५ सडक उद्घाटन «

५ सडक उद्घाटन

खोटाङको बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ । गोरेटो बाटो छँदा ६२ वर्षअघि तत्कालीन राजा महेन्द्रले पैदल हिँडेको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–३ बाम्राङमा एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इटाभट्टी–सुर्के–थापाटोल–देबिस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक शिलान्यास गरिएको हो ।
आर्थिक वर्ष ०७४-७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित ५० लाखको खर्चमा निर्माण गरिएको पाँचवटा सडक दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरे ।
४ किलोमिटर लम्बाइ भएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक ३० लाखको लागतमा र वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक ८ लाखको लागतमा निर्माण गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए । वि.सं २०१३ सालमा पूर्वाञ्चल भ्रमणमा निस्केका तत्कालीन राजा महेन्द्रले दिक्तेल–बुईपा गोरेटो बाटोअन्तर्गत एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे हुँदै ओखलढुंगातर्फको यात्रा गरेका थिए ।
२०६६ सालमा तत्कालीन जिविस र गाविसको बजेटबाट सामान्य ट्रयाक खोलिएको सो बाटोलाई यस आवमा ८ मिटर चौडाइको बनाइएको हो । अहिले पनि स्थानीयले सो सडकलाई ‘राजा हिँडेको बाटो’ का रूपमा चिनाउने गरेका स्थानीयवासीको भनाइ छ ।
यस्तै, झ्यालीकुवा–वडा कार्यालय सडक, इटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक ४ लाखको खर्चमा निर्माण गरिएको हो । पाँचवटै सडक ग्रेड मिलाएर ८ किमि चौडाइमा निर्माण गरिएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भरत राईले बताए । गाउँलाई सडकको पहुँचमा पु¥याउनका लागि वडाको ५० लाख बजेट सडक निर्माणमा विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्