कर्मचारी अभावले नेतृत्वप्रति नागरिकको विश्वास गुम्यो «

कर्मचारी अभावले नेतृत्वप्रति नागरिकको विश्वास गुम्यो

सिन्धुलीका स्थानीय तहमा पनि कर्मचारी अभाव छ । कर्मचारी अभावका कारण नागरिकलाई सेवा प्रवाह गर्न समस्या परेको जनप्रतिनिधिहरू बताउँछन् ।
जिल्लाको २ वटै नगरपालिका र ७ गाउँपालिकामा आवश्यकताअनुसार कर्मचारी नहुँदा स्थानीय तहबाट दिइने सेवामा समस्या भएको जनप्रतिनिधिहरूको भनाइ छ । कर्मचारी अभावका कारण काममा समस्या परेको सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहोरा बताउँछिन् । स्थानीय तहको चुनाव सम्पन्न भएको एक वर्ष पुग्नै लागिसक्दा पनि सरकारले आवश्यकताअनुसार कर्मचारी खटाउन नसक्दा नागरिकले अपेक्षा गरेअनुसारको काम गर्न नसकिएको उनको भनाइ छ ।
७ वटा वडा रहेको सो गाउँपालिकामा २ वटा वडामा मात्रै वडा सचिव छन् । वडा सचिवको अभावमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न समस्या भइरहेको गाउँपालिकाका अध्यक्ष बोहोराले बताइन् । अहिले वडा सचिवले गर्ने अधिकांश काम प्राविधिक सहायकबाट गर्नुपरेको उनको भनाइ छ ।
सिन्धुली सदरमुकाममा रहेको कमलामाई नगरपालिकामा पनि दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह नै प्रभावित भएको नगरप्रमुख खड्गबहादुर खत्रीले बताए । नगरपालिकामा विशेषगरी नक्सा पास, जग्गा छुट्याउने लगायतका समस्या रहेको नगरप्रमुख खत्रीले बताए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि कल्पना गरेको विकास र काममा चुस्तता नहँुदा आफूहरूप्रति नागरिकको विश्वास घटेको भन्दै उनले दुःखेसो व्यक्त गरे ।
यता सिन्धुली जिल्लाकै विकट गाँउपालिकाबाट परिचित हरिहरपुरगढी गाउँपालिकामा वडा सचिव नहँुदा कार्यालय सहयोगीले सचिवको काम गर्दै आइरहेका छन् । ८ वटा वडा रहेको हरिहरपुरगढी गाउँपालिकाको कुनै पनि वडामा सचिव छैनन् । सचिव नभएकाले कार्यालय सहयोगी र प्राविधिक सहायकले नागरिकलाई सेवा दिइरहेको गाउँपालिका अध्यक्ष कार्साङ थिङले बताए । उनले भने, “कर्मचारी नहुँदा नियमित रूपमा कार्यालय सञ्चालनमै समस्या परेको छ ।”
फिक्कल गाउँपालिकामा पनि समस्या उस्तै छ । दरबन्दीअनुसारको कर्मचारी नहुँदा गाँउसभाबाट पारित भएका ऐन तथा कार्यविधिअनुसारको काम गर्न समस्या परेको गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले बताए । कार्य सञ्चालनमा समस्या भएको भन्दै उनले कर्मचारीको व्यवस्था नभएसम्म स्थानीय तहलाई नै अस्थायी कर्मचारी नियुक्तिका लागि बाटो खोलिदिन माग गरे ।
स्थानीय तहको चुनाव भएको एक वर्ष पुग्नै लाग्दासमेत सरकारले आवश्यकता अनुसार कर्मचारी खटाउन नसक्दा पालिकास्तरबाट सञ्चालन हुने कामममा बाधा पुगेको छ । जसले गर्दा विकास निर्माण र नागरिकहरूसँग सरोकार राख्ने काममा समस्या परेको जनप्रतिनिधिहरू बताउँछन् ।
यस्तै सिन्धुली जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकामा समेत कर्मचारी अभाव छ । दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र गोलञ्जोर गाउँपालिकामा पनि कर्मचारी अभावका कारण स्थानीय तहले प्रवाह गर्ने सेवा सुविधामा ढिलाइ भएको पालिका प्रमुखहरूले बताएका छन् ।
वडा सचिवहरू भने देश संघीयतामा गए पनि कामको बोझ नघटेको बताउँछन् । पहिले जस्तै अहिले पनि एकभन्दा बढी वडाको जिम्मेवारी लिनुपर्ने बाध्यता नहटेको उनीहरूको भनाइ छ । अहिले सिन्धुली जिल्लाका पालिकामा खटिएका अधिकांश कर्मचारी दोहोरो जिम्मेवारीका साथ काम गरिरहेका छन् ।
कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्