Logo

सेवामा ढिलाइ गरेवापत क्षतिपूर्ति

पोखरा-नेपाल दूरसञ्चार कार्यालयले सेवा प्रवाहमा ढिला गरेवापत पोखराका एक उपभोक्तालाई क्षतिपूर्ति दिने भएको छ । नेपाल टेलिकमका उपभोक्ता अपिल त्रिपाठीले नेपाल दूरसञ्चार कार्यालय पोखराले सेवा प्रवाहमा ढिलाइ गरेको तथा गुणस्तरीय सेवा प्रदान नगरेको भन्दै क्षतिपूर्तिको मागसहित निवेदन दिएपछि ५ हजार रुपैयाँ क्षतिपूर्ति पाउने भएका हुन् ।
त्रिपाठीले उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ बमोजिम जिल्ला क्षतिपूर्ति समिति कास्कीमा एक लाख रुपैयाँ क्षतिपूर्ति माग दाबी गरी उजुरी दिए पनि समितिले पाँच हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला सुनाएको हो ।
त्रिपाठीले विहिबार पोखरामा पत्रकार सम्मेलन गरी कर्मचारी र संस्थानलाई सचेत गराउन आफूले क्षतिपूर्तिको दाबी गरेको बताए । उपभोक्ता मञ्च कार्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जिल्ला क्षतिपूर्ति समितिको निर्णय चित्त नबुझेमा दुवै पक्ष ३५ दिनभित्र उच्च अदालतमा जान सकिने प्रावधान रहेको बताए ।
गत माघ २५ गते उपभोक्ता अपील त्रिपाठी ल्यान्डलाइन फोन लिन निवेदनसहित नेपाल टेलिकमको पोखरा कार्यालय पुगेका थिए । कार्यालयबाट तीन दिनभित्रमा फोन जोडिसक्ने आश्वासन पाए पनि एक महिना ढिला गरेर मात्र उनको काम भएको थियो । तर पनि सेवा प्रभावकारी नभएपछि उनले कानुनी उपचार खोजेका थिए । “फोन जोड्ने बेलादेखि नै आवाज कम सुनिने, झिरझिर आवाज आउने समस्या देखिएपछि तुरुन्तै फोन जोड्न गएका कर्मचारीलाई समस्या हल गर्न आग्रह गरेपछि सुनेको नसुनेझैं गरी गएकाले बाध्य भएर क्षतिपूर्ति भराउने पक्षमा लागेको हुँ,” उनले भने, “टेलिकमका कर्मचारीले आफ्नो समस्यासमेत नसुनेर मानसिक यातना भोग्नुपर्यो ।” उनले सुरुमा टेलिकममै क्षतिपूर्तिको मागसहित निवेदन दिए पनि सुनुवाइ नभएपछि जिल्ला क्षतिपूर्ति समितिमा पुगेको बताए ।
सार्वजनिक सेवा प्रदायक संस्थाले सेवा प्रवाहमा ढिलाइ गर्दा क्षतिपूर्तिको फैसला भएको सम्भवतः यो नेपालको पहिलो घटना भएको त्रिपाठीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्