सन् १९९९ मे १२ मा तत्कालीन दूरसञ्चार संस्थानले जीएसम पोस्टपेड मोबाइल प्रारम्भ गरेको थियो । अहिले लोकप्रियता कमाइरहेको जीएसएम प्रविधिको प्रिपेड मोबाइल नेपाल टेलिकमले सन् २००४ अगस्ट ७ मा प्रारम्भ गरेको थियो । निजी तहमा जीएसएम मोबाइल सेवाको अनुमति सुरुवात तत्कालीन स्पाइस प्रालिलाई २००४ सेप्टेम्बर १ मा प्राप्त भएको थियो । नेपाल टेलिकमले थ्रिजी मोबाइलको अनुमति सन् २०१० फेब्रुअरी १५ मा र फोरजी मोबाइलको अनुमति २०१७ जनवरी १ मा प्राप्त गरेको हो । अहिले फोरजी सेवाको अनुमति ऐनसेल र स्मार्ट टेलिकमले समेत प्राप्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको आँकडा अनुसार २०१७ नोभेम्बर १७ सम्ममा सेलुलर मोबाइल र सीडीएमए गरी ३ करोड ५९ लाख सिम तथा रिम वितरण भएको छ । एक व्यक्तिले एकभन्दा बढी सेवाप्रदायकको सिम खरिद गर्ने र वितरण भएका सबै सिम तथा रिम एक्टिभ नहुने हुँदा जनसंख्याको अनुपातमा वितरण अधिक देखिएको हो, जहाँ दूरसञ्चार क्षेत्रको समष्टिगत पेनिटेरेसन १४१.४३ प्रतिशत रहँदा मोबाइलको एकल हिस्सा १३५.५५ प्रतिशत छ ।
सेवाप्रदायक कम्पनीहरू मोबाइल सेवाको संख्यात्मक वृद्धिमा जसरी हात धोएर लागिपरेका छन्, गुणस्तर कायम गर्न भने त्यत्तिकै चुकिरहेका छन् । मोबाइलको गुणस्तर कायम गर्न ग्राहक आधार वृद्धिसँगसँगै टावरको संख्या वृद्धि गर्नु अपरिहार्य हुन्छ, तर भारतमै प्रतिवर्ष १ हजार टावर जडान गर्नुपर्नेमा औसत ४ सय सय टावर जडान भएको नजिर छ । वितरित सबै मोबाइललाई आधार मानी पेनिटेरेसन दर कायम गरिएको छ, जबकि वितरित सबै सिम एक्टिभ अवस्थामा छैनन । २०१७ मा मोबाइल पेनिटेरेसन १०३.५ प्रतिशत पुगे पनि एक्टिभ ब्रोडब्यान्ड सब्सक्राइबर ५६.४ प्रतिशत मात्र छन् । टेलिघनत्व २०१७ मा विकसित मुलुकहरूमा मोबाइल घनत्व १२७.०३ प्रतिशत पुग्दा अतिकम विकसित मुलकमा ७०.४ प्रतिशत मात्र छ । कमनवेल्थ अफ इन्डिपिन्डेन्ट स्टेटमा १४१.१ प्रतिशत र युरोपमा ११८.२ प्रतिशत हुँदा एसिया तथा प्रशान्त क्षेत्रमा १०१.९ प्रतिशत र अफ्रिकामा ७७.८ प्रतिशत मात्र छ ।
दूरसञ्चार क्षेत्र विकासको महत्वपूर्ण पूर्वाधार र सम्भावनाको कुञ्जी मात्र होइन, सामाजिक तथा आर्थिक विकासको ढोका पनि हो । अमेरिका, पश्चिम युरोप, मध्यएसिया र हाम्रै छिमेकी भारत तथा चीनको अर्थतन्त्र मजबुत हुनुमा दूरसञ्चार क्षेत्रको ठूलो हात छ । दूरसञ्चार प्रविधिमा द्रुत गतिले भइरहेकोे विकासले नयाँ–नयाँ अवसरहरू प्रस्फुटित भएका छन् । रोजगारीका अवसरहरू सिर्जना भइरहेका छन् । भर्चुअल मार्केट प्लेस सिर्जना हुँदो छ । आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा सहयोग पुग्दो छ । विश्वव्यापी रूपमा दूरसञ्चार सेवाको महसुलमा हुन गएको क्रमिक ह्रासले सर्वसाधारणको दूरसञ्चार सेवामाथिको पहुँच वृद्धि भएको छ । दूरसञ्चार उद्यममा निजी क्षेत्र आकर्षित हुँदा त्यसको लाभ सर्वसाधारणले उठाउन पाएका छन् । उपभोक्ताले सेवाहरूको चयनको अवसर प्राप्त गरेका छन् । ग्रामीण तथा अति दुर्गम क्षेत्रसम्म सूचना तथा सञ्चार प्रविधिको पहुँच निर्माण भएको छ । व्यापार तथा वाणिज्य क्षेत्रलाई कर्पाेरेट दूरसञ्चार सेवा उपलब्ध हुँदा वाणिज्य जुर्मुराउँदो छ । विश्वलाई डिजिटाइज र स्मार्ट बनाउन सेलुलर मोबाइल र स्मार्ट टेक्नोजोजीको ठूलो हात छ ।
(लेखक नेपाल टेलिकममा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्