अमेरिकी विश्वविद्यालयमा भर्ना हुने नेपाली विद्यार्थी बढ्दै

अमेरिकाका कलेज तथा विश्वविद्यालयमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको एक अध्ययनले देखाएको छ । हालै सम्पन्न ओपन डोर्स रिपोर्टले यस्तो तथ्यांक प्रस्तुत गरेको हो ।
इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने उक्त प्रतिवेदनले संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग सम्बन्धित प्रवृत्तिको निरीक्षण गर्छ ।
अमेरिकी उच्च शिक्षा संस्थाहरूमा नेपाली विद्यार्थीहरूको भर्नामा २० प्रतिशत वृद्धि भई कुल संख्या ११ हजार ६०७ पुगेको प्रतिवेदनले जनाएको छ । स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने शीर्ष २५ मुलुकमध्ये नेपाल १२औँ स्थानमा छ । स्नातक तहमा अध्ययनरतमध्ये ४२.२ प्रतिशत नेपाली विद्यार्थी छन्न् जुन २५ देशमध्येकै सबैभन्दा उच्च वृद्धि हो । अमेरिकामा हाल १० लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन्, जुन अहिलेसम्मकै उच्च संख्या हो । “हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौँ नेपाली विद्यार्थीहरू अमेरिका जान्छन् । आफ्नो परिश्रम, अध्ययन गर्ने विषयबारे उपयुक्त सोचविचार, सचेत आर्थिक योजनाका साथै राम्रो ग्रेड र टेस्ट स्कोरसहितको शैक्षिक रेकर्डका कारण उनीहरू त्यहाँ पुगेका हुन्,” नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले भने ।
ओपन डोर्सले सार्वजनिक गरेको यस नयाँ तथ्यांकले युनाइटेड स्टेट्स एजुकेशन फाउन्डेशनस्थित एजुकेशन युएसए कार्यालयजस्ता योग्यताप्राप्त परामर्श केन्द्रमार्फत अमेरिकी उच्च शिक्षा हासिल गर्ने शैक्षिक रूपमा योग्य नेपाली विद्यार्थीहरूको सफलता अंकित गरेको छ ।
अमेरिकी विदेश मन्त्रालय र अमेरिकी शिक्षा मन्त्रालयद्वारा संयुक्त रूपमा मनाइने अन्तर्राष्ट्रिय शैक्षिक साताको अवसर पारेर उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । भावी पुस्ताका अगुवाहरूलाई अन्य देशबाट अध्ययन तथा अनुभव आदानप्रदानका लागि अमेरिकामा आकर्षित गर्ने गरी सो साताव्यापी शैक्षिक कार्यक्रम तर्जुमा भएको हो । सन् २०१७ को अन्तर्राष्ट्रिय शैक्षिक साताको समर्थनमा अमेरिकी दूतावासका साझेदार संस्था र अमेरिकन स्पेसहरूले गेट इन्सपायर्ड (प्रेरित होऔँ) विषयक कार्यक्रम आयोजना गर्नेछन्, जसमा अमेरिकी विश्वविद्यालयहरूबाट अध्ययन पूरा गरी फर्किएका नेपाली पूर्वविद्यार्थीहरू सरिक हुनेछन् । साथै दूतावासद्वारा काठमाडौँमा प्रदान गरिने सेवाहरूमा प्रत्यक्ष पहुँच नहुने विद्यार्थीहरूका लागि सेमिनार, फेसबुक लाइभ र अनलाइन कलेज फेयर (शैक्षिक मेला) को समेत आयोजना गरिनेछ ।